राससकर्मी ढुंगाना ‘राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुँदै

काठमाडौं । (राष्ट्रिय समाचार समिति) राससकर्मी नारायण ढुंगाना पुरस्कृत हुने भएका छन् । आगामी जेठ १५ गतेदेखि सुरु हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)ले यसपटक राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार राससकर्मी ढुंगानालाई प्रदान गर्न लागेको हो ।

उक्त पुरस्कारको राशि रु २५ हजार रहेको ललितकला प्रज्ञा प्रतिष्ठानले जनाएको छ । उक्त प्रदर्शनीलाई ललितकला क्षेत्रकै सबैभन्दा ठूलो उत्सव मानिन्छ । विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय रहेका चितवनका पत्रकार ढुंगाना पाँच वर्षदेखि भने संघीय राजधानी काठमाडौंमै रहेर पत्रकारिता गरिरहेका छन् ।

गत वर्ष पनि आफूले ‘नारायणबहादुर सिंह स्मृति ललितकला पत्रकारिता पुरस्कार’ प्राप्त गरेको ढुंगानाले बताए । उनी हाल ललितकलाका साथै अपराधलगायत विधामा पत्रकारिता गर्दै आएका छन् । सामाजिक परोपकारी पत्रकारितामा पनि उनको गहिरो रुचि छ । यसअघि उनले अन्य दुई दर्जन पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।

यही जेठ १५ गते राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को उद्घाटन समारोहमा उक्त पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, राष्ट्रिय ललितकला लेखन पुरस्कार भने नगेन्द्रप्रसाद पौड्याललाई प्रदान गरिने आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रतिष्ठानले यस वर्षदेखि स्थापना गरेको कला प्रवर्द्धन सम्मान संगीता थापालाई प्रदान गरिनेछ । यसपटक राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को सद्भावनादूतका रुपमा अनिल चित्रकारलाई सम्मान गरिने प्रदर्शनीको कार्यकारी समितिका अध्यक्ष प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिनुए ।

उनले विगतमा वैशाख २ गते गर्ने गरिएको यस प्रदर्शनी यस वर्ष गणतन्त्र दिवसको सन्दर्भ पारेर जेठ १५ गते गर्न लागिएको जानकारी दिए । उनले प्रदर्शनीका अवधिमा १० भन्दा बढी विषयगत छलफल तथा अन्तरक्रिया पनि हुने जानकारी दिए ।

यही जेठ १५ देखि ३० गतेसम्म हुने कार्यक्रममा प्रतिष्ठानको कार्यालय र बबरमहलस्थित नेपाल कला परिषद्मा चित्रहरु प्रदर्शनी गरिने उनको भनाइ छ । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

नाफाका कुलपति नारदमणि हार्तम्छालीले यस वर्षको प्रदर्शनी वैचारिक रुपले पहिलेको जस्तै देखिए तापनि आगामी वर्षदेखि भने प्रतिभाको खोजी गरेर तथा थिम नै दिएर प्रदर्शनी गर्ने सोच रहेको बताए ।

उनले नेपालको रैथाने कलालाई अझै बाहिर ल्याउन नसकिएको बताउँदै हिजोआज कलाको शिल्प र प्रस्तुति शैलीमा दिनानुदिन प्रगति भइरहेको बताए । उनले प्रतिष्ठानले आगामी वर्षदेखि प्रदेश–प्रदेशमा सर्भे, कला सम्मेलन, प्रदेशमा प्रतियोगितात्मक प्रदर्शनी गर्ने सोच बनाएको पनि जानकारी दिए ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आफ्नो वार्षिक कार्यतालिकाअनुसार हुन लागेको यस प्रदर्शनीमा ६ सय १० कलाकारका ६ सय ९७ कलाकृति राखिने जानकारी गराएको छ । यस वर्ष प्रदर्शनीका बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने पाँच जनालाई नगदसहित पुरस्कृत गरिने घोषणा पनि गरिएको छ ।

यस्तै, विभिन्न तहमा अध्ययनरत विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरुबाट पहिलो, दोस्रो, तेस्रो र विशेषगरी चार जनालाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

समारोहमा प्रदर्शनीका सद्भावनादूत अनिल चित्रकारले विश्वकै ललितकलाको स्रोत नेपाल भएकाले त्यसलाई सबैले विश्वसामु चिनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया