आयुर्वेदिक उपचारप्रति बिरामीको आकर्षण बढ्दै

धनगढी । पछिल्लो समय आयुर्वेदिक उपचारप्रति बिरामीको आकर्षण बढ्न थालेको छ । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा बिरामीको आकर्षण बढ्न थालेको हो । दैनिक २ सय ५० जनाको हाराहारीमा बिरामी आउने गरेको प्रादेशिक आयुर्वेद चिकित्सालयले जनाएको छ । औषधिदेखि लिएर जीवनशैलीसम्बन्धी सबै परामर्श हुने भएकाले आयुर्वेद उपचारमा आकर्षण बढ्दै गएको प्रादेशिक आयुर्वेद चिकित्सालयका बैद्य निरीक्षक तथा सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीले बताए ।

उनले भने, ‘यसअघि प्रदेशस्तरमा ठूलो आयुर्वेद अस्पताल थिएन अहिले सेवा विस्तार भएको छ, नसर्ने रोगका लागि आयुर्वेदमा औषधिदेखि लिएर जीवनशैलीसम्बन्धी परामर्श हुन्छ, त्यसैले यसमा आकर्षण बढी नै छ ।’

एलोपेथिक औषधिको साइड इफेक्ट बढी हुने र आयुर्वेद औषधिको साइड इफेक्ट कम हुने भएकाले पनि बिरामीको संख्या बढ्दै गएको उनले बताए । पेटको रोग, बाथ रोगका बिरामी बढी आउने गरेको शाहीले बताए ।

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट विरामी आउने गरेको चिकित्सालयले जनाएको छ । चिकित्सालयले २०७९ असोज ११ गतेबाट सेवा सुरु गरेको थियो । सुरुसुरुमा १ सय ५० जनाको हाराहारीमा बिरामी आउने गरेको भए पनि अहिले झण्डै २ सय ५० को हाराहारीमा बिरामीले ओपिडी सेवा लिने गरेको सूचना अधिकारी शाहीले बताए ।

२३ थरीको औषधि निःशुल्क पाइने गरेको चिकित्सालयले जनाएको छ । ओपिडी टिकटसहित सम्पूर्ण चेकजाँच निःशुल्क हुने गरेको जनाइएको छ । ५० बेडको अस्पताल भए पनि जनशक्ति अभाव लगायतका कारणले हाल ओपिडी, ल्याब, एक्स–रे लगायतका सामान्य सेवा सुरु गरिको सूचना अधिकारी शाहीले बताए ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ का ६६ वर्षीय कर्णबहादुर सिंहले अरू अस्पतालमा उपचार गराउँदा ठीक नभएको रोग आयुर्वेद चिकित्सालयमा उपचार गराउँदा सञ्चो हुँदै गएको बताए । उनले भने, ‘मलाई एलर्जी भएको थियो, अरू अस्पतालमा गए उपचार गराएँ मलम लगाउँदा, औषधि खाँदा सञ्चो भएजस्तो हुने छोड्दा फेरी उस्तै भइहाल्ने तर यहाँ उपचार गराउँदा धेरै सञ्चो भएको छ ।’

‘यहाँ उपचार गर्न लागेको ६ महिना भयो, सात÷सात दिनमा नियमित चेकजाँच गर्न आउँछु, अहिले ५० प्रतिशत रोग सञ्चो भएको छ, अब मलाई विश्वास छ पूरै निको हुन्छ’, उनले भने, ‘योग सिकाएको छ, योग पनि गरिरहेको छु, यसले शरीरलाई अन्य फाइदा पनि भएको छ ।’
त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का ६९ वर्षीय जयबहादुर बिष्टले दुई महिनादेखि खुट्टा दुख्ने समस्या भएर यहाँ उपचारमा आएको र सञ्चो हुँदै गएको बताए । उनले भने, ‘दुई महिना अघिबाट खुट्टा दुख्न सुरु भएको हो, हिँड्दा दुख्थ्यो अहिले सात दिन जति भयो उपचार गर्न लागेको सञ्चो हुँदै गएको छ ।’

संघीय सरकारले ०७४ सालदेखि प्रादेशिक आयुर्वेद चिकित्सालयको भवन निर्माण सुरुगरी ०७८ मा सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा स्थापना गरिएको आयुर्वेद चिकित्सालयमा ०७९ असोजबाट सेवा सुरु गरिएको थियो ।

प्रतिक्रिया