‘फोन–पे’ ले आइपिओ जारी गर्ने

काठमाडौ । फोन–पे ले आइपिओ जारी गर्ने भएको छ । सो सम्वन्धमा फोन–पे र एनएमबी क्यापिटलबीच परामर्शसेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुरूप एनएमबी क्यापिटलले फोन–पेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आइपिओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ । त्यस्तै फोन–पेलाई आइपिओ जारी गर्न चाहिने पूर्वतयारी गर्न पनि सघाउने छ ।

पूर्वतयारीको काम सकिएपछि नियामक निकायबाट आवश्यक स्वीकृति लिई फोन–पेले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने जनाएको छ । कम्पनीका अनुसार फोन–पे आइपिओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पनी हो । सम्झौतामा हस्ताक्षर गर्दै फोन–पेका प्रमुख कार्यकारी दिवस सापकोटाले एनएमबीसँगको सम्झौताले आफूहरूलाई थप सहज हुने बताए ।
‘हामीले साधारण सेयर जारी गर्ने मात्र भन्दा पनि प्रविधि क्षेत्रमा काम गरिरहेका नेपालका अन्य कम्पनीलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका हौं’ उनले भने,‘यो सपना हासिल गर्न हामीलाई आवश्यक पर्ने सहयोग र मार्गदशनका लागि एनएमबी क्यापिटलसँग सहकार्य गर्न लागेका हौं ।’

फोन–पे नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा इजाजतपत्र प्राप्त डिजिटल भुक्तानी नेटवर्क हो । सन् २०१९ देखि सञ्चालनमा रहेको फोन–पेले बैंक तथा वालेट प्रदायकका ग्राहकलाई मोबाइल फोन मार्फत नगदरहित भुक्तानी सेवा दिँदै आएको छ । फोन–पे नेटवर्कमा ५८ वटाभन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य छन् । एक करोड ८० लाखभन्दा बढी सेवाग्राही र १२ लाख बढी मर्चेन्ट आबद्ध छन् । यसले दैनिक सात अर्ब रूपैयाँभन्दा बढीको नगदरहित कारोबार सहजीकरण गरिरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया