४२ जना पत्रकारको सदस्यता नवीकरण नहुने

रुकुम पश्चिम । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखामा आवद्ध रहेका ४२ जना सदस्यहरूको सदस्यता नवीकरण नहुने भएको छ । मंगलबार मुसिकोटस्थित आफ्नै कार्यालयमा बसेको पत्रकार महासंघको बैठकले ती पत्रकारहरूको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको हो ।

पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले शाखामा आवद्ध रहेका १ सय ३ जना सदस्य मध्ये ६१ जनाको मात्रै नवीकरण गर्ने निर्णय भएको जानकारी दिए । महासंघको शुद्धीकरण अभियानअन्तर्गत हाल पत्रकारिता क्षेत्रमा क्रियाशील नभएका र अन्य पेसालाई मूल पेसा बनाएका सदस्यहरूको सदस्यता नवीकरण नगर्ने निर्णय गरिएको अध्यक्ष केसीले बताए ।

नेपाल पत्रकार महासंघ रुकुम शाखाका उपाध्यक्ष गोपाल प्रसाद रेग्मी, सचिव हिरा परियार र सदस्य संगम देवकोटाको सदस्यता नवीकरण सिफारिस समितिले पेस गरेको प्रतिवेदनअनुसार ४२ जना पत्रकारको सदस्यता नवीकरण नहुने भएको हो ।

शाखाले नयाँ सदस्यता लिने र स्वेच्छिक परित्याग गर्न पटकपटक सूचना जारी गर्दै आएको थियो । पत्रकारितामा सक्रिय नरहेका एक जनाले स्वेच्छिक सदस्यता त्याग गरेका छन् । पत्रकार महासंघमा पत्रकारभन्दा गैरपत्रकारहरूको संख्या बढ्दै गएको र नेतृत्वमा उनीहरू नै हावी हुने गरेको गुनासो बढिरहेका बेला नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरण अभियान सुरू गरेको थियो ।

महासंघको सोही अभियानअन्तर्गत रुकुम पश्चिम शाखाबाट सदस्यता लिएका तर हाल पत्रकारिता पेसामा नरहेका सदस्यहरूलाई स्वेच्छिक रूपमा सदस्यता त्याग गर्न आग्रह गरिएको थियो । रुकुम पश्चिम शाखाबाट सदस्यता लिएका एक जनाले स्वेच्छिक रूपमा सदस्यता त्यागेको घोषणा गरेका थिए ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया