राष्ट्रपति पौडेल भारतमा

यतिबेला राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि भारतको अस्पतालमा छन् । उनलाई आइसियुमा राखिएको राष्ट्रपति कार्यालयका कर्मचारीहरुले जनाएका छन् । राष्ट्रपति कार्यालयले प्रवाह गरेको समाचार अनुसार पौडेलको स्वास्थ्य अवस्था निकै जटिल भएका कारण आइसियुमा राखिएको होइन , प्रोटोकल तथा सुरक्षालाई ख्याल गर्दै , जो पायो त्यही व्याक्तिको पहुँच नहोस भन्नाका लागि आइसियुमा राखिएको हो । राष्ट्रपति पौडेल उपचाररत अस्पताल भारतको नाम चलेका राम्रा अस्पतालमध्येमा पर्छ ।

भारतीय चिकित्सकहरुले उहाँको उपचारका लागि कुनै कसर बाँकी नराख्लान भन्ने भरोषा गर्नु बाहेक अर्को बिकल्प छैन । किनकी अस्पतालमा भएको बिरामी कसको नियन्त्रण तथा निगारनीमा हुन्छ ? भन्ने कुरा सबैलाई थाह नै छ । यसैगरी कसको नियन्त्रण तथा निगरानीमा रहेको अस्पतालको आइसियु कोठा भित्र हाम्रा राष्ट्रपति छन् ? भन्ने कुरा पनि सबैलाई थाह नै छ । राष्ट्रप्रमुख भनेको देशको सर्वोच्च धरोहर हो । तर कहिलेकाहीँ गरिव , अविकसित देशका लागि यस्तो दुर्भाग्यपूर्ण अवस्था पनि आउँदो रहेछ कि , देशको सर्वोच्च धरोहर राष्ट्रप्रमुख अर्काको देशको अस्पतालमा बस्नु पर्ने । कुनै सार्वभौम देशका लागि यहाँ भन्दा ठूलो दुखदायी पिडा अर्को के हुनसक्ला ? हामी कति सम्म कमजोर र निर्लज्ज रहेछौँ ? राष्ट्रपतिको स्वास्थ्य उपचार समेत स्वदेशमै गराउन सक्ने अवस्थामा हामी रहेनछौँ ।
राणाहरुले केही पनि गरेनन् भन्दै २००७ सालमा राणा शासन फालिएको हो ।

पंचायतकालमा केही पनि भएन भन्दै २०४६ सालमा राजाको सक्रीय शासन फालिएको हो । कांग्रेस , एमाले , माओवादी लगायतका पार्टीका जननिर्वाचित नेताहरुले शासन सत्ता संहालेको पनि ३४ वर्ष पुगिसकेको छ । यो अवधीमा नेपालका कुन कुन क्षेत्रमा के कति प्रगति भयो ? भन्ने प्रश्नका उत्तरहरु आफ्नो ठाउँमा होलान् , तर स्वास्थ्य उपचारको क्षेत्रमा यो ३४ वर्षको अवधिमा के कति प्रगति भयो ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने शीर निहु¥याउनु पर्ने अवस्था उत्पन्न भएको छ । राष्ट्रपति पौडेललाई स्वास्थ्य उपचारका लागि भारत लगिएको घटनाले धेरै कुरा उजागर गरिसकेको छ । राणाहरुले राम्रो काम गर्न सकेनन् , राजाहरुले खराव गरे भनेर आरोप लगाउने नैतिकता हाम्रो मुलुकका राजनीतिकदलका नेताहरु सँग रहेन । २००३ सालमा प्रधानमन्त्री पद्मशमशेर राणाले पनि तत्कालिन राजा त्रिभुवन शाहलाई स्वास्थ्य उपचारका लागि भारत लगेका थिए । आज ७७ वर्ष पछि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि राष्ट्रपति पौडेललाई उपचारका लागि भारत पठाएका छन् ।

जब सम्म राष्ट्र प्रमुखको स्वास्थ्योपचार स्वदेशमा गर्न सकिने अवस्था रहँदैन तबसम्म नेपालमा अस्पतालहरुको संख्या यति पुग्यो , डाक्टरहरुको संख्या यति पुग्यो भनेर भाषण गर्नु भनेको केबल ‘भँडास’ पोख्नु मात्रै हो । राणाहरुले बनाई दिएको वीर अस्पताल , राजाहरुले बनाइ दिएको त्रिवि शिक्षण अस्पतालहरु छँदै छन् । राजाहरुले बनाइ दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मज्जाले संचालनमा आइरहेको छ । यदी नेपालमा दक्ष चिकित्सक छैनन् भने विदेशबाट चिकित्सक बोलाएरै भए पनि राष्ट्रपति पौडेलको उपचारको प्रवन्ध स्वदेशमै मिलाईएको भए देशको शीर यतिविधि निहुरिने थिएन , जनताको आत्मावल यतिविधि गिर्ने थिएन । तीन वर्ष अघि तत्कालिन प्रधानमन्त्री केपी ओलीको मृगौला स्वदेशमै प्रत्यारोपण गरिएको थियो । दोस्रो पटक मृगौला प्रत्यारोपण गर्नु भनेको चिकित्सकीय क्षेत्रको ज्यादै जटिल प्रविधि हो । जुन काम नेपालमा संभव रहेछ भन्ने उदाहरण तत्कालिन प्रधानमन्त्री ओलीले प्रस्तुत गर्दा नेपाली जनताको आत्माबल बढेको थियो ।

त्यो आत्माबलमा अहिलेको सरकारले चीसो पानी खन्याएको छ । पछिल्ला वर्षहरुमा सरकारी स्तरमा नेपाल भारत बीच संवन्ध राम्रो छैन भन्ने कुरा बुढो उमेरका बिरामी राष्ट्रपतिले हेक्का राख्न नसक्नु स्वभाविकै हो । प्रधानमन्त्री प्रचण्डले हेक्का राख्नु पथ्र्यो । मानिसको शरीर भित्र जासुसी उपकरणहरु सजिलै फिट गर्ने प्रविधि आइसकेको छ । आफ्नो शरीरमा जासुसी संयन्त्र फिट गरिएको मानिसलाई थाह हुँदैन । अर्को कुरा राष्ट्रपति पौडेलको उपचार अवधी लम्बियो भने यही बैशाख २३ गते हुन गइरहेको बेलायतका राजाको राज्यभिषेक जस्तो ऐतिहासिक समारोहमा नेपालको समकक्षी प्रतिनिधित्व छुट्छ । प्रतिनिधित्व छुट्ने वा नछुट्ने कुरा यतिबेला नेपालको नियन्त्रणमा छैन । भारतको नियन्त्रणमा पु¥याइएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्य शिघ्रातिशिघ्र लाभ होस् ।

प्रतिक्रिया