रुकुम पश्चिम । युद्धभूमि रुकुम पश्चिममा विविध कार्यक्रम आयोजना गरी १६औँ गणतन्त्र दिवस मनाइएको छ । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ । सोमबार बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्य रूपमा मनाइएको हो । सशस्त्र द्वन्द्व, निरंकुश राणाशासन र १२ वर्ष चलेको ऐतिहासिक जनयुद्धका कारण नेपालमा शासन प्रणालीमा आएको परिवर्तनलाई उपलब्धीका रूपमा मनाउँदै आइएको छ ।
यसै सन्दर्भमा जनयुद्धको आधार ईलाका रुकुम पश्चिममा पनि गणतन्त्र दिवस मनाइएको छ । जिल्लाको आठबिसकोट नगरपालिकास्थित पिस जोन इंग्लिस बोर्डिङ स्कुलको आयोजनामा भव्य रूपमा गणतन्त्र दिवस मनाइएको छ । तत्कालीन युद्धमा विश्वसामु पुगेको आठबिसकोट प्रहरी चौकी आक्रमण जस्ता घटनाक्रम भएको ठाउँमा गणतन्त्र स्थापना सँगै प्रत्येकवर्ष यो दिवस मनाउँदै आइएको छ । पिस जोन स्कुल आठबिसकोटद्वारा आयोजित कार्यक्रममा विधालयका छात्रछात्राहरूले झाँकी, मयुर, पञ्चेबाजा, पैसेरु नाच, गणतन्त्रमा आधारित नाटक, नृत्य प्रदर्शन गरेका थिए । केहिदिनअघि विद्यालयमै प्रशिक्षक राखेर विद्यार्थीलाई सांस्कृतिक कार्यक्रम सिकाउँदै आएको स्कुलका प्रिन्सिपल रविन्द्र सिंहले जानकारी दिए ।
गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै विद्यार्थीले ‘वीर सहिद अमर रहुन, १६औँ गणतन्त्र दिवस सफल पारौँ, सहिदहरूको सम्मान गरौँ, संघीय गणतन्त्र नेपाल जिन्दावाद’ लेखिएका प्लेकार्ड बोकेर बजार, बगर, सिमबजार परिक्रमा गरेका थिए ।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइँदै आएकोले यसलाई ठुलो उपलब्धीका रूपमा लिइएको पिस जोनका संयोजक विजय विकले बताए । रुकुमजस्तो युद्धको आधार इलाकामा गणतन्त्र मनाउनु सौभाग्य भएको भन्दै उनले संघीय गणतन्त्रको आमनेपालीलाई महत्व रहेको बताए ।
०६२÷६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो । तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको सहमतिअनुसार ०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो । ०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले २ सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।
रुकुम पश्चिम
प्रतिक्रिया