प्रतिनिधिसभाका तीन वटै क्षेत्रको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनले मुलुकको राजनीति यथावस्थामा अघि बढ्दैन भन्ने सन्देश दिएको छ । लामो समयसम्म सत्तामा रहेका राजनीतिकदलहरूलाई मतदाताले दण्डित गरेका छन् । जसको लाभ नवोदित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको छ । मतदातामा देखिएको परिवर्तनको यो उत्कट चाहनाले पुराना दललाई सच्चिन दबाब दिएको छ । नवोदित रास्वपाले जनतालाई निराश बनाएन भने हाम्रो मुलुकको लोकतन्त्र बलियो हुनेछ । अहिले उपनिर्वाचन भएका तीन वटा निर्वाचन क्षेत्रले करिब करिब सिंगो मुलुकको प्रतिनिधित्व गर्छन् । उदाहरणका लागि बोराभित्रको चामल कस्तो छ भनेर परीक्षण गर्नुप¥यो भने बीचतिरबाट एक मुठी नमुना हेरे पुग्छ ।
त्यसैगरी तनहुँ, चितवन र बाराको नमुनाले सिंगो नेपालका मतदाताको मनस्थिति मापन गर्न सकिन्छ । यी तीन वटा क्षेत्रको उपनिर्वाचनप्रति विश्वभर छरिएर रहेका नेपालीहरूले आमनिर्वाचन जत्तिकै चासो दिएका थिए । एक हिसाबले भन्नुपर्दा विश्वभर रहेका नेपाली युवाहरूले पुराना पार्टीहरूलाई दण्डित गर्न धेरै ठूलो ‘लबिङ’ गरेका थिए । आपूmहरूले गरेको ‘लबिङ’ सफल भएकोमा युवाहरू उत्साहित देखिएका छन् । तर, यो उत्साह कतिन्जेल टिक्ने हो ? भन्ने प्रश्नको उत्तर भने सहज देखिँदैन । किनकी चुनावमार्फत दल तथा पात्र परिवर्तन गर्ने सिलसिला नेपालमा नयाँ होइन । ०४८ साल यताका चुनावलाई हेर्ने हो भने एउटै पार्टी या व्यक्तिले दोहो¥याएर चुनाव जित्ने गरेका उदाहरणहरू थोरै छन् । पात्र परिवर्तन मात्रै साध्य हुँदो हो त अहिलेको मधेस प्रदेशभित्र पर्ने आठ वटा जिल्लाका जनताले हरेक निर्वाचनमा पार्टी तथा पात्र परिवर्तन गर्ने गरेको देखिएको छ । तैपनि यी जिल्लाहरूको मानव विकास सूचकांक सबैभन्दा पछि छ । यता ०४८ साल यता भक्तपुर जिल्लामा पात्र तथा पार्टीलाई जनताले परिवर्तन गरेका छैनन् । तर मानव विकास सूचकांकमा भक्तपुर जिल्ला सबैभन्दा अगाडि छ ।
अहिलेसम्मका अनुभव विश्लेषण गर्ने हो भने हरेक चुनावमा जनताले परिवर्तनको अपेक्षाका साथ मतदान गर्ने तर चुनाव जितेर जानेहरूले पुरानै पार्टी तथा पात्रका खराब पदचापलाई अनुसरण गर्ने प्रवृत्ति देखिएको छ । पात्र परिवर्तनलाई नै साध्य ठान्नुपर्ने दुर्भाग्य मतदाताले विगतदेखि नै बेहोर्दै आएका छन् । अबका दिनमा पनि यस्तै स्थिति दोहोरिइरहने हो भने लोकतन्त्र टिक्न सक्दैन । जनताले किन दण्डित गरे ? भन्ने कुरा पुराना पार्टीहरूले आत्मासाथ गर्नै पर्छ । जनताको चाहना पात्र परिवर्तन मात्रै होइन, प्रवृत्ति परिवर्तन हो भन्ने हेक्का नवोदित रास्वपाले राख्नै पर्छ । तर गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनको परिणामपछि नवोदित रास्वपाले निर्वाह गरेको भूमिका सन्तोषजनक छैन । पार्टीको एक मात्रै ध्येय सत्ता हो, प्रतिपक्षमा बस्नै हुन्न, जति जना उपप्रधानमन्त्री बनाए पनि हुन्छ, एउटै मन्त्रालयमा मन्त्री, राज्यमन्त्री बनाए पनि हुन्छ, सांसद नरहे पनि मन्त्री बन्न पाउनुपर्छ, भ्रष्टाचार उजागर गर्ने व्यक्ति तथा मिडियालाई सकिन्जेल गाली गर्नुपर्छ, लेखेट्नु पर्छ, शत्रु करार गर्नुपर्छ भन्ने पुराना दलको गलत पदचापलाई रास्वपाले पनि अनुशरण गरेको देखियो । यति हुँदाहुँदै पनि उपनिर्वाचनमार्फत जनताले फेरी रास्वपालाई मौका दिए । जनताले रास्वपालाई दिएको यो मौका पुरानादलका लागि कि सच्चिनु, नसच्चिए सकिन तयार हुनु भन्ने चेतावनी हो ।
दलहरूको इतिहास जति पुरानो भयो बहुदलीय लोकतन्त्र पनि त्यति नै संस्थागत हुँदै जान्छ । नेपालका पुराना दलहरूको इतिहास निकै गौरवशाली छ । जनतालाई अधिकार सम्पन्न बनाएको पुराना दलहरूले नै हो । दल आफँैमा खराब हुँदैनन्, व्यक्ति खराब हुने हुन् । दल भित्रको आन्तरिक लोकतन्त्र कमजोर भयो भने खराब व्यक्ति दलको नेतृत्वमा पुग्छन् । दलभित्रै अधिनायकवाद र फासिवाद हावी हुन्छ । यतिबेला कांग्रेस, एमाले र माओवादी तीन वटै दलको नेतृत्व तहमा अधिनायकवादी र फासिवादी चरित्रका व्यक्ति पुगेका छन् । यदि यी पार्टीहरू यो जरजर अवस्थाबाट मुक्त हुन सकेनन् भने नवोदित पार्टीमा पनि यस्तै प्रवृत्ति हावी हुन्छ । जसको मूल्य लोकतन्त्रले चुकाउनुपर्छ । जनताले चुकाउनुपर्छ ।
प्रतिक्रिया