रुकुम पश्चिममा जिप दुर्घटना : पाँच जनाको मृत्यु, १० घाइते

रुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बिहीबार बिहान रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको थियो । सोही घटनामा १० जना घाइते भएको बताइएको छ ।

मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट– ८ का २२ वर्षीय रेखा खनाल, उनका छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

बिहीबार बिहान सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप बाँफिकोट गाउँपालिका–८ तोरीधारा जिप दुर्घटना भएको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको र थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया