समाजवादी मोर्चा बनाउने प्रचण्ड-माधवको घोषणा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले छिट्टै समाजवादी मोर्चा घोषणा गर्ने तयारी भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी)ले आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनः उपलब्धि, चुनौती र सम्भावना विषयक बिचार गोष्ठीलाई सम्बोधन गदै अध्यक्षद्धय प्रचण्ड र नेपालले समाजवादी मोर्चा गठनको तयारी भएको र छिट्टै घोषणा गरिने बताएका थिए ।

प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा भने, ‘केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ र त्यहीँबाट कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुविकरणतिर जानेछौं । त्यो मोर्चाले नेकपातिर फर्किनका लागि सबैलाइ अपिल गर्नेछ ।’ उनले यसो भनिरहदा दर्शकादीर्घाबाट तालीको फोहोरा छुटेको थियो ।

२०७५ साल जेठमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकता भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । तर, यसमा नाम सम्बन्धी विवाद परेपछि सर्वोच्च अदालतले नेकपाको एकता भंग गरिदिएकाले दुई पार्टी अलग भएका थिए । त्यसपछि फेरि माधव नेपालको नेतृत्वमा एमाले भित्र बिद्राह भएर नेकपा (एकीकृत समाजवादी) बनेको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका प्रचण्डले सम्बोधनका क्रममा भने, ‘नेपालमा कम्युनिस्ट आन्दोलनको विस्तार ब्यापक रुपमा भएको तर, कम्युनिस्ट पार्टीहरु अलग अलग हुँदा जनता र राष्ट्रले गरे जस्तो अपेक्षा पूरा नभएको र कम्युनिस्ट पार्टीले पनि जनताको चाहना अनुसारको परिणाम दिन सकेको छैन । जनताको चाहना र आवश्यकताका आधारमा अब समय आयो । कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गरौं ।’

विगतको नेकपालाई आम कार्यकर्ता र बहुसंख्यक जनताले अनुमोदन गरेपनि नेतृत्वका कारण जोगाउन नसकिएको उनले स्वीकार गरे । नेकपा विभाजनका कारण र कम्युस्टि एकताका बारेमा उनले बोली रहदा ताली बजिरहेको थियो । उनले कम्युनिस्ट एकतामा जोड दिदै भने, ‘व्यक्तिवादका कारण तत्कालिन नेकपाको एकता टिक्न नसकेको हो ।’ प्रचण्डले नेकपाको एकता टिक्न नसक्नुको कारण सुनाए,‘कम्युनिस्ट पार्टीलाई जनवादी आधारमा ब्यापक छलफल र बहसको बीचबाट एकता पैदा गर्ने रुपमा लिएर जान पथ्र्यो । तर, एउटा नेताको आदेशमा चल्ने, समूहको रुपमा वा एउटा गिरोहको रुपमा लिएर जान खोज्दा विवाद सुरु भयो र त्यो संघर्षको परिणाम आज हामी यो ठाउँमा छौं ।’

‘आत्मनिर्भर अर्थतन्त्रका योजना, नीति अगाडि बढाउँदै लैजान पर्नेमा तत्कालिन नेकपाको मूल नेतृत्वले दलाल पुँजीवाद या सामन्तवादका अवशेषहरुसँग सम्झौता गरेर दालाल पुजीँवादलाई बढावा दिन खोज्यो हामी त्यसका बिरोधमा लडदै आएका छौं’ प्रचण्डले भने ।

सम्बोधनका क्रममा पटक पटक कम्युनिस्ट एकतामा जोडदिएका उनले वामपन्थी एकता र आवश्यकता रहेको बताए । ‘हामी भनिराखेका छौं नेकपातिर नै फर्किनुपर्छ,आउनुहोस् बसौं सबै, बिना आग्रह र पूर्वाग्रह समीक्षा गरौं । एकताको फेरि नयाँ एउटा पहल सुरु गरौं । यसका लागि समाजवादी मोर्चा हुँदै अगाडि बढ्न सकिन्छ,’ उनले भने ।

कार्यक्रममा अध्यक्षता गर्ने क्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दै विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिटै समाजवादी मोर्चा बनाएर अघि बढने बताए ।

‘हाम्रो पार्टीले बाम–समाजवादी शक्तिहरुसँग सहकार्यको नीति अघि सारेको छ । अझ अगाडि बढेर समाजवादी मोर्चा निर्माण गर्ने सोच पनि अगाडि सारेको छ’ अध्यक्ष नेपालले भने, ‘छिट्टै हामी समाजवादी मोर्चा घोषणा गरेर हामी जनताका सामू प्रस्तुत हुन गईरहेका छौं ।’ विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोचहरु मिल्यो भने पार्टी एकता नै गरेर अगाडि बढिने उनले बताएका थिए ।

पूर्वप्रधानमन्त्री नेपालले भने, ‘नेपालको राजनीतिको तस्वीर हेर्नुस् । विभिन्न पार्टीहरुतिर यसो नजर घुमाउनुस । तपाईलाई आशा दिने शक्ति एउटै मात्रै छ । त्यो हो कम्युनिष्ट पार्टी । कम्युनिष्ट आन्दोलन । त्यसो हुनाले समाजवादको दिशामा अघि बढाएर लैजानका लागि कम्युनिष्टहरु एकतावद्ध हुन आह्वान गर्दछु ।’

नेपालले अहिलेसम्म पाएको सफलताको श्रेय कम्युनिस्ट पार्टीलाई जाने बताए । छरिएका र बिचार मिल्नेका बीचमा एकताको आवश्यक रहेकोमा उनले जोड दिएका थिए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरूले वर्ग छुट्ट्याउन नसके सही ठाउँमा पुग्न नसकिन टिप्पणी गरे ।

उनले ०७५ जेठमा तत्कालिन एमाले र माओवादी बीच भएको एकतालाई टाउको जोडिएको शरिर अलग रहेको बताए । उक्त एकतालाई उनले सत्तामा जाने भ¥याङ मात्रै बनाएको बताए । ‘त्यो एकता बिचार, सिद्धान्त, र नीतिका आधारमा थिएन, मात्रै बालुवाटार कसरी छिर्ने भन्ने स्वार्थमा थियो,’ नेता खनालले भने, ‘अबको एकता यी सबै चीजहरु हेरेर विचारमा आधारित भएर गरिनु पर्छ ।’

प्रतिक्रिया