बिरामीले पाउँदैनन् एम्बुलेन्स

कालीकोट । बिरामीले प्रयोग गर्ने एम्बुलेन्स बिरामीले नपाएर आफन्तहरुको रजाई भएको छ । नरहरिनाथ गाउँपालिका–४ का क्यान्सर पीडित जयरुप सहकारीलाई चितवन लैजानुपर्ने थियो । उनले आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण चितवनमा बस्न नसकेर कालीकोट आउनुपर्यो ।

उनी चितवनबाट कालीकोट सार्वजनिक यातायातमा आए । उनी आउँदा–आउँदै बाटोमा अप्रेशन गरिएको टाँका फुत्कियो । स्वास्थ्य सेवा कार्यालय कालीकोटले पुनः टाँका लगाउँन यहाँ सम्भव नभएको भन्दै घर फिता गर्यो । उनी मान्ममा आए । उनलाई चितवनसम्म जाने भाडासमेत थिएन ।

उनले पुनः उपचारमा नजाने अडान लिए । मान्ममा केही सामाजिक अभियान्ताले उनलाई चितवनसम्म जानका लागि विभिन्न निकायसँग सहयोगको अपिल गरे । केहीले आर्थिक सहयोग गरे भने अभियान्ताहरुले नरहरिनाथ गाउँपालिकासँग एम्बुलेन्स सहयोगका लागि हारगुहार गरे ।

तर, नरहरिनाथ गाउँपालिकाले एम्बुलेन्स दिन आनाकानी गर्यो । नरहरिनाथ गाउँपालिकादेखि मान्मसम्म आउने एम्बुलेन्समा तेल नभएको १५ हजार खातामा हाल्दिए एम्बुलेन्स दिने एम्बुलेन्स सञ्चालक समितिका संयोजक एवं नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले बताए ।

उनले १५ हजारमा सुर्खेतसम्म जाने जनाए । गाउँपालिकाको एम्बुलेन्स गरिब अशहायका लागि कहिल्यै प्रयोगमा नआएको स्थानीयको भनाइ छ । गरिब तथा विपन्न परिवारको बिरामीले पालिकाको एम्बुलेन्समा चर्को मुल्य तिर्नुपरेको छ । नेपाल रेडक्रस सोसाईटीले दिएको एम्बुलेन्समा आफ्न्त बोक्ने गरेको पाइएको छ ।

नरहरिनाथ गाउँपालिकाका बिरामीको सहजताका लागि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कालीकोटको सिफारिसमा केन्द्रीय कार्यालयले (ख) वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको थियो । तर, उक्त एम्बुलेन्समा बिरामीभन्दा पनि अन्य नागरिक चढ्ने गरेको स्थानीयको भनाइ छ ।

रेडक्रसको सहयोगमा प्राप्त एम्बुलेन्समा बिरामीभन्दा पनि जनप्रतिनिधिका आफन्तले प्रयोग गर्ने गरेको पाइएको छ । नरहरिनाथदेखि सुर्खेत र सुर्खेतदेखि पालिकासम्म आफन्तहरुले चढ्ने गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार एम्बुलेन्समा बिरामीभन्दा पनि आफन्तले सेवा लिने गरेका छन् ।

बिरामीलाई चर्को मूल्य लिने गरेको समेत स्थानीयको भनाइ छ । एम्बुलेन्सले बिरामीभन्दा पनि अन्य नागरिकलाई एम्बुलेन्समा बोक्ने गरेको नरहरिनाथका स्थानीय नागरिक जीवन विश्वकर्माले बताए ।

उनले भने, ‘एम्बुलेन्स सुर्खेत जाँदा होस् या सुर्खेतबाट पालिकामा आउँदा होस्, आफन्तहरुलाई बोक्ने गर्छ, बिरामीलाई अहिले एम्बुलेन्स भन्दा पनि सार्वजनिक यातायात सस्तो लाग्ने गरेको छ, पालिकाको एम्बुलेन्सले सुर्खेतसम्मको १५ हजार भाडा लिने गरेको छ भने सार्वजनिक यातायातमा नागरिक २ हजार ५ सयले सुर्खेत पुगेर उपचार गरेर फर्किने गरेका छन् ।’

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया