प्रधानमन्त्री प्रचण्डले गरे लुम्बिनी केबलकारको औपचारिक उद्घाटन

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण गरी बिहीबार केबलकारको औपचारिक उद्घाटन गरेका हुन् । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

उद्घाटनपछि लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर-पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तब्य बनेको छ ।

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ। लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्याउनेछ ।

आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो। यसअघि आइएमई समूहले काठमाडौंको चन्द्रागिरि र हालै नवलपुरको गैंडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।

लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको बताए । लुम्बिनी केबलकार नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारहरु सहित स्थानीयको सामूहिक प्रयासबाट सञ्चालनमा ल्याउन सफल भएको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुर्‍याउने विश्वास रहेको पनि अध्यक्ष ढकालले बताए ।

प्रतिक्रिया