रौतहटमा ७० वर्षीय वृद्धको गोली हानी हत्या

रौतहट । देवाही गोनाही नगरपालिका–१ करुनियामा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या गरिएको छ ।

पछाडिबाट गोली हानी ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयब कसरी बाहिर गएको वा कसले उनलाई गोली हानेर हत्या गरेकोबारे यकिन हुन सकेको छैन । तैयबको शव घरबाट करिब एक किलोमिटर टाढा भेटिएको प्रहरीले जनाएको छ ।

उनको शव प्रादेशिक अस्पताल गौरमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको तथा यस घटनाबारे अनुसन्धान सुरु गरिएको र परीक्षणको रिर्पोट आएपछि यसबारे थप जानकारी प्राप्त हुने प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

प्रतिक्रिया