प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवक जेल चलान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवकलाई जेल चलान गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।

सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई धरौटी नबुझाएपछि केन्द्रीय कारागार चलान गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले धरौटी नबुझाएका कारण उनीहरुलाई जेल चलान गरिएको जानकारी दिए ।

गत ७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री दाहाल सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

त्यस क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया