जाडो महिना सुरु भएपछि सबैभन्दा रमाइलो पल भनेकै घुम्न जानु हो । जाडो महिना त्यहिमाथि हिउँ खेल्नु ओ हो … ! मज्जा नै बेग्लै छ । काठमाडौंबाट हिउँ खेल्न प्रायः मान्छेहरू चन्द्रागिरि जान्छन् । शिवपुरी पुग्छन् । नगरकोट तथा फूलचोकी डाँडामा उक्लछन् । हामी पनि प्रकृतिको सुन्दरतासँग घुलमिल हुन सुजन तामाङ, राम रावल, दिनेश नेपाली, विमल विश्वकर्मा र म समेत पाँच जनाको टोली ०७६ सालको पुस १५ गते दुई दिनका लागि लाग्यौँ सिन्धुपाल्चोकको आमा याङरीतर्फ ।
घुम्न जानका लागि हामीले १४ गते नै तयारी गरिसकेका थियौँ । त्यसैले हामी बिहानको सात बजे गोकर्णेश्वर नगरपालिका–७ स्थित माकलबारीबाट बस चढ्यौँ । बस थली, डाँछी, साँखु हुँदै जरसिङपौवातिर हुइँकियो । हामी बसमा आजको आनन्दको बारेमा साथीसँग रमाइलोमै मस्त थियौँ । मन मिल्ने साथीहरूसँग मिलेर घुम्न जानुको मज्जा नै बेग्लै थियो । मौसम सफा भएकोले जरसिङपौवाबाट देखिएको हिमाल तथा त्यसमा भएको हिउँ देख्दा झन् उत्साहित भयौँ । साथीहरू हिमाल देख्नासाथ जोसिन थाले । सुजनले झोलाबाट स्पिकर निकाल्यो र बजाउन थाल्यो । स्पिकरमा कहिले नारायण गोपालको गीत बज्थ्यो भने कहिले आधुनिक पप तथा ¥याप गीत घन्कन्थ्यो । राम रावलले खाजाको लागि रोटी र तरकारी बोकेको रहेछ बसमै सबै मिलेरे खायौँ ।
हनुमानले रामलाई काँधमा बोके झैं गरी बसले हामीलाई पनि बोकेर दौडिँदै थियो । अचानक बस रोकियो । सबैजना ओर्लिन थाले । हामी के भएको होला भनी कूतुहलतापूर्ण भावमा थियौँ । त्यतिकैमा दिसापिसाब गरौँ भन्ने खबर आयो । बल्ल बस रोकेको थाहा भयो । हामी पनि बसबाट ओर्लियौँ । शौचालय होला भनी यताउति हेर्यौँ, देखेनौँ । नदेखेपछि नजिकै रहेका झाडीको छेको लिएर हामीलगायत अन्य यात्रीले पिसाब फेर्यौँ । महिलाले भने अलि सरम लागेजस्तो गरे पनि यताउति नहेरी पिसाब फेर्दै थिए । प्राकृतिक कुरा रोक्न पनि सकिन्न नि, होइन र !
सबैजना बसमा चढ्यौँ । देशलाई खुला दिसामुक्त बनाउने भनेर सरकारले बेलाबेलामा बोलेका कुरा मनमा खेल्न थाले । कम्तिमा यस्ता लामो तथा छोटा दुरीका राजमार्गका ठाउँठाउँमा सार्वजनिक शौचालय भएको भए यात्रुलाई सहज त हुन्थ्यो । खैर नेपालको कानुन दैवले जानुन भन्दै हामी रमाउनमै मस्त भयौँ । बसले कहिले उकाली, ओराली तथा कहिले घुमाउरो त्यसमाथि कच्चीबाटोमा भएका खाल्डाखुल्डी पार गर्दै मेलम्ची बजार पुर्यायो ।
मेलम्ची सफा खोला, कञ्चन पानी, सफा ठाउँ तथा सानो भए पनि व्यवस्थित बजार भएको सहर रमाइलो लाग्यो । हामीले बिहानको खाना त्यहिँ खायौँ । अनि खाजाका लागि चाउचाउ, चिसो, बिस्कुट तथा मुख रसाउनका लागि केही चक्लेट किनेर हाम्रो यात्रा सुरु गर्यौँ । मध्याह्नको साढे १२ बजेको होला हामी माथिल्लो बरुवाको बसमा चढ्यौँ । गाडी प्राकृतिक छटाका खोला, वनजंगलमा सुसेल्दै उकालो लाग्यो ।
अपरान्हको चार बजेतिर हामी बासखर्कको नेवार टोल पुग्यौँ । अब पूरा बाटो उकालो चढ्नु थियो । राम पहाड देख्दा औँधि खुसी भयो । जोस हामीमा भरिभराउ थियो । समयलाई ख्याल गर्दै हामी किनेको चाउचाउ र सँगै पानी पिउँदै उकालो लाग्यौँ । चिसो सिरेटोले जाडो बनाएको थियो । बाटामा कतै जस्ताले छाएका त कुतै पक्की ढलान गरेका घरहरू थिए भने कतै बन्दै थिए । पहाडको काखमा बसेको नेवार बस्ती सुन्दर देखिन्थ्यो ।
उकालो हिँडेको करिब डेढ घण्टापछि प्रकृतिको रमणीयस्थल हेलम्बू आइपुग्यौँ । त्यहाँबाट नै हामीलाई हिउँले स्वागत गर्न थाल्यो । हिउँको सेतोपना देखेर हामी सबै खुसीले रमाउन थाल्यौँ । त्यहाँबाट पनि हामीलाई धेरै माथि जानु थियो । उकालो बाटोमा हामी एकआपसमा जिस्कँदै, कहिले गीत गाउँदै, शरीरमा जोस निकाल्दै आमा याङरीको उकालो ठस्ठस् गदैँ उक्लिरह्यौँ ।
खाजाको निम्ति खाएको चाउचाउ, बिस्कुट त्यसमाथि उकालो यात्राको थकाइले गलित हामी तिर्खाले व्याकुल थियौँ । भएको पानी सकिएको थियो । पानीका लागि यताउति झरना खोज्यौँ भेटेनौँ । किन्नका लागि पसल थिएन । बाटोमा भेटिएको हिउँलाई बोतलमा हाल्यौँ र पग्लेपछि त्यहि खाएर प्यास मेटायौँ ।
हिउँसँगै जुट्दै, जंगल, बुट्यान, झाडी छिचोल्दै उकालो हिँड्दा हामी सबैको पैताला र पिँडुला दुःखिरहेको थियो । हिउँमा हिँड्दाको आनन्दले हामीलाई सगरमाथा आरोहण गरेजस्तैको आनन्द भने बेग्लै थियो । हिँड्दाहिँड्दै बेलुकाको सात बजिसकेको थियो । बास र गाँसको केही ठेगान थिएन । मोबाइलमा भएको टर्चको उज्यालोमा लखतरान भएको ज्यान सकीनसकी हिँडिरहेको थियो । वरिपरिको अन्धकारले गर्दा सन्नाटा छाएको थियो ।
करिब २० मिनेटको हिँडाइपछि बल्ल घरको बत्ती देखा पर्यो । उक्त बत्तीले मरिसकेको आस पलायो । हतारहतार त्यहाँ पुग्यौँ र बासका लागि अनुरोध गर्यौँ । तर, बास दिनका लागि घरधनीले आनकान गरेपछि हामी खङ्गंगै भयौँ । हामीले पिँडीमै भए पनि बास दिनका लागि अनुरोध गर्यौँ । उक्त अनुरोधपछि गोठ देखाउँदै घरधनीले त्यहाँ जाउ भन्यो । हामी त्यही गोठमा बस्ने निधो ग¥यौँ । बास भएपछि गाँसका लागि सोध्यौँ । यहाँ पाउने आलु हो अरू केही छैन भनेपछि एक पाथी आलु किन्यौँ र गोठतिर लाग्यौँ । राम र दिनेश पहिला नै टाउको दुख्यो भन्दै थिए, गोठमा पुग्नासाथ पत्करमाथि पल्टिए ।
आलु पकाउने जिम्मा हामीमा आयो । आलु उसिनेर खानलाई डेक्ची र पानी थिएन । गोठमा भेडा र चौँरीलाई खोले खुवाउन राखिएको डेक्ची रहेछ । त्यसैमा पकाउने निधो गर्यौँ । अब समस्या पानीको भयो । पानी जमेर सिसाजस्तै भएको थियो । यताउती हेर्दा नजिकै गोठको पूर्वपट्टी पोखरी भेट्टायौँ । माथिको जमेको हिउँलाई ढुंगाले फुटाएर पानी निकाल्यौँ । आलु उसिनेर त्यसैलाई भात, दाल, तरकारी, अचार सम्झेर भोक मेटायौँ ।
सानो ठाउँ, पाँच जना, आगोकै छेउमा ठेलमठेल गर्दै जाडोले गर्दा जुत्ता पनि नखोली सुत्यौँ । थकाइले होला निद्रा पनि मस्त लाग्यो । एकैचोटी चार बजेको मोबाइलको घण्टीले हामीलाई ब्युझायो । जाडोले होला भेडा र बाख्राका पाठा पनि सँगै टाँसिएर सुतेका थिए । गन्तव्यमा पुग्नु थियो, हिजो खाएर बाँकी भएको आलु झोलामा हाल्यौँ र बाटो लाग्यौँ । केही घण्टाको समयपछि हामी आमा याङरी पुग्यौँ ।
समुद्र सतहदेखि ३ हजार ७ सय ७१ मिटरको उचाइमा रहेको आमा याङरी देवीको मन्दिरमा आफ्नै तरिकाले पूजा गर्यौँ । मन्दिर घुमेपछि उज्यालोले वरिपरि देख्न सक्ने भएको थियो । वरिपरि हिमालै हिमाल देख्दा हामी सबै मन्त्रमुग्ध भएका थियौँ । पूवपट्टि सूर्य उदाउँदा सूर्यको पहिलो किरणले हिमाललाई स्पर्श गर्दा चाँदीजस्तो टल्कने हिमाल सुनजस्तै पहेँलो देखिँदो रहेछ । त्यो देख्दा झन् मन्त्रमुग्ध भयौँ । सुनको खानी नजिकै आइपुगेजस्तो लाग्यो । फूललाई झैं टपक्क टिपेर घरमा लैजाउजस्तो पुरै पहाडको चुचुरो सुनकोजस्तो दृश्य जीवनको पहिलोपल्ट देख्दा अचम्मित भयौँ । उकालो चढ्दाको दुःख, आलु मात्र खानुपर्दाको नमज्जा, बाख्राका पाठासँगको सुताइ भुलाइदिने यो दृश्य सम्झँदा अहिले पनि मन प्रफुल्लित हुन्छ ।
हामीले पीर, व्यथा, पीडा, दुःख सबै त्यही डाँडालाई दियौँ । तलतिर हेर्दा बादलका लहर, अँगालोमै आउलाजस्तो हिमाल त्यो देखेर म अचम्मित भएँ । एकदमै राम्रो त्यो ठाउँको बयान गरौँ त कसरी गरौँ । यदि आदिकवि, महाकविले त्यो दृश्य देख्नुभएको भए पक्कै पनि कविता बनाएर आफ्नो मालामा उन्नुहुन्थ्यो होला । अलकापुरी कान्तिपुरी नगरीमा यहाँको नाम लेख्नुहुन्थ्यो होला । जिउँदै स्वर्ग देख्न पाइँदैन भन्ने कुरा अहिले यो दृश्य देख्दा मिथ्या सावित भएको छ । हामीले सुनेको पढेको स्वर्गको राजधानी अलकापुरी भन्दा सयौँ गुना सुन्दरताले भरिपूर्ण दृश्यको अनुभूति यहाँ गर्यौँ । हामी पाँच जनाको सफल यात्रासँगै आमा याङरीको आशीर्वादले दुःख, मिहिनेतको फल पायौँ । त्यही भएर हामी अलि अग्लो ठाउँमा बसेर खुसीले जोडसँगै करायौँ । हिउँ खेल्यौँ, फोटो खिच्यौँ, हिउँलाई डल्ला बनाएर एकअर्कालाई हान्यौँ । अझ मज्जाको कुरा त हिउँमै पछारेर कुस्तीसमेत खेल्यौँ । फर्किने बेलामा सबैले एउटा एउटा लौरो भाँचेर खुसीले उट्पट्याङ गर्दै थियौँ सुजन कम्मरसम्म हिउँभित्र गाडिएछ । हाँस्नलाई बहाना मिल्यो खुब हाँस्यौ र बल्लबल्ल निकाल्यौँ । त्यसपछि हामी सजगतासाथ अगाडि लम्कियौँ ।
केही समयपछि हिजो बास बसेको ठाउँमा पुग्यौँ । त्यहाँ पुगेर नुन चियासँग आलु खायौँ । नुन, जडीबुटी, घिउ र दूध हालेर बनाइको चियाको स्वाद नै बेग्लै थियो । त्यहाँ पैसा तिरेर हामी ओरालो झ¥यौँ । हिँउ भएको ठाउँमा बिस्तारै बिस्तारै र हिउँ नभएको ठाउँमा दौडिँदै, कतै थकाइ मार्दै हेलम्बू आइपुग्यौँ । हेलम्बूमा आइपुग्दा दुई ओटा साँढे एकआपसमा जुध्दै थिए । एकछिन हामीले उक्त दृश्य हेर्यौँ । केही छिनको जुधाइपछि एउटा साँढेको सिङ भाँचियो । सिङ भाँचिएपछि बाँ … बाँ… गर्दै रगताव्य टाउको लिँदै भागेपछि हामी पनि आफ्नो बाटो लाग्यौँ ।
बाँसखर्क नेवार टोल आएपछि चिसो खाएर तल झर्दै थियौँ फोर ह्विल गाडी आउँदै रहेछ । त्यसलाई रोकेर मेलम्चीसँग लिफ्ट मागेर चढ्यौँ । चढेको करिब २० मिनेटपछि मेलम्ची आइपुग्यो । त्यहाँ खाजा खाएर हिजो हिँड्दा दुःखेको पैताला, पिँडुला तथा तिघ्रालाई घरमा गएर आराम दिनका लागि साढे तीन बजेको बसमा थाकेको शरीरलाई बिसाएर काठमाडौँतिर फर्कियौँ ।
प्रतिक्रिया