एन्फाले ’हस्ताक्षर किर्ते गरेर’ बैठक चलाएको आरोप

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को फागुन १७ गते बसेको बैठक अवैधानिक भएको भन्दै बैठकले गरेको निर्णय खारेज गर्न १० केन्द्रीय सदस्यहरूले माग गरेका छन् ।

यसअघि एन्फा मुख्यलायमा बसेको उक्त बैठकमा २१ मध्ये २० सदस्य उपस्थित थिए । त्यसमध्ये उपाध्यक्षत्रय दीर्घबहादुर केसी (कुमार), विराटजंग शाही र दीपक खतिवडा तथा सदस्यहरू भोजराज शाही, रमेश व्यञ्जनकार, रूपेश केसी, रविन चन्द, भरत बुद थापा, महेन्द्र क्षेत्री, पेमा लामा गरी १० सदस्यले बैठक बहिस्कार गरेका थिए ।

अर्का सदस्य टीका लामाले पनि बैठक अवैधानिक भएको भन्दै बहिस्कार गरेर हिँडेका थिए । उनीहरूले अध्यक्ष पंकज नेम्वाङले तानाशाह ढंगबाट बैठक सञ्चालन गरेको आरोप लगाएका थिए । तर, उपस्थित २० मध्ये ११ सदस्य सहभागी नहुँदा पनि अध्यक्ष पंकजविक्रम नेम्वाङले बैठक सञ्चालन गरेर महत्वपूर्ण निर्णय गरेका थिए ।

बिहीबार फागुन १७ को बैठक बहिस्कार गरेको समूहले नै उक्त बैठक अवैधानिक भएको भन्दै त्यसबाट भएको निर्णय खारेजको माग गरेका हुन् । निर्णय खारेजीको माग गर्नेमा उपाध्यक्षत्रय दीर्घबहादुर केसी (कुमार), विराटजंग शाही र दीपक खतिवडा तथा सदस्यहरू भोजराज शाही, पेमा लामा, रविन्द्र चन्द, टिका लामा, रुपेश अधिकारी, महेन्द्र क्षेत्री र रमेश व्यञ्जनकार छन् ।

प्रतिक्रिया