‘कामुक रथ भिडन्त’ हेर्न युवायुवतीको भीड

पनौतीमा तीनदिने हिले जात्रा

काभ्रे । पनौतीमा मनाइने तीनदिने हिले जात्रा सोमबार समापन भएको छ । जेष्ठ शुक्ल त्रयोदशीदेखि पूर्णिमासम्म पनौतीका स्थानीयले हिलेजात्रा मनाउँछन् । जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको पुरानो चलन छ । ‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मंसिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन’भन्ने स्थानीय बूढापाकाको भनाइले उक्त जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्यलाई दर्शाउँछ । जात्रा सकेर खेतमा रोपाइँ सुरु गर्ने परम्परा पहिल्यैदेखि चलेकाले यसलाई हिलेजात्रा अर्थात नेवारी भाषामा ज्याःपुन्ही भन्ने गरिएको छ ।

जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरु हुन्छ मान्यता छ । जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनै पर्छ र प्रत्येक वर्ष यस्तै हुँदै आएको स्थानीयसँग अनुभव छ । किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजागर्न जान समस्या परेपछि ललितपुरको बुंगमतीबाट बासुकीनाग पनौती आएर पुण्यमाताको उर्लँदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए ।

करिब ५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुईवटा बाँस तेस्र्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पव मध्येको ठूलो जात्राका रूपमा लिने गरिएको छ । जात्रा मनाउने क्रममा त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गरिन्छ । साथै, इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशको मूर्तिलाई खटमा राखी धुमधामका साथ नगर परिक्रमा गराइन्छ । जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराइन्छ र रथ भेटिँदा एकापसमा जुधाइन्छ ।

जात्राको मुख्यआकर्षण रथ जुधाइमा युवायुवतीको उत्साहजनक सहभागिता हुने गर्दछ । स्थानीय वृद्ध–वृद्धाको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुप धारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् । महादेव त्रिवेणीमा हामफाली लुक्छन् तर त्यहाँपनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुप धारण गरी भद्रकालीलाई लखेट्छन् । भाग्ने र पिछा गर्ने यही प्रकृयाको नक्कल गर्दै रथ जुधाइन्छ । रथ जुधाइसँगै अविरजात्रा पनि गरिन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन भने अगाडिबाट आएका इन्द्रेश्वर महादेवले छेक्छन् ।

सोही क्रममा ब्रम्हायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रूपमा लिइएको हो । युवायुवती रथ जुधाउन तछाडमछाड गर्छन् । इन्द्रेश्वर मन्दिरका पूजारी रमेश जंगमकाअनुसार रथ जुधाइमा कामोत्तेजक हाउभाउ प्रदर्शन गर्नुपर्ने भएकाले पहिले–पहिले झिसमिसे अगावै रथ जुधाइने गरिन्थ्यो । मध्यरातदेखि झिसमिसेको बीचमा समापन गर्नुपर्ने मान्यता रहे पनि पछिल्ला केही वर्षदेखि देवतारूपी रथलाई दिउँसो जुधाउने गरिएको छ । जात्राको परम्पराअनुसार विशेष पूजामा सामग्री, सुकुन्दा बोकेर कर्माचार्य (आचाजू) हरू सुस्तरी हिँड्नुपर्छ । यो परम्परालाई नेवारी भाषामा न्ह्यायकेगू भन्ने भनिन्छ । कर्माचार्य खोलापारी गोरखनाथ पुगेपछि नाग आसनबाट उठ्ने भएकाले ती नागराजाको कृपाले पानी र रोपाइँ सफल हुने जनविश्वास छ । कुनैवर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ट हुने, खडेरीले दुःख दिने जस्ता जनविश्वास का कारण पनि जात्राले निरन्तरता पाइरहेको छ । अर्को रोचक प्रसंग के छ भने जात्रामा चिउली र केरा खाएर घुम किन्नैपर्छ । जात्रापछि यी सामग्रीको बिक्री सुरु हुने पनि जनविश्वास छ । जात्रामा चिउली चपाएर जिब्रो पड्काउँदै युवायुवती हौसिएका देखिन्छन् । स्थानीयले जात्रा अवधिभर आफ्ना पाहुना बोलाई स्वागत सत्कारका साथ भोज गरिन्छ । भोजकालागि प्रत्येक घरमा बलिदिने चलन पनि छ ।

जात्रा अवधिभर स्थानीय फोटो पत्रकारले काभ्रेपलाञ्चोकको सम्पदा, प्रकृति, संस्कृति तथा पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनी गर्ने गर्छन् । स्थानीय मुख्यपर्व जनाउँदै पनौती हिलेजात्राको अन्तिम दिन नगरपालिकाले सार्वजनिक बिदा दिने गरेको छ । किंवदन्तीअनुसार राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जलपनि राखेको शिलालेखमा उल्लेख छ । तीननदीको संगमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशीखोला बाहेक पद्मावती नदी गुप्तरूपमा बहिरहेको मान्यता छ । भारतको प्रयागमा गंगा र यमुनानदीको संगम गुप्तरूपले सरस्वती नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लीलावती र गुप्तरूपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूधबग्ने नदीलाई पद्मावती मानिएको छ ।

रथ बनाउने युवा खोज्दै केदारनाथ पोटे

यो जात्रालाई ४० बर्षदेखि रथ बनाएर सघाउँदै आएका केदारनाथ पोटे उमेरले अहिले ६८ वर्षका भए । उनलाई जात्राको रथ बनाउने मुख्य इञ्जिनियरका रुपमा मानिन्छन् । उनले ठूला रथ बर्षमा दुई वटा बनाउँछन् । अत्यन्तै न्युन पारिश्रमिक दिने गरे पनि परम्परा र संस्कृति जोगाउन उनले आफ्नो पारिश्रमिकमा भन्दा पनि अब रथ बनाउने पुस्ता खोजिरहेका छन् । तर, नयाँ पुस्ताले रथ बनाउन सिक्न नचाहाने गरेको गुनको गुनासो छ । उनले भने, ‘सिक्ने मान्छे र केही बजेट कतैबाट मिलाइयो भने म रथ बनाउन सिकाउन तयार छु, तर सिक्ने मान्छेहरुले एकाग्र भएर सिक्नु पर्छ ।’ रथ अग्राखका काठबाट बनाइने भएकोले कतिपयजात्राका साना रथहरु र केही ठूला रथहरु पुरानै मर्मत सम्भार गरेर समेत जात्रा मनाइने गर्दै आएको समेत उनी बताउँछन् । उनले स्थानीय काठबाट पनि रथ निर्माण गर्न सकिने बताए ।

केदारनाथ पोटे

प्रतिक्रिया