कालिकोट । नेपाली जनसम्पर्क समिति इजरायलद्वारा ३५ जना बालबालिकालाई झोला र कपडा बितरण गरिएको छ । शुभकालिका गाउँपालिका वडा नम्बर १, २ र ३ अर्थात साविक भर्ता गाविसभित्र रहेका अति विपन्न ३५ जना बालबालिकालाई एक–एक झोला, एक–एक सेट स्कुल ड्रेस कपी, डटपेन वितरण गरिएको छ ।
शुभकालिका गाउँपालिका– ३ सञ्जालवाडा जन्म भइ हाल इजरायल रहेका कमलचन्द्र धितालको पहलमा उक्त सामग्रीहरू वितरण गरिएको प्रेमप्रसाद धितालले बताए । जनज्योति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमप्रसाद जैसिको अध्यक्षता, शुभकालिका गाउँपालिका– ३ का वडाध्यक्ष प्रकाशबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सहयोगको पहल गर्ने कमलचन्द्र धितालका बुवा गंगाराम धितालले आफूले जन्माएको छोराले विदेशमा पसिना बगाएर पनि गरिब तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेकाले आफू खुसी भएको बताए । साथै, धितालले यो सेवा सहि तरिकाले प्रयोग गरेमा फेरिका दिनमा कमलचन्द्र धितालले यस्तै अरू सहयोगका कार्यक्रमहरू समाजमा ल्याउने बताए ।
कार्यक्रम बोल्दै शुभकालिका गाउँपालिका– ३ का वडाध्यक्ष प्रकाश शाहीले सहयोग गर्ने नेपाली जनसम्पर्क समिति इजरायललाई धन्यवाद दिँदै यस्ता कार्यक्रम समाजमा अतिआवश्यक रहेकाले सहयोगी निकायलाई सहयोग गर्न आग्रह गरे ।
उनले आगामी दिनमा सहयोग गर्ने निकाय तथा सामाजिक अभियान्तालाई सहयोग गर्न आफू पनि तयार रहेको बताए । साथै, वडाध्यक्ष शाहीले सामाजिक सेवाको लागि सबै सरोकारवाला एक रूपताका साथ लागि पर्नुपर्ने बताए ।
कार्यक्रममा आफ्नो भनाई राख्दै जनज्योति माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रेमप्रसाद जैसिले आफू अध्यक्ष भएको पहिलो कार्यक्रममा नै पहिला विपन्न बालबालिकालाई सहयोग गर्ने कार्यक्रम भएकोमा खुसी भएको बताए ।
अध्यक्ष जैसिले यस्ता कार्यक्रमहरू नेपालजस्ता देशमा अतिआवश्यक भएकोले कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । अध्यक्ष जैसिले इजरायलमा बसेर भर्ताका विपन्न बालबालिकालाई सहयोग गर्नुको कारण पनि कमलचन्द्र धिताल भर्तामै बसेर अध्यापन गरेका र भर्ताप्रतिको माया भएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता भक्तबहादुर शाही, जनज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक तुलाराम धिताल, नेकपा एमाले वडा नम्बर २ का अध्यक्ष नविनप्रसाद तिमिल्सिना, नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी, वडा नम्बर ३ का वडा सदस्य कलरे तिरूवा लगायतका सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कर्णाखर चौलागाईले गरेका थिए ।
कालिकाेट
प्रतिक्रिया