ए डिभिजन लिग : एनआरटीमाथि पुलिस विजयी

काठमाडौं । विदेशी फरवार्ड मोसेस ग्यावाको गोलमा विभागीय नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । पुलिसले एनआरटीलाई १–० ले पराजित गरेको हो । पुलिसको जितमा दोस्रो हाफमा मोसेसले गरेको गोल नै निर्णायक बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको प्रतिस्पर्धातमक खेलमा एनआरटीले पहिलो हाफमा गोल गर्ने चार अवसर खेर फाल्दा पराजित हुन पुग्यो ।
पहिलो हाफमा दवाव झेलेको पुलिसले दोस्रो हाफमा सुधारिएको खेल पस्कदै जितसहित महत्वपुर्ण ३ अंक बटुल्न सफल भयो । खेलको २०औं मिनेटमा एनआरटीका अशोक थापाको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले बचाए ।

२७औं मिनेटमा निकोलस सर्ज सङको प्रहारमा पनि गोलरक्षक शत्रुत्रन बाधक बने । ३०औं मिनेटमा निकोलसको वान भर्सेस वानको स्थितिको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरिदा एनआरटी अग्रता लिनबाट चुक्यो ।
पहिलो हाफमा लगातार आक्रमण गरिरहेको एनआरटीले दोस्रो हाफमा भने लय गुमाउन पुग्दा खेल पनि गुमाउन पुग्यो । ५७औं मिनेटमा रवि शंकर पासवानको भली प्रहारलाई एनआरटीका गोलरक्षक सन्तोष महतले पञ्च गर्दै बचाए । ७६औं मिनेटमा मोसेस ग्यवाले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाए ।

इन्जयुरी समयको थप गरिएको पहिलो मिनेटमा एनआरटी १० खेलाडीमा समेटिन पुग्यो । कप्तान विक्रम धिमाल एक मिनेटको अन्तरमा दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरियो ।

पुलिसका हेमन्त श्रेष्ठसँगको झगडापछि पहेलो कार्ड खाएका उनी पुनः आक्रमण गर्न खोजेपछि रेफ्री प्रकाश नाथ श्रेष्ठले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।
यस जितसँगै चौथो स्थानमा रहेको पुलिसको २३ खेलबाट ३४ अंक पुगेको छ । पराजित एनआरटी २३ खेलबाट २९ अंकसहित आठौं स्थानमा छ ।

लिग अन्तरगत नै च्यासल मैदानमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यस बराबरीले शेर्पा २३ खेलबाट ३० अंक जोडेर छैटौं स्थानमा छ । फ्रेन्ड्स २५ अंक जोडेर १३औं स्थानमा छ ।

प्रतिक्रिया