बालविवाहपछि ७० प्रतिशत सम्बन्ध विच्छेद

करोडौँको लगानी बालुवामा पानी,

दैलेख । दैलेखमा सरकारी तथा गैरसरकारी निकायहरूले गरेको करोडौँको खर्च बालुवामा पानीसरह भएको छ । जिल्ला अदालत दैलेखको तथ्यांकअनुसार दैलेखमा बालविवाहपछि ७० प्रतिशत सम्बन्ध विच्छेद हुने गरेकोले उनीहरूको लगानी बालुवामा पानीसरह बनेको हो । चालु आर्थिक वर्षको वैशाखसम्म जिल्ला अदालत दैलेखमा दर्ता भएका १ सय ४ वटा मुद्दा दर्ता भएका र गत वर्षको जिम्मेवारी सारेका ६९ गरी अदालतमा १ सय ७३ वटा सम्बन्ध विच्छेदका मुद्दा रहेको अदालत दैलेखका श्रेस्तदार इन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार अदालतमा वर्षभरि सम्बन्ध विच्छेदका लागि दर्ता हुने मुद्दा मध्ये करिब ७० प्रतिशत बालविवाह पछि दर्ता हुने गरेका छन् । गत आर्थिक वर्षको तुलनामा यस वर्ष हाराहारी सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने अनुमान गरिएको श्रेस्तेदार कार्कीले जानकारी दिए । दैलेख जिल्ला अदालतमा गत आर्थिक वर्ष ०७८÷७९ मा १ सय ८८ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । यो आर्थिक वर्षको वैशाखसम्म १ सय ४ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् ।

आमाबाबुको सम्बन्ध विच्छेदका कारण उनीहरूबाट जन्मेका सन्तान बेवारिसे हुन थालेका छन् । श्रेस्तेदार कार्कीले सम्बन्ध विच्छेदपछि बालबालिका मातृत्व र पितृत्वबाट विहीन हुनुपर्ने अवस्था आएको बताए । ‘मातृत्व र पितृत्व पाउनु बालबालिकाको अधिकार हो, सम्बन्ध बिच्छेदपछि बालबालिका त्यो अधिकारबाट बञ्चित हुन्छन् श्रेस्तेदार भने । आमाबाबु बालबालिकाबाट टाढा हुने गरेका कारण उनीहरूको बाल मस्तिकसमा समेत असर पर्ने उनको धारणा छ ।

बाबुसँग भएका बालबालिकाको हकमा सौतिनी आमा आएसँगै बच्चालाई गर्नुपर्ने व्यवहार सबैले सम्मान रूपमा गर्ने नदेखिएको कार्कीको भनाइ छ । उनले सम्बन्ध विच्छेदपछि उनीहरूबाट जन्मेका बालबालिकाको बाल अधिकार हनन् हुन्न भन्न नमिल्ने बताए । श्रेस्तेदार कार्कीले भने, बाबु आमाको सम्बन्ध विच्छेद गर्नुपर्ने आधार कारणहरू होलान् अदालतमा आउने मुद्दाहरू अधिकांश सम्बन्ध विच्छदका हुने गरेका छन् ।

संविधानले २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह हो भन्ने व्यवस्था गरेको छ । दैलेखमा कम उमेरमा भागेर विवाह गर्ने र सम्बन्धमा खटपट सुरु भएपछि सम्बन्ध विच्छेद गर्ने प्रचलन बढी रहेको छ । कम उमेरमा विवाह हुन नदिनका लागि राज्यले नागरिकमा कानुनी सचेतना जगाउनुपर्ने धारण राखेका छन् । उनले नेपालको शिक्षा प्रणालीका कारण नागरिकमा यसको ज्ञान कम हुनले समस्या आएको बताए ।

दैलेखमा बालविवाह न्यूनीकरणका लागि विभिन्न सामाजिक संघसंस्था र सरकारी निकायहरूले विभिन्न चरणमा करोडौँको बजेट बालविवाह न्यूनीकरण अभियानमा खर्च गरेको भए पनि उनीहरूको लगानी भने बालुवामा पानी सरह बन्ने गरेको यहाँका नागरिकहरूले आरोप लगाएका छन् । नागरिकले बताएअनुसार दैलेखमा अभियान चलाउने आधा दर्जनभन्दा बढी संस्था भए पनि उनीहरूले तल्लो लेबलसम्म कार्यक्रम र सचेतना जगाउन सकेका छैनन् ।

प्रतिक्रिया