फिदिममा बालश्रममुक्त घोषणा विषयक अन्तरक्रिया

पाँचथर । फिदिम नगरपालिकामा आयोजित बालश्रममुक्त स्थानीय तह घोषणासम्बन्धी अन्तरक्रिया भएको छ ।
बुधबार नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिंहदरबारका उपसचिव अम्बिकाप्रसाद अधिकारी को अध्यक्षता, नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा सो विषयमा अन्तरक्रिया भएको हो ।

अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख राधाकृष्ण न्यौपाने, कार्यकारी अधिकृत प्रविण योङहाङ, १४ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, बालक्लव, पत्रकार, संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुबीच अभिमुखीकरण एवं अन्तरक्रिया गरिएको छ । सो अन्तरक्रियालाई उपसचिव अम्बिकाप्रसाद अधिकारीले बालश्रममुक्त घोषणाको विषयमा सहजिकरण गरेका थिए ।

अधिकारी ले बालश्रमको परिभाषा, निकृष्ट प्रकारका बालश्रम, बालश्रममुक्तका लागि स्थानीय तह बालश्रम मुक्त ४३ वटा अनुसूची कार्यविधि, बालश्रम हटाउने मुख्य सूचक, बालबालिकाको संरक्षण, राज्यका नीतिहरु धारा ५१ तथा दायीत्वहरु धारा ५२, राज्यको दायित्व मौलिक हक तथा मानवअधिकारको संरक्षण सम्वर्द्धन, राज्यका सिद्धान्त, बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५–२०८५ सम्म शून्य बनाउने अपेक्षा, बालश्रमको क्षमता अभिवृद्धि गर्न वडाका विद्यालयलाई बालश्रममुक्त, बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७ मा आएकोलगायत मापदण्डभित्र अन्तरक्रिया र अभिमुखीकरण गरिएको हो ।

प्रमुख अतिथिको आशनबाट बोल्दै नगरप्रमुख काफ्लेले बालश्रममुक्त घोषणा गरेर मात्र नहुने र त्यसको निरन्तरता आवश्यकता रहेको भन्दै सरकारले खुल्ला दिशामुक्त घोषणा गरेको उदाहरण दिएर आफ्ना भनाई राखेका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष लक्ष्मी गौतम, पूर्वसभापति कृष्ण ओझा, वडाध्यक्ष र केही कर्मचारीले जिज्ञासा राख्नुका साथै सुझाव दिएका थिए ।

उक्त मन्त्रालयको आयोजनामा आज बिहान जिल्लाका सरोकार वालाबीच सिपमुलक तालिमको अन्तरक्रिया गरिएको उपसचिव अम्बिकाप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया