संसदमा राजेन्द्र लिङ्देनको प्रश्न– गणतन्त्रमा कसैलाई राजावादी हुने छुट छैन ?

काठमाडौं । आज बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट छ कि छैन ? भनेर प्रश्न गरेका छन् ।

मंगलबार मिटरब्याज पीडित नागरिकको आन्दोलनमा ऐक्यवद्धता जनाउन जाँदा आफ्नो पार्टीका नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको र त्यसमा सत्तापक्षका दलका कार्यकर्ताको संलग्नता रहेको अध्यक्ष लिङ्देनले बताए ।

उनले भने, ‘एउटा जिम्मेवार राजनीतिक दलको जिम्मेवार नेता पीडितहरुसँग ऐक्यवद्धता व्यक्त गर्न जाँदाखेरि सत्तापक्षीय कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुव्र्यवहार गर्ने प्रयास गरियो, म त्यसको भत्र्सना गर्दछु, म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजाबादी हुने छुट कुनै नागरिकलाई छैन ? ’

अध्यक्ष लिङ्देनले मिटरब्याज पीडितको समस्या ढाकछोप र अलमल्याउने काम नगर्न पनि आग्रह गरे ।

उनले कोशी प्रदेश नामकरणको विरोधमा भइरहेको आन्दोलन मुठभेडतर्फ अघि बढेको भन्दै सरकारले अनदेखा गरिरहेको बताए । ‘पूर्वमा भएको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक नलिँदा मान्छेको ज्यान जाने, घाइते हुने भइरहेको छ’, उनले भने ।

सैद्धान्तिक रुपमा आफूहरु प्रदेश संरचनामा विमति राख्ने भन्दै लिङ्देनले प्रदेश संरचना आर्थिक रुपमा बोझिलो र झञ्झटिलो हुने बताए । ‘हामीले कुनै बेला द्वन्द्व पनि ल्याउँछ भनेका थियौँ, अहिले पूर्वमा त्यही भइरहेको छ’, उनले भने ।

प्रतिक्रिया