पाँचथर । कोशी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआइजी) राजेशनाथ बास्तोलाले कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष सेवा दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयको निरिक्षण भ्रमणपश्चात् आइतबार आयोजना गरिएको सर्व पक्षीय भेलालाई सम्बोधन गर्दै बास्तोलाले कर्मचारीलाई निर्देशन दिएका हुन् । ‘रिस, राग, पक्ष विपक्षले अगाडि बढ्न सकिँदैन’, उनले भने, ‘प्रहरी कर्मचारीले सबैसमक्ष मातृत्वको सम्बन्धको भावना स्थापित गर्न जरुरी छ ।’
बास्तोलाले अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, लागुऔषधको प्रयोग र ओसारपसार नियन्त्रण, चोरी तस्करी नियन्त्रणमा कडाइका साथ प्रहरी परिचालन गर्न निर्देशन दिए ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लामो तथा छोटो दुरीको गस्ती परिचालन गरी दुरदराजमा रहेका नागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्याउनु र सचेतनामूलक कार्यक्रम सञ्चालन गरी समाजमा घट्ने विभिन्न प्रकारका घटना तथा अपराधहरुलाई निरुत्साहित गर्नेतर्फ पनि प्रहरीले ध्यान पुर्याउनुपर्ने उनको भनाई थियो ।
पालिकास्तरीय, विद्यालय, समुदायमा चौकी र इलाका चौकीले सचेतना अभियान सञ्चालन गरिएको छ । पाँचथरमा भएको अन्तरक्रियामा जिल्लाका स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला उद्योग व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्व प्रहरी, पत्रकार लगायतका व्यक्तित्वहरु संग छलफल तथा अन्तरक्रिया गर्दै सुझाव संकलन गरेका छन् ।
अन्तरक्रियामा सहभागिहरुले कुनै पनि राजनीतिक पार्टी विषेश अपराधलाई ढाकछोप गर्न नहुने सुझाव दिएका थिए । जिल्लाका सुरक्षा अवस्थाबारे डिएसपी हरि खतिवडाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया