उम्मेदवारलाई टुरिष्टको आरोप

बारा–२ कस्ले मार्ला बाजी ?

काठमाडौं । उप–निर्वाचनको दिन नजिकीदै गर्दा बारा– २ को चुनाव रोचक बन्दै गएको छ । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि उक्त सिटमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।


निर्वाचन आयोगले बारा–२ सहित देशका ३ क्षेत्रमा निर्वाचन गराउन लागेको भए पनि बारा – २ बढी चर्चामा छ । यस क्षेत्रमा पाँचदलीय सत्ता गठबन्धनका तर्फबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेका छन् । उनी मंसिर ४ मा भएको निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । निर्वाचन हारे पछि आफू उम्मेवार बन्ने उद्देश्यले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाएको चर्चा यसअघि नै चलेको थियो । यसलाइ उनले व्यवहारमा पुष्टि गरेका छन । यादवको पक्षमा सत्ता गठबन्धनका सबै दल सक्रिय भएर लागेका छन् । नेकपा (एकीकृत समाजवादी)का माघवकुमार नेपाल उनको निर्वाचन क्षेत्र पुगेर आएका छन् । यस्तै प्रधनमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि बारा–२ जाने चर्चा छ ।

उता निर्वाचनको मुखमा माओवादी केन्द्रीय सदस्य शिवचन्द्र कुशवाह माओवादी छोडेर जनमत पार्टीबाट उम्मेदवार बनेका छन् । उनी मंसिर ४ को निर्वाचनमा वर्तमान उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग ३५४ मतले पराजित भएका थिए । मंसिर ४ को निर्वाचनमा झिनो मतले चुनाव हारेकाले यसपटक आफू जित्नेमा उनी ढुक्क छन् । उनी रामसहाय यादव उपराष्ट्रपतिको उम्मेदवार हुनासाथ निर्वाचनको तयारीमा लागेर जनताको घरदैलोमा जान थालिसकेको थिए । उनले अरु सबै उम्मेदवार क्षेत्र बाहिरका रेकाले पनि आफू जित्ने दाबी गरेका छन् ।

संविधानसभा सदस्यसमेत रहेका कुशवाहाले टिकटका लागि निर्वाचनको मुखमा पार्टी फेरे लगतै मधेसमा माओवादी कमजोर हुनुको मुख्य कारण पार्टी अध्यक्ष नै भएको आरोप लगाएका छन् । उनै कुशवाह २०७० को निर्वाचनमा माओवादीबाट टिकट नपाएका कारण राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टीबाट निर्वाचन लडेका थिए । उक्त निर्वाचन हारे पछि फेरि माओवादी फर्किए । राजनीतिमा अवसरको पछि लाग्ने छवी बनाएका उनलाई यो निर्वाचन भने सहज छैन । बारा–२ मा कुशवाहाको राजनीतिक जग पुरानो भए पनि सिके राउतको पार्टीबाट उम्मेदवार बनेका कारण उनलाई जित हासिल गर्न त्यति सहज देखिएको छैन । मंसिर ४ को निर्वाचनमा सो क्षेत्रमा जनमत पार्टीको मत जम्मा २ हजार ७२५ मात्रै थियो । यस्तै अस्थिर राजनीतिक छवीले पनि उनलाई असहज बनाएको छ ।

त्यसै गरी यस क्षेत्रमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल पनि उम्मेदवार छन् । उनी २०४८ सालदेखि पटक पटक क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्दै आएका थिए । गएको मसिंर ४ को निर्वाचनमा पार्टीबाट टिकट नपाएका उनलाई उपनिर्वाचनमा उम्मेदवार बनाइएको छ । यसै पनि एमालेका लागि जिल्लाको ४ वटा निर्वाचन क्षेत्र मध्ये यो कमजोर क्षेत्र हो । पूर्वमन्त्री समेत रहेका पौडेललाई निर्वाचन हार्ने भएकाले टिकट दिइएको उनी निकटको टिप्पणी छ । ‘उनको घर क्षेत्र नम्बर १ मा पर्छ यस अघि ३ बाट पटक पटक अवसर लिए । अहिले मकनावपुर बस्छन् चुनाव लडन यहाँ आए ।’ स्थानीयको गुनासो छ ।

मंसिर ४ को निर्वाचमा टिकटको आकांक्षा राखे पनि उनले टिकट पाएनन् । बरु उनको रोजाइको क्षेत्र नम्बर ३ मा माओवादी छोडर एमालेमा लागेकी उनकै कार्याकर्ता ज्वाला साहले टिकट पाइन् । ज्वाला पौडेल भन्दा निकै कनिष्ट नेता हुन् । अहिले भने एमालेका लागि उपयुक्त उम्मेदवार नभेटिएको र क्षेत्र पनि कमजोर भएकाले पौडेललाई टिकट दिइएको भन्ने पौडेल निकटहरुको गुनासो छ ।

यसैगरी यस क्षेत्रमा पूर्व डिआजी रमेश खरेल रास्वपाबाट उम्मेदवार छन् । उनी आफै अध्यक्ष रहेको नेपाल सुशासन पार्टीबाट गत मसिंर ४ को निर्वाचनमा काठमाडौ– १ बाट पराजित भएका थिए । उनको लागि बारा सहज छैन् । उसो र रास्वपाको जग बारामा त्यति राम्रो नभएको र उनी यहाका लागि नयाँ अनुहार भएकाले पनी उनलाई गाह्रो छ । उनको पक्षमा माहौल बनाउन रास्वपाका अध्यक्ष रवी लामीछाने पटक पटक बारा पुगेका छन् ।

सत्ता गठबन्धनले भने बारा–२ मा उपेन्द्र यादवले जित्ने पक्का ठानेको छ । पहिला पनि उनैको पार्टीको उम्मेदवारले जितेको र योपटक सत्तामा रहेका ठूला दल नेपाली कांग्रेस, माओवादी, र नेकपा (एकिकृत समाजवादी) र लोसपाको साथ रहेकाले जित निश्चित रहेको गठबन्धनका एक नेताले दाबी गरे ।

यस निर्वाचन क्षेत्रमा पार्ने स्थानीय तह मध्ये करैयामाइ र देवताल गाउँपालिका जसपाले जीतेको छ । गढीमाइ नगरपालिका कांग्रेसले जितेको हो । यस्तै पचरौता नगरपालिका एमालेले जितेको छ । यसरी हेर्दा पनि गठबन्धनका उम्ेदवारलाई जित्न सहज देखिन्छ । अर्को तर्फ मंसिर ४ मा टिकट नपाएका कारण बिद्रोही उम्मेदवार बनेका जसपाका नेता राजकिशोर यादव पनि जसपा फर्किएका छन् । उक्त निर्वाचनमा उनी तेस्रो स्थानमा थिए ।

उपेन्द्र यादव निकै सुझ बुझका साथ जीत्ने आधार देखेर र बारा–२ को उपनिर्वाचनमा होमिएको उनी निकट बताउछन् । अहिलेसम्मको अवस्थाले पनि त्यही देखाउँछ ।

टुरिष्ट उम्मेदवार !

यस क्षेत्रका प्राय सबैजसो उम्मेदवारलाई टुरिष्टको आरोप लाग्ने गरेको छ । खास गरि जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले निर्वाचनको मुखमा पार्टी फेरेको आरोप ओझेल पार्न अरु प्रतिष्प्रधिलाई टुरिष्ट भन्ने गरेको बुझाइ अन्य उम्मेदवारको छ । कुशवाहले आफू यहाँको धरती पूत्र भएको र अरु सबै बाहिरबाट आएका टुरिष्ट भन्ने गरेका छन् ।

उनले आरोप लगाए जस्तै जसपाका अध्यक्ष उपेन्द्र यादव, एमाले नेता पुरुषोत्तम पौडेल र रास्वपाका नेता रमेश खरेल क्षेत्र बाहिरका हुन । निर्वाचनमा मुख्य प्रतिस्प्रर्धा पनि यीनै चार नेताका बीचमा देखिन्छ ।

प्रतिक्रिया