प्रभु महालक्ष्मी लाईफको संयुक्त क्यालेन्डर

काठमाडौ । प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले मंगलबार संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन । नेपाल बीमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले दुबै कम्पनीको संयुक्त रुपमा प्रकाशित क्यालेन्डर सार्वजनिक गरेका हुन ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको लागि २०७९ चैत्र भित्र ५०० करोड चुक्ता पूँजी पु¥याउन निर्देशन दिए पछि प्रभु र महालक्ष्मी लाईफ मर्जरको लागि सहमत भएका थिए । २०७९ आषाढ ३० मा मर्जर सम्झौता गरेका दुबै कम्पनीको भारतिय विमांकीबाट मुल्याकन प्रतिवेदन आउन ढिलो भए पछि एकिकृत कारोबार केही ढिलो हुन गएको हो ।

मर्जरको लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा रहेका दुबै कम्पनीको २०८० सालको क्यालेन्डर संयुक्त रुपमा निकाली केही ढिलो भए पनि मर्जर सम्पन्न हुने विश्वास दिलाएका थिए । क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश कुमार लाल, महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया