सदरमुकाम मुसिकोटमै खानेपानीको हाहाकार

रुकुम पश्चिम । जिल्लाको सदरमुकाम मुसिकोटमै खानेपानीको हाहाकार भएको छ । करिब एक हजारभन्दा बढी घरधुरी रहेको मुसिकोट बजारक्षेत्रमा एक सातादेखि पानीको हाहाकार मच्चिएको हो । गर्मीयाम बढेसँगै मुहानमा पानीको स्रोत सुक्दै गएपछि घरघरमा जडान गरिएका धारामा पानी आउन छाडेको छ ।

वार्षिक खानेपानी मर्मत भनेर विभिन्न निकाय र मुसिकोट नगरपालिकाबाट करोडौँ रकम विनियोजन गरिन्छ तर उचित काम र व्यवस्थापनको कमजोरीका कारण जिल्लाको सदरमुकाम मुसिकोटमा बस्दै आएका विभिन्न निकायका कर्मचारी र विद्यार्थीको पढाइमा खानेपानीको व्यवस्था नहुँदा समस्या भएको छ । धारामा पानी आउन छोडेपछि खानेपानीको समस्या दैनिक रूपमा बढ्दै गएको छ । उपभोक्ताहरू जुन धारामा पानी आउने गर्छ त्यस धारामा लाइनमा बसेर पानी भर्न बाध्य छन् ।

खानेपानीको मूल संरक्षण पाइपलाइनको उचित व्यवस्थापन लगायतमा कमजोरी भएपछि मुसिकोटका स्थानीयले लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका छन् । बजार क्षेत्र नजिकै पाइप फुटेपछि सदरमुकामले खानेपानी समस्या भोग्दै आएको हो । एक महिना अगाडिदेखि खानेपानीको समस्या देखिँदै आएको थियो । यो समस्या दैनिक रूपमा बढ्दै जाँदा थप समस्या चुलिएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुकुम पश्चिमका अनुसार मुसिकोट नगरपालिका–१ स्थित पाइप फुटेको कारण खानेपानीमा समस्या आएको जनाएको छ । डिभिजन कार्यालयका प्रमुख तेजनारायण महतोका अनुसार सहरी खानेपानी योजनाअन्तर्गत पर्ने उक्त खानेपानीको फुटेको पाइपलाई वल्डिङ गर्नुपर्ने भएकोले केही समय लागेको बताए । मुहानदेखि बजार क्षेत्र सम्मका विभिन्न ठाउँमा व्यक्तिगत, संस्थागत प्रयोजनका लागि घर, सडक निर्माण लगायतका काम भइरहने र माटो ढुंगा जथाभावी फाल्दा पाइप भाँचिने, फुट्ने गरेको र एक÷दुई दिनभित्र पानी सञ्चालनमा आउने महतोले जानकारी दिए ।

जागिर, व्यवसाय र अध्ययनका लागि मुसिकोट खलंगामा डेरा लिएर बस्नुपर्ने बाध्यतासँगै पानीका लागि अन्य मूलबाट खानेपानी बोकेर ल्याउनुपर्दा पढाइमा असर परेको छ भने दिसा धुने पानी नपाउँदा दिसामुक्त जिल्ला घोषणाको पनि कुनै औचित्य नभएको स्थानीय बताउँछन् । जिल्लास्थित विद्यालयका छात्रवास, जिल्ला कारगार, सरकारी तथा गैरसरकारी संघसंस्था लगायतमा पानी आपूर्ति हुन नसक्दा समस्या पैदा भएको छ । होस्टेलमा बस्ने बालबालिकालाई स्वच्छ पानी पिउन त परै जाओस् हातमुख धुन पनि साह्रै समस्या भएको छ ।

सदरमुकाम मुसिकोटको खलंगा बजार, बागबजार, सेरीगाउँ, पातुखोला, पीपलनेटा, सल्ले लगायतका क्षेत्रमा आपूर्ती भइरहेको खानेपानी बिग्रिएपछि सो क्षेत्रका उपभोक्ता मारमा परेका छन् । यसअघि पनि खानेपानी नियमित रूपमा नआउने अवस्थामा मुहानमा पानीको मात्रा सुक्दै जाँदा सो समस्या जेठ महिना भर्खर लागेको र असार बाँकी नै भएका कारण अझै बढ्दै जाने देखिएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया