पर्सा । पर्सा प्रहरीले प्रेस लेखिएको गाडीबाट लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज–१६ स्थित रजतजयन्ती चोकबाट प्रहरीले टी मिडिया प्रालिद्वारा सञ्चालित निगरानी अनलाइन डटमको प्रेस लेखिएको गाडीबाट प्रतिबन्धित लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ निवासी गोपाल स्याङतान रहेको पर्सा प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले जानकारी दिए ।
डिएसपी बुढाथोकीका अनुसार स्याङतानले चलाइरहेको बा ७ च ४६४२ नम्बर भएको सेन्ट्रो कारबाट २४० थान नाईट्रोभेट ट्याब्लेट, १०० एमएलको १९८ बोत्तल ओनेरेक्स र नेपाली ६५ हजार रुपैयाँ नगदसहित उनलाई नियन्त्रणमा लिइएको छ ।
सिमावर्ती भारतीय शहर रक्सौलबाट नेपाल आएको गाडीमाथि शंका लागेर प्रहरीले रोकी चेकजाँच गर्दा लागूऔषध र नगद भेटिएको उनले बताए । स्याङतानको साथबाट निगरानी अनलाइनद्वारा जारी गरिएको प्रेस कार्ड पनि भेटिएको उनले बताए ।
लागूऔषध र नगदसहित स्याङतानलाई नियन्त्रणमा लिएर उनिमाथि लागूऔषधसम्बन्धी मुद्दा चलाई अदालतबाट म्याद थप गर्ने प्रक्रिया अगाडि बढाइएको बुढाथोकीले बताए । निगरानी अनलाइन डटकम हेटौँडा मूख्य कार्यकाल भएको टी मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित छ ।
मिडियाका अध्यक्ष आदर्श सिंह थोकरले स्याङतान आफ्नो सञ्चार संस्थामा कार्यरत नरहेको जानकारी दिए । स्याङतानले नक्कली प्रेस कार्ड बनाएर दुरुपयोग गरेको थोकरले स्पष्ट पार्दै भने, ‘हाम्रो मिडिया हाउससँग कुनै गाडी छैन, गोपाल स्याङतान भन्ने व्यक्तिसँग चिनजान भए पनि उनि निगरानी अनलाइनमा कार्यरत छैनन्, नक्कली कार्ड बनाएर दुरुपयोग गरेका छन्, म यस विषयमा बुझ्दै छु ।’
थोकरका अनुसार निगरानी अनलाइनमा कार्यरत कर्मचारीहरुसँग नेपाल सरकारद्वारा जारी गरिएको प्रेस कार्ड मात्र छ ।
पर्सा
प्रतिक्रिया