हलमा फर्कियो ‘हल्कारा’

काठमाडौं । विक्रम सापकोटाले निर्देशन गरेको चलचित्र ‘हल्कारा’ पुनः हलमा फर्किएको छ । गत वैशाख २९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्र उत्कृष्ट प्रतिक्रिया पाए पनि दर्शकको उपस्थिति न्यून रहेको थियो । दोस्रो हप्ता पुग्दा प्रायः हलबाट निस्केको यो चलचित्र सुन्धारास्थित सिटिसी मलमा रहेको ‘सिडिसि सिनेमा’ मा भने साँझ ५ः३० बजेको सो चलिरहेको थियो । पूरै दोस्रो हप्ता एकमात्र हलमा चलेको ‘हल्कारा’ तेस्रो हप्ताको शनिबार सिडिसी सिनेमा कै अर्को हलमा समेत थपिएको छ । यो क्रम अब अर्को चलचित्र हल विश्वज्योति हलसम्म पुगेको छ ।

गणतन्त्र दिवसको दिन प्रदर्शनको तेस्रो हप्ताको सोमबारदेखि विश्वज्योति हलमा साँझ ६ बजेको सो थपिएको छ । हलका म्यानेजर रविन पौडेलले लगातार सोधिन थालेपछि सो राखेको बताए । उनले भने, ‘विश्वज्योतिबाट पहिले नै उत्रिएको भएता पनि पछिल्ला केही दिनयता लगातार दर्शकको सोधपुछ आउन थालेपछि सो राखेका हौँ । सोमबार सानो हलमा राखिएको सो लगभग हाउसफुल भइसकेको छ । मंगलबारदेखि ठूलो हलमा पनि रिलिज गर्दैछौँ ।’

त्यस्तै, सिडिसी सिनेमाका सञ्चालक जीवन शाक्यले आफ्नो हलमा लगातार सफल रुपमा ‘हल्कारा’ चलिरहेको बताए । उनले कहिलेकाही दुई सोसमेत चलिरहेको सुनाए । चलचित्रका निर्देशक सापकोटाले ढिलै भए पनि दर्शकको रोजाइमा चलचित्र परेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘मैले सोचेको थिएँ । प्रतिक्रियाका आधारमा पहिलो हप्ता नै दर्शकको चाप बढ्नेछ, दुर्भाग्यवश त्यसो हुन सकेन । तेस्रो हप्तामा आइपुग्दा भने नसोचेको भइरहेको छ ।’ अभिनेता महेश त्रिपाठीले ढिलै भए पनि दर्शकको चासो बढेको बताए ।

प्रदर्शनपूर्व नै अन्तर्राष्ट्रिय स्तरमा चर्चा र केही प्रतिष्ठित फिल्म फेस्टिभलमा अवार्ड पाउन सफल यो चलचित्रले समीक्षकको उत्कृष्ट प्रतिक्रियासमेत पाएको छ । यस चलचित्र हल्कारामा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ भने विनिता थापामगर, प्रकाश दाहाल, स्व. दीपक क्षेत्री, शारदा गिरी, पशुपति राई लगायतको अभिनय छ ।

प्रतिक्रिया