नाचघरमा नाटक महोत्सव

काठमाडौं । जमलस्थित नाचघरमा जारी तेस्रो संस्करणको ‘बुद्ध थिएटर फेस्टिभल २०२३’ मा बुधबार दुई नाटक मञ्चन भएका छन् । सोमबारबाट सुरु महोत्सव ६२औं विश्व रंगमञ्च दिवसको अवसर पारेर गरिएको हो । गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत प्रस्तुत गर्न र बुद्धका सन्देश विश्वभर फैल्याउन लक्ष्यका साथ महोत्सव गरिएको आयोजक संस्था सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले बताए । उनका अनुसार महोत्सवमा यसपटक ७ वटा नाटक चयन भएका थिए ।

बुधबार दिउँसो १ बजे निकिता गुरुङ निर्देशित नाटक ‘प्रतिविम्ब’ बेलुका ५ बजे गीता थापा निर्देशित नाटक ‘पट्टाचारा’ मञ्चन गरियो । महोत्सवको दोस्रो मंगलबार प्रशान्त बगाले निर्देशनमा ‘थ्रि लाफिङ मंक्स’ मञ्चन भयो । पहिलो दिन मेघा हलमा भएको महोत्सव दोस्रो दिनबाट चौथो दिनसम्म सानो हलमा भइरहेको छ । महोत्सवमा पहिलो दिन नाटक ‘चण्डालिका’ मञ्चन भएको थियो । रविन्द्रनाथ टेगोरको कथामा आधारित यो नाटकलाई माया थापाले निर्देशन गरेकी थिइन् । गीता निर्देशित नाटक पट्टचारामा आफ्नै नोकरको मायाप्रेममा परेकी एक सुन्दरी कन्याको प्रेम, संघर्ष र बुद्धलाई भेटेपछि युवतीमा आएको परिवर्तनको कथा प्रस्तुत गरिएको छ । यस नाटकमा वीरेन्द्र हमालको लाइट डिजाइन रहेको थियो । निर्देशक गीताको सेट डिजाइन, राजेन्द्र कट्टेल र रोशन चन्दको प्रकाश परिचालन र अर्जुन न्यौपानेको ध्वनि परिचालन थियो ।

नाटक पट्टचारामा निशान खत्री क्षत्री, अञ्जली शाह, रमेश देवकोटा, रेखा कटुवाल श्रेष्ठ, सुशील दाहाल, खगेन्द्र बोहरा, पर्वती गिरी, मनिष चौलागाई, वीरेन्द्र बुढामगर, प्रदीप राई, विमला सापकोटा, श्रीकृष्ण शाही लगायतको अभिनय थियो ।

बुधबारै मञ्चन गरिएको अर्को नाटक नाटक ‘प्रतिविम्ब’ मा बाउछोराबीचको प्रेम देखाइएको थियो । छोरा गुम्बा बसेपछि उसमा आएको परिवर्तनको कथा यसमा थियो । नाटकमा टेकविक्रम थापा, अनिषा न्यौपाने, रमेशबहादुर खड्का, मनिष चौलागाई, नरहरि पराजुली, सलिना क्षत्री, सुशीला थापा, पार्वती गिरी, चन्द्रकुमार सरु मगरले अभिनय गरेका थिए । महोत्सवको अर्को आयोजक डबली थिएटरका अध्यक्ष एवम् रंगकर्मी पुष्कर गुरुङका अनुसार बिहीबार वर्षा भण्डारी निर्देशित नाटक ‘पश्चाताप’ मञ्चन गरिने छ । बिहीबार नै सस्मिल मगर निर्देशित ‘अम्रपाली’ पनि मञ्चन हुँदैछ । शुक्रबार समापन हुने महोत्सवमा शुक्रबार वीरेन्द्र हमाल निर्देशित ‘चक्षु’ मञ्चन गरिनेछ । यो पनि बुद्धको उपदेशमा आधारित नाटक रहेको निर्देशक हमालले बताए ।

प्रतिक्रिया