कमिसन लिँदै ठेक्का दिँदै नवराजपुरका प्रशासकीय अधिकृत !

लहान । नवराजपुरका प्रशासकीय अधिकृत राजकिशोर साहले अनियमिताको चरम भूमरीमा फसेका छन् । निर्माण सम्बन्धी ठेक्का आफ्ना नजिकका व्यक्तिलाई दिँदै कमिसन खाने गरेकोले स्थानीय आक्रोशित भएका छन् । ब्याकडेटमा टेन्डरको सूचना प्रकाशन गरी आफ्ना नजिकका व्यक्तिलाई टेन्डर मिलाएर कमिसन खाने गरेकोले स्थानीयहरू आक्रोशित छन् । यसबारे नवराजपुर अध्यक्ष शिवउदगार यादवले त्यस्तो प्रक्रिया अपनाएको ठहर भए जोसुकै कारबाहीमा पर्ने बताएका छन् ।

हाकिम साहेबलाई पटकपटक सचेत गराउँदै आएको छु । हाम्रो गापा सफासुग्घर अर्थात कमिसनमुक्त हुनुपर्छ । अवैध कारोबार मलाई मन पर्दैन । सफा काम गरौँ, जनताको हितमा काम गरौँ भन्दै सधैँ सचेत गर्दै आएको गापा अध्यक्ष यादवले बताए । योसँगै अध्यक्ष यादवले गाउँपालिकाले किसानलाई समयमै कृषि मलखाद उपलब्ध गराउने जनाएको छ । किसानहरूले हरेक बर्ष मल अभावको समस्या खेप्दै आएका छन् । यादवले यसवर्ष समयमै किसानलाई मलखाद उपलब्ध गराउने गरी आवश्यक तयारी गरिएको बताए । यसका लागि संघीय सरकार र प्रदेश सरकारसँग आवश्यक समन्वय गरिरहेको अध्यक्ष यादवले जानकारी गराएका छन् ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले विकासको बजेट ९ करोड १३ लाख रहेको छ । अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य, कृषि र भेटनरीलाई पहिलो प्राथमिकता राखिएको बताए । उनका अनुसार न्यायिक समिति गठन भइसकेको छ भने दाइजो प्रथा न्यूनीकरणका लागि गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै शिक्षा क्षेत्रको सुधारका लागि विद्यालय अनुगमनलाई तीव्र पारिएको अध्यक्ष यादवले बताए ।

यसका लागि अध्यक्ष यादव आफैँ पटकपटक विभिन्न विद्यालयमा पुगेर अनुगमन गर्ने कार्य हुँदै आएको छ । त्यसैले शिक्षाक्षेत्रमा सकारात्मक सुधारसमेत हुन थालेको उनले दाबी गरेका छन् । विकासको कामका साथसाथै समाजमा व्याप्त बालविवाह विरूद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत सबै वडामा सञ्चालनमा रहेको वडा–१ का वडा अध्यक्ष नवीन कुमार यादवले बताए । वडा–२ का वडा अध्यक्ष सुरेश कुमार यादवले गाउँपालिकाबाट प्राप्त ५० लाख बजेटबाट वडामा विकास निर्माणका कामलाई अगाडि बढाइएका जानकारी गराएका छन् ।

वडा–२ ले विद्यालय सुधार कार्यक्रम र पक्की सडक निर्माणका लागि समेत आवश्यक बजेट विनियोजन गरिएको वडा अध्यक्ष सुरेशकुमार यादवले बताए । वडा–४ का वडा अध्यक्ष मदन कुमार यादवले गाउँपालिकाबाट उपलब्ध बजेटबाट विद्युतीय परियोजना, सडक ढलान र ग्राभेलका साथै सिलाइकटाइको परियोजना सञ्चालन गरिएको जानकारी गराएका छन् ।

प्रतिक्रिया