मन्थली । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले संघीयता खारेजी गरौं भन्नेहरुलाई विकास विरोधीको संज्ञा दिएका छन् ।
सोमबार रामेछापको मन्थली नगरपालिका– १ स्थीत मन्थली माध्यमिक विद्यालयको पुर्ननिर्मित भौतिक संरचनाको हस्तान्तरण तथा समुद्घाटन समारोहमा संघीयता विरोधीहरुलाई लक्षित गर्दै बोल्दै मुख्यमन्त्री जमकट्टेलले संघीयता खारेजी गरौँ भन्नेहरुलाई विकास विरोधीको संज्ञा दिएका हुन् ।
देशमा संघीयता स्थापित भएको छोटो समयमै विकास विरोधीहरुले संघीयता विरोधी अभिव्यक्ति दिने गरेको भन्दै जमकट्टेलले संघीयता खारेजी गरौँ भन्नेहरुलाई यस्ता शश्द उच्चारण नगर्नसमेत आग्रह गरे ।
‘संविधान निर्माणको चरणमा केही वर्षअघि मात्र देश संघीय प्रणालीमा गएको छ, प्रदेशले अझै पूर्ण अधिकार पाइसकेको छैन, संघ र प्रदेशबीच कस्ले कति अधिकार लिने–दिने भन्नेमै दुविधा रहेको छ, हामी त्यसको कार्यान्वयन गर्ने र गराउने पक्षमा छौँ, अहिल्यै यसलाई खारेजी गरौँ भन्ने बेला भइसकेको छैन, अहिल्यै प्रदेशलाई खारेजी गरौँ भन्नेहरु त केवल विकास विरोधी मात्र हुन्’, उनले भने ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री जमकट्टेलले संघीयताविरुद्ध आवाज उठाउनेहरुलाई त्यसो नगर्न र केही कमी कमजोरी देखे आफूहरुलाई सुझाव दिनसमेत आग्रह गरे । त्यस्तै उनले अहिले सरकारले नयाँ ढंगले काम गर्न लागेको समेत बताए ।
समृद्ध बागमती प्रदेश बनाउन आगामी बजेटमा शिक्षामा समान रणनीति बनाउन लागेको समेत उनले बताए । त्यस्तै शिक्षासंगै स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास र रोजगारीको क्षेत्रमा जनताको पहुँच पुर्याउन आफू लागिपरेको जमकट्टेलको भनाइ थियो ।
प्रतिक्रिया