मुक्त हलिया, कमैया र कम्लरीलाई लक्षित गरेर नीति तथा कार्यक्रम बनाउँछाैँ : मन्त्री साउद

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदले मुक्त हलिया, कमैया र कम्लरीलाई लक्षित गरेर नीति तथा कार्यक्रम बनाइने बताएका छन् । बुधबार मुक्त हलिया, कमैया र कम्लरीको शिक्षा र स्वास्थ्यमा वजेट व्यवस्थापन गर्न सक्दो प्रयास गर्ने उनले बताए ।

बुधबार राष्ट्रिय मुक्त हलिया समाज महासंघ र मुक्त कमैया महिला विकास मञ्चले धनगढीमा आयोजना गरेको सुदूरपश्चि प्रदेश सरकाले आगामी वर्षको नीति, कार्यक्रम र वजेटमा मुक्त हलिया,कमैया र कम्लरीहरुको समस्या सम्वोधनका लागि प्रदेश स्तरीय अन्तर संवाद कार्यक्रमा बोल्दै मन्त्री साउदले भने, ‘सरकारले मुक्तीको घोषणा गरिसके पछि त्यसको व्यवस्थापन गर्नु पर्ने सरकारको दायित्व हो ।’

‘मुक्त हलिया,कमैया र कम्लरीहरुको शिक्षा, स्वास्थ्य, रोजगारी, गासवास सबै व्यवस्थापन सरकारको दायित्व हो, त्यो दायित्व संघीय, प्रदेश र स्थानीय सरकारले लिनु पर्छ र जिम्मेवारी पूरा गर्नु पर्छ’ उनले भने ‘यसका लागि प्रदेश सरकारको तर्फबाट प्रदेश सरकारले नीति तथा कार्यक्रमहरुमा अगाडि बढाउने कुरा म प्रतिबद्धता जाहेर गर्न चाहान्छु ।’

उनले भने, ‘स्वास्थ्य बीमाको हकमा यो समुदायको सकेसम्म न्यूनतमरुपमा भएपनि निःशुल्क बीमा गराउने प्रदेश सरकारको नीति रहने छ, नीति तथा कार्यक्रममा समेट्ने प्रयास गर्ने छु ।’ ‘हामीले समाजवादमा जाने लक्ष्य राखेका छौँ, समाजवाद उन्मुख संविधान निर्माण गरेका छौँ, त्यसको सही कार्यान्वयनका लागि यो समुदायलाई शैक्षिक,आर्थिक,रोजगारीका हिसावले हामीले माथि उठाउनै पर्छ,त्यो प्रदेश सरकारको नीति तथा कार्यक्रम भित्र पर्ने गरी तयारी गछौँ ।’

कार्यक्रमा बोल्दै सुदूरपश्चि प्रदेशसभा सदस्य ओमविक्रम भाट सरलले मुक्त हलिया, कमैया र कम्लरीको सरकारले उचित पुनः स्थापना, रोजगारी सिर्जना गर्नुपर्ने, एकीकृत बस्ती विकास गर्नुपर्ने तथा विशेष कार्यक्रम बनाएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै प्रदेशसभा सदस्य जानकी कुँवरले मुक्त हलिया, कमैया र कम्लरीका विषय प्रदेशसभामा र सरकारसँग व्यापकरुपमा उठाउने बताइन् । त्यस्तै प्रदेशसभा सदस्य धर्मराज पाठकले मुक्त हलिया, कमैया र कम्लरीका समस्याका विषयमा सरकारको नेतृत्व गर्नेले स्पष्ट हुनुपर्ने र समस्या समाधानका लागि गम्भीरताका साथ लाग्नुपर्ने भन्दै सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै संविधानसभा सदस्य हरि श्रीपाइलीले प्रदेश सरकारले नीति कार्यक्रम बजेटमार्फत मुक्त हलिया, कमैया र कम्लरीका समस्या सम्बोधन गर्नुपर्ने बताए । उनले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।

राष्ट्रिय मुक्त हलिया समाज महासंघका केन्द्रीय अध्यक्ष ईश्वर सुनारले राजनीतिक परिवर्तनसँगै मुक्ती घोषणा भए पनि व्यवस्थापकीय पक्ष अहिलेसम्म समाधान हुन नसकेको बताए । उनले भने, ‘सुदूरपश्चिममा जटिल समस्या, सामाजिकरुपमा पिँधमा रहेको मुक्त हलिया, कमैया र कम्लरीको समस्या समाधानका लागि प्रदेश सरकारले आगामी नीति,कार्यक्रम र बजेटबाट सम्बोधन गरोस् ।’

त्यस्तै कार्यक्रममा बोल्दै उच्चस्तरीय भूमि आयोगका पूर्वसदस्य गणेश विकले मुक्त हलिया, कमैया र कम्लरीको समस्या समाधानका लागि सरकारले मनदेखि लाग्नुपर्ने तथा सबै तहका सरकारले पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय मुक्त हलिया समाज महासंघका चक्र आग्रीले मुक्त हलियाको वर्तमान अवस्थाबारे, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका नापी अधिकृत धर्मराज ओझाले मुक्त हलिया, कमैया र कम्लरीको व्यवस्थापमा प्रदेश सरकारको भूमिका तथा इन्द्र चौधरीले मुक्त कमैया र कम्लरीको पछिल्लो अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए ।

राष्ट्रिय दलित नेटवर्क तथा मुक्त कमैया समाजको सह–आयोजना रहेको तथा मुक्त कमैया महिला विकास मञ्चकी अध्यक्ष सीमा चौधरीको अध्यक्षतामा भएको अन्तर संवाद कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित नेटवकका कार्यकारी निर्देशक हुकुम सार्कीले गरेका थिए ।

प्रतिक्रिया