नेपाल फाईभ पी अन्तर्राष्ट्रिय मेला शुरु

काठमाडौं । नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी मेला शुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको आयोजनामा तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी मेला शुरु भएको हो ।

उक्त मेलाको उद्धघाटन शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरेका छन् । मेलाको उद्घाटन गर्दै थापाले मेलाले नेपालमा नयाँ प्रविधि भित्र्याउन सहयोग गर्ने बताए । साथै उक्त मेलाले नयाँ काम गर्नेहरुका लागि नयाँ बाटो देखाउन मद्दत हुने उनको भनाइ छ ।

मेला यही चैत १२ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा रहने छ । मेलाको प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टल रहेका छन् । नेपाल फाईभ पी देशभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ्सँग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर व्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग– व्यापार विषेश अन्तर्राष्ट्रिय प्रदर्शनी रहेको आयोजक बताउँछन् ।

प्रदर्शनीमा देशभरीबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास लिइएको आयोजकको भनाइ छ ।

प्रदर्शनीमार्फत् ती पाँच विधामा सञ्चालन भएका उद्योग र व्यापार व्यवसायहरूलाई निर्यातका नयाँ अवसरहरु, नवीनतम प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरुबिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् । प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ् मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता थियो ।

प्रतिक्रिया