६ हजार मिटर तार किनेर ६० हजार मिटर तारको रकम निकासा

लहान । सिरहाको बरियारपट्टि गाउँपालिकामा जनप्रतिनिधी, उपभोक्ता समितिका प्रतिनिधी र कर्मचारीको मिलोमतोमा कृषि विद्युतीकरणका लागि ६ हजार मिटर तार खरीद गरेर ६० हजार मिटरको रकम निकासा गरेको पाइएको छ । कृषि विद्युतीकरणका लागि गठन गरिएको बद्रीनारायण यादवको अध्यक्षतामा गठित उपभोक्ता समितिले ६० हजार मिटर विद्युत तार खरिद गरेको भन्दै गाउँपालिकाबाट ५० लाख भुक्तानी लिएको हो ।

वडा १, २ र ५ मा कृषि विद्युतीकरणका लागि गाउँपालिकाले उक्त उपभोक्ता समितीसँग ८५ लाख रुपैयाँको सम्झौता गरेको थियो । २०७६ जेठ १४ गते भएको सम्झौताअनुसार २०७६ असार १६ सम्म विधुतिकरण योजना सम्पन्न गर्नुपर्ने भनि कार्यादेश भएको थियो । तर सम्झौता अनुसार कार्यसम्पन्न नै नगरी दुई पटक गरि ८५ लाख रुपैयाँ भुक्तानी भएकोमा महालेखापरीक्षकको कार्यालयले आपत्ति जनाएको हो ।

महालेखाले उक्त उपभोक्ता समितिसँग गाउँपालिकाले गरेको थियो । ६० हजार मिटर तार खरिद गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि ६ हजार मिटर खरिद गरेर ढुवानी भाडा सहित ५० लाख रुपैयाँ भुक्तानी गरिएको देखएिको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

एक महिना अवधीमै २ सय ५० ज्यामी लगाई १९ पाना डोर हाजिरी फाराम संग्लन गरि ३३ लाख खर्च गरेको कुरा विश्वास गर्न नसकिने महालेखाले जनाएको छ । त्यस्तै महालेखाले उक्त कार्यको लागि लागत स्टमेट स्वीकृत नभएको , कार्य सम्पन्न प्रतिवेदन सम्बन्धित पदाधिकारीबाट प्रमाणित नभएको , सामाजिक परिक्षण र खर्चको सार्वजानिकीकरण नभएको, अनुगमन रिपोर्टमा उपाध्यक्षको हस्ताक्षर नभएको बताएको छ ।

कृषि विद्युतीकरणमा भुक्तानी गरिएको ८५ लाख रुपैयाँ बेरुजु देखिएपछि गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अशोककमार सिंह र अध्यक्ष सन्तोष महतोबीच बेरुजु फर्छौटको बिषयलाई लिएर ठुलै विवाद निम्तिएको थियो ।

विवाद झ्यागिंदै जाँदा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सिंह र अध्यक्ष महतोबीच ग्यागंवारकै स्थिती सिर्जनाभएको थियो । मतभेद बढेपछी सिंहलाई सरुवा गरेर अर्का प्रशासकीय अधिकृत रञ्जितजगं अधिकारीलाई ल्याईएको थियो । यस बिषयमा प्रीतकृया लिनको लागि पटकपटक प्रयास गर्दापनि अध्यक्ष महतो सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया