तस्करीको सुन खुलेआम पसलमा बिक्री वितरण गर्दै राजेश शारडा

लहान । माहालक्ष्मी ज्वेलर्स लहानका संचालक राजेश शारडा र स्थानीय ब्यापारीहरु खाडी र तस्करीको सुन खुलेआम पसलमा बिक्री वितरण गरिरहेको छ । लहान बजारमा सुनको दैनिक मागअनुसारको आधिकारिक आपूर्ति आधा पनि छैन।

मूल्य जस्तोसुकै घटबढ हुँदा पनि बजारमा सुनको अभाव हुँदैन । सुनचाँदी व्यवसायीका अनुसार नेपालमा दैनिक ४० किलो सुन खपत हुन्छ । राष्ट्र बैंकले १६ वाणिज्य बैंकमार्फत दैनिक १५ किलो सुन बजारमा पठाउँछ । यो तथ्यांकले दैनिक कम्तीमा २५ किलो सुन अभाव रहेको प्रस्टै देखाउँछ ।

उच्च स्रोतका अनुसार बैंकमार्फत जिल्लालाई महिनामा ५ किलो सुन आउँछ । जिल्ला सुनचाँदी व्यवसायी संघलाई ३ किलो र लहान नगर सुनचाँदी व्यवसायी संघले २ किलो सुन पाउँछ । जिल्लाभरि करिब डेढ सय सुनचाँदी पसल छन् ।

लहान बजारमा तस्करी र खाडी मुलुकबाट भित्रिएको सुन छ्याप्छ्याप्ती पाइन्छ । बैंकबाट आपूर्ति हुने सुनभन्दा सस्तो पाइन भएकाले खाडीबाट ल्याइएको सुन यहाँका व्यापारीको पहिलो रोजाइमा पर्छ ।

लहान जिल्लाको प्रमुख सुनचाँदी बजार हो । यहाँ करिब ५० वटा सुनचाँदी पसल छन् । जिल्लामा हुने सुनको कुल खपतको पचास प्रतिशत लहानबाटै हुन्छ । उच्च स्रोतका अनुसार बैंकमार्फत आउने २ किलो सुनले यहाँको बजारको माग पूर्ति गर्न सकिँदैन । ‘माग धान्न बाहिरको सुन नै सहारा हो,’ उच्च स्रोतले भने ।

२ किलो सुन मध्य करिब आधा किलो सुन माहालक्ष्मी ज्वेलर्सका संचालक राजेश शारडाले नै किन्छ जब कि माहालक्ष्मी ज्वेलर्सको खपत एक महिनामा करिब ५ किलो हुन्छ । नगरमा मात्रै होईन सिराहा जिल्लामै सबै भन्दा बढी सुन बिक्रि वितरण हुन्छ माहालक्ष्मी ज्वेलर्सको ।

माहालक्ष्मी ज्वेलर्स र बजारको पसलहरुमा खाडी मुलुकबाट भित्रिएको सुन छ्याप्छ्याप्ती पाइन्छ । बैंकबाट आपूर्ति हुने सुनभन्दा सस्तो पाइने र रेकर्ड पनि नहुने भएकाले कर छल्न सजिलो हुने हुँदा खाडीबाट ल्याइएको सुन यहाँका व्यापारीको पहिलो रोजाइमा पर्छ ।

वैध बाटो (बैंक) बाट आउने सुनको तुलनामा खाडीबाट आउने सुन सस्तो हुने भएकाले केही व्यवसायी यसको खरिदबिक्रीमा बढी नै संलग्न छन् । खाडीको सुनले आधिकारिक रूपमा बजारमा भित्रिने सुनको मूल्य बिगारेको एक व्यवसायीले बताए ।

उनले सौर्य दैनिकसँग भने, ‘यी दुईबीच तोलामै करिब १०–१५ हजार रुपैयाँको अन्तर हुँदा केही व्यवसायी त्यसकै व्यापारमा आकर्षित भएका छन् ।’ खाडीमा काम गएका मानिसमार्फत त्यहाँको सुन यहाँ आउने गरेको छ ।

भारतीय बजार प्रमुख

खाडी मुलुकबाट यहाँ भित्रिएको सुनको ठूलो परिमाण भरियामार्फत भारतीय बजारमा पुग्ने गरेको छ । स्थानीय बजारको तुलनामा भारतीय बजार पुर्‍याउँदा बढी फाइदा हुने भएकाले केही व्यवसायी यही धन्दामा लागेको स्रोतले बतायो ।

भारतीय बजारमा सुन लैजान सेटिङ नमिल्दा मात्रै खाडीको सुनका लागि स्थानीय बजार खोजिन्छ । यहाँबाट भरियामार्फत सीधै सीमापार गराउने गरेको प्रहरी स्रोतको दाबी छ । वैदेशिक रोजगारका लागि गएका यस क्षेत्रका युवामार्फत यहाँका केही व्यपारीले सुन मगाउने, पसलमा बिक्री गर्ने र भारतीय बजारमा पु¥याउने काम गर्दै आएका छन् ।

लहान, मिर्चैया, गोलबजार र माडरमा हुन्डीको धन्दा गर्ने व्यवस्थित गिरोह नै छ । सुनको तस्करी फस्टाउनुमा भारतीय मुद्रा प्रमुख आकर्षण रहेको एक सुनचाँदी व्यवसायीले बताए । भारतीय सहरमा सुन बिक्री गर्दा भारतीय रुपैयाँ प्राप्त हुन्छ ।

भारतीय रुपैयाँ सटही गर्दा सयकडा तिनदेखि ६ रुपैयाँ कमिसन आउँछ । सुन बिक्री गरेर दाम कमाउनुभन्दा पनि भारुबाट पाइने कमिसनका कारण व्यपारीहरू भारतीय सहरमा सुन बिक्री गर्न रुचाउँछन् ।

‘लहान , माडर , मिर्चैया र गोलबजारमा सुन र हुन्डीको गैरकानुनी धन्दा ओपन सेक्रेट हो,’ एक व्यपारीले भने, ‘भारतीय सीमानजिकको यो सहर सुन तस्करी र हुन्डी कारोबारीका लागि स्वर्ग हो ।

प्रतिक्रिया