पुनः चुनाव लड्न वडा अध्यक्षहरूको चुनौती

वडा अध्यक्षहरूलाई ‘गुइँठे’ भनेपछि धरानका मेयर हर्क साम्पाङ विवादमा

काठमाडौं । आफ्ना अभिव्यक्तिका कारण चर्चा र विवादमा आइरहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफ्ना वडा अध्यक्षमाथि तिखो टिप्पणी गरेपछि थप विवादमा आएका छन् । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई श्रमदान गर्न आग्रह गर्ने मेयर साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेपछि फेरी उनी विवादमा परेका छन् । निरन्तर कार्यपालिकाको बैठक बस्न नसकेको अवस्थामा मेयर साम्पाङले विज्ञप्ति नै निकालेर वडा अध्यक्षहरूलाई असक्षम घोषणा गर्दै राजीनामा मागेपछि थप विवाद चर्किएको हो । उनले केही दिनअघि आफ्नो फेसबुक पेजबाट ‘गुइँठे’ भन्दै गीत गाएको विषयले त झन् विवादले चर्को रूप लिएको छ ।

सामाजिक सञ्जालमा आफूहरूलाई ‘गुइँठे’ भन्दै अपमान गर्ने र अस्तित्वमाथि नै धावा बोल्ने अधिकार मेयर साम्पाङलाई नभएको वडा अध्यक्षहरूको भनाइ छ । उनीहरूले पनि मेयर साम्पाङको एक वर्षे कार्यकाल पूर्णरूपमा असफल भएको टिप्पणी गरेका छन् । वडा अध्यक्षहरूले पनि पत्रकार सम्मेलन गरेरै मेयर साम्पाङलाई राजीनामा दिएर पुनः चुनाव लड्न चुनौती दिएका छन् । एक वर्षसम्म मेयरको पेलान सहेको भन्दै अब सहेर नबस्ने उनीहरूको प्रतिक्रिया छ । वडाध्यक्षहरूले आफूहरूले विधि र प्रक्रियाको कुरा गरेको तर मेयरले प्रक्रियाभन्दा बाहिर गएर धाकधम्की दिएको आरोप लगाएका छन् ।

वडा–१७ का वडा अध्यक्ष सूर्यबहादुर भट्टराईले उपमहानगरपालिकाको विवाद मेयर हर्क साम्पाङसँग वडाध्यक्षहरूको व्यक्तिगत नभई विधि, प्रक्रिया, पद्धति, विभेद र न्यायको लडाइँ भएको बताए । वडाध्यक्षहरूलाई राजीनामा माग्ने मेयरले आफैँ राजीनामा दिएर चुनावमा भिड्न उनले चुनौती नै दिएका छन् ।

मेयर साम्पाङले बोलाएको बैठकमा धरानको विकासको एजेन्डा नहुने भन्दै वडाध्यक्षहरू बैठकमा नजाँदा विकास प्रभावित नभएको वडाध्यक्ष भट्टराईको जिकिर छ । तर विवाद मिलाउन कोशिस गर्नुपर्ने बेला मेयर साम्पाङ फेरि हौसिँदै सम्पत्ति छानबिन गर्ने भन्दै वडा अध्यक्षहरूलाई चेतावनी दिएका छन् ।

मेयर साम्पाङ आफ्नो बोली र व्यवहारको कारण एकपछि अर्को विवादमा पर्दै आएका हुन् । जनतालाई विकाससँग जोड्न श्रम संस्कृतिको लहर ल्याएर प्रशंसा बटुले पनि सामाजिक सञ्जालमा सक्रिय रहने उनी अमर्यादित र अशोभनीय शब्दचयनले बेला बेला विवादमा पर्ने गरेका छन् । उनको बोली र सामाजिक सञ्जालको लेखाइले कार्यपालिका बैठकसमेत प्रभावित हुने गरेको छ । उनको सचिवालयमा कार्यरत स्वकीय सचिव भनिएका सुदर्शन लिम्बुले वडा अध्यक्षहरूलाई योजना तथा कार्यक्रमको सूची पठाउन पत्राचार गरेपछि विवाद सुुरु भएको हो । बैठकमा गल्ती स्वीकार गरेर माफी माग्न र लिम्बुलाई कारबाही गर्न माग भए पनि मेयर साम्पाङले अस्वीकार गर्दै बैठक स्थगित गरेपछि विवाद नरोकिएको हो । (प्रशिक्षार्थी)

प्रतिक्रिया