आफ्नै खुट्टामा बन्चरो

नेपाल प्रहरीको उपत्याका अपराध अनुसन्धान कार्यालयले तिब्बती शरणार्थीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाइ दिने एउटा समुहलाई पक्राउ गरेको छ । झापाका कृष्णबहादुर कटवालको नेतृत्वमा सक्रीय पाँच जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

विगत पाँच वर्षको अवधीमा यो समुहले करिव ५ सय जना तिब्बती शरणार्थीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत नेपाली नागरिकता प्रमाणपत्र बनाई दिएको नेपाल प्रहरीले जनाएको छ । तर, जिल्ला प्रशान कार्यालय काठमाडौंमा तैनाथ अपराधी कर्मचारीहरुसम्म भने नेपाल प्रहरी पुगिसकेको छैन ।

नागरिकता प्रमाणपत्र बनाइ दिए वापत यो समुहले प्रतिव्याक्ति पाँच लाख रुपैंया लिने र एक लाख रुपैंया जिल्ला प्रसासन कार्यालय काठमाडौंका कर्मचारीलाई पुर्याउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, तर ति कर्मचारीहरु कुन कुन हुन् ? भन्ने एकिन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

लगातार भइरहेको यस्तो प्रकरणका मुख्य अपराधी भनेका नागरिकता निर्माण कार्यमा संलग्न जिल्ला प्रशासन कार्यलयका कर्मचारीहरु नै हुन् भन्ने कुरामा दुई मत छैन । तर, मुख्य अपराधी पत्ता नलाग्दै सहयोगीहरुलाई सार्वजनिक गरिएका कारण आशंका गर्ने आधार प्रसस्तै छ ।

किनकी नागरिकता प्रमाणपत्र प्रदान गर्न धेरै प्रक्रिया पार गर्नुपर्ने हुन्छ । जन्मदर्ता देखि वडा कार्यालयले भर्ने फारम, फारम भर्दा गर्नुपर्ने मुचुल्का, ५ जना साक्षी , वडाध्यक्षको हस्ताक्षर लगायतका धेरै प्रक्रिया पार गर्नु पर्ने हुन्छ । त्यसैले सरकारी कर्मचारीहरुको मिलोमोतो बिना यतिधेरै विदेशीलाई नागरिकता वितरण संभाव हुँदैन ।

विदेशीलाई गैरकानूनी रुपमा नागरिकता प्रमाणपत्र वितरण गर्नु भन्दा ठूला राष्ट्रघात अर्को हुनै सक्दैन । किनकी हाम्रो मुलुकको संवेदनशीलता अन्य मुलकको भन्दा फरक छ । छिमेकी मित्रराष्ट्र चीनले तिब्बती शरणार्थीहरुलाई पृथकतावादी अपराधी घोषित गरेको छ ।

तिब्बती शरणार्थीहरुले नेपाली नागरिकता प्रमाणपत्र लिने गरेको सुइँको छिमेकी मित्रराष्ट्र चीनले पाएकै कारण नेपाली जनता धेरै अबशरबाट बन्चित हुनुपरेको छ । उदाहरणका लागि हङकङ यात्रा गर्न विश्वका अन्य मुलुकका जनतालाई ठाउँको ठाउँ भिषा लाग्छ, तर नेपालीहरुले भिषा प्रक्रियामा धेरै झण्झट बेहोर्नु परेको छ ।

यतिसम्मकी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पासपोर्टमा लागेको भीषालाई समेत आशंका गर्दै हङकङमा ६ घण्टा सम्म एउटा कोठामा राखेर नगरानी गरिएको समाचार केही वर्ष अघि आएको थियो । तिब्बती शरणार्थीहरु नेपाली नागरिकता र पासपोर्ट लिएर आफ्नो भूमिमा प्रवेश गर्ने गरेको चीनको आशंकालाई नेपालका सरकारी कर्मचारीहरुले बल पुर्याएका छन् ।

यस्तो हर्कत भनेको आफ्नै खुट्टामा बन्चरो प्रहार गर्नु जस्तै हो । हाम्रा दुई छिमेकी मुलुकहरु विश्वकै महाशक्ति उन्मुख देश हुन् । उनीहरुको सुदृष्टि हुने हो भने नेपालको उन्नती प्रगति टाढा छैन । तर, हाम्रै कतिपय कर्मचारीहरुको जघन्य अपराधका कारण उनीहरु सशंकित बनेका छन् ।

नेपाललाई प्रदान गर्ने सहयोग भोली आफ्नै विरुद्ध प्रयोग हुने त होइन ? भन्ने शंका दुवै छिमेकीले गरेका छन् । दक्षिणको छिमेकी भारत पनि कश्मीरी आतंकीहरुले नेपालको भूमि प्रयोग गरेको भन्दै रुष्ट छ । नेपालको अन्तर्राष्ट्रिय विमानस्थल र चीन सँगको सीमा क्षेत्रमा आफ्नो सुरक्षा उपस्थितिको एजेण्डा भारतले उठाउँदै आएको छ ।

नेपालबाट दुवै छिमेकीहरुले आँफूलाई असुरक्षित महशुस गर्नु भनेको सामान्य अवस्था होइन । यस्ता हर्कतहरु बढ्दै गए भने नेपालको सार्वभौम सत्तालाई समेत अप्ठेरो पर्छ । यही अविश्वासका कारण नै नेपालको राजनीतिक , प्रशासनिक, सुरक्षा तथा परराष्ट्र मामिलामा छिमेकी भारतले आफ्नो पनि संलग्नता खोज्दै आएको छ ।

पछिल्ला दिनमा चीनले पनि नेपालको मामिलाप्रति सुक्ष्म निगरानी राख्न थालेको छ । यतिसम्मकी तिब्बती शरणार्थीबाट नेपालमा हुने गरेका चलखेलबारे सूचना सहित नेपाल प्रहरीलाई निर्देशन दिने गरी चिनियाँ गुप्तचरहरु नेपालमा तैनाथ भइसकेका समाचार आएका छन् ।

प्रतिक्रिया