गड्यौला मल उत्पादनमा कृषकहरुको आकर्षण बढ्दै

धनगढी । गड्यौला मल उत्पादनमा कृषकहरुको आकर्षण बढ्न थालेको छ । कम लगानीमै उत्पादन गर्न सकिने भएकाले पछिल्लो समय कृषकहरु गड्यौला मल उत्पादनमा लागेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–५ जाँइका रामकिसुन चौधरीले गड्यौला मल उत्पादन गर्दै आएका छन् । उनले दुई वर्ष अगाडिबाट गड्यौला मल उत्पादन गर्न थालेका हुन् ।

दुई वर्ष अगाडि कृषि विकास निर्देशनायलयको ८५ प्रतिशत अनुदानमा १ लाख ८६ हजारमा भर्मी पिट निर्माण गरी गड्यौला मल उत्पादन गर्न थालेको उनले बताए । रामकिसुनले अहिले गड्यौला मल र गड्यौला बिक्रिबाट राम्रै आम्दानी पनि गर्न थालेका छन् ।

गड्यौला मलको प्रयोगले उत्पादन बढाउने भएकाले किसानले गड्यौला मल प्रयोग गर्न थालेको उनले बताए । उनले भने, ‘गड्यौला मल सस्तो हुन्छ,उत्पादन बढाउँछ,जग्गाको माटो बिग्रिदैन त्यसैले गड्यौला मलको प्रयोग बढेको छ ।’

रसायनिक मलले उत्पादन पनि घटाउने, महंगो पनि हुने, मल अभाव पनि हुने भएकाले किसानले गड्यौला मलको प्रयोग बढाएको उनले बताए । किसानहरुले गड्यौला मलको प्रयोग बढाएसँगै रामकिसुनलाई अहिले मलको माग धान्नै मुस्किल परेको छ । उनले भने, ‘एग्रोभेट, फूल नर्सरी, किसानले मल मागिरहेका छन्, तर पुर्याउन सकिएको छैन्, मलको माग बढेको छ ।’

‘यसअघि मल उत्पादन कम थियो, यसपटक मल उत्पादन पनि बढाएको छु, एग्रोभेट, फूल नर्सरीलाई पनि मल दिने योजनामा छु’, उनले भने, ‘अहिलेसम्म प्रायः तरकारी,फूलमा प्रयोग गर्नेले मल लैजाने गरेका छन ।’ मल प्रति केजी ३५ रुपैयाँ र गड्यौला प्रति केजी १ हजार दुई सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए ।

‘सुरुको वर्ष गड्यौला पनि कम थियो मल उत्पादन पनि कम थियो, गत वर्ष १० क्विन्टल मल र १५० किलो गड्यौला बेचेको थिएँ’, रामकिसुनले भने, ‘यो वर्ष मल उत्पादन र गड्यौला पनि बढी छ, यसपटक १५ क्विन्टल मल र ५ क्विन्टल गड्यौला बेच्ने तयारीमा छु ।’

उनी भन्छन्, ‘किसानले चाहे यो मल राम्रो छ, उत्पादन गर्न पनि सजिलो छ, लगानी कम छ,गाई भैँसी पाल्ने किसानलाई गड्यौला मल उत्पादन गर्न झन सजिलो छ गोबर किन्नु पर्दैन् ।’ उनले थपे, ‘प्लास्टिकले बेरेर सामान्य टनेल बनाएर पनि मल उत्पादन गर्न सकिन्छ ।’ अहिले केही अरु किसानहरुले पनि मल उत्पादन गर्न लागेको उनले बताए ।

२०७५ सालमा सुनाखरी बहुउदेश्यीय कृषि फर्म सञ्चालन गरेर तरकारी खेती गर्दै आएका रामकिसुनले उत्पादन गर्ने बेर्नामा पनि गड्यौला मल प्रयोग गरी उत्पादन गर्ने गरेका छन् । करेला, लौका, काक्रा, खुर्सानी, टमाटर, भेन्टा,काउलीलगायतका बेर्ना उत्पादन गर्ने गरेको उनले बताए ।

‘यी सवै बेर्ना, तरकारीहरुमा गड्यौला मल नै प्रयोग गर्छु’, उनले भने, ‘गड्यौला मल प्रयोग गरेर उत्पादन गरेको तरकारी स्वास्थ्यका लागि पनि राम्रो छ ।’ उनले बेर्ना बिक्रि बाट मात्रै वार्षिक ३ लाखसम्म आम्दानी गर्ने गरेको बताए । रामकिसुनले झण्डै २२ कठ्ठा जमीनमा तरकारी खेती तथा बेर्ना उत्पादन गर्दै आएका छन् । रा

मकिसुनले केही दिनअघि मात्रै कृषि विकास निर्देशनालय दिपायललबाट बेमौसमी तरकारी खेती र गड्यौला मल उत्पादन तर्फ जिल्ला स्तरीय ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कार समेत पाएका छन् ।

प्रतिक्रिया