कलामार्फत नेपाल–बंगलादेशबीच अटुट सम्बन्ध

एससी सुमन

सौन्दर्य अनुभव सधैं अद्वितीय हुन्छन् । तिनीहरुसँगको एकल प्रवेश गुणस्तर छ जुन सबै भागमा फैलिन्छ र संरचना प्रदान गर्दछ । यसले हामीलाई मानिसको रूपमा हामी के हौं भनेर बुझ्न मद्दत गर्छ । हामी कसरी एकअर्कासँग सम्बन्ध राख्छौं भनेर प्रभाव पनि पार्दछ । कलाकार भनेको चित्रकार वा संगीतकार वा लेखक मात्र होइन, संसारलाई अरूभन्दा अलि फरक ढंगले हेर्ने व्यक्ति हो । यो एक रचनात्मक सोच नेतृत्व हो जहाँ कलाकारले आफ्नो व्यक्तित्व, विचारको स्कुल र उसको जन्मजात उपहार र प्रतिभामार्फत मानिसलाई प्रभाव पार्छ ।
सम्बन्धलाई जोड्ने अवयव भनेको मानवीय चेतनाबाट सिर्जित कलाचेत हो । यसैबीच नेपाल–बंगलादेशको कूटनीतिक सम्बन्ध स्थापना भएको आधा दशक पूरा भएको छ ।

नेपाल–बंगलादेश मित्रताको पच्चास वर्ष पुगेको उपलक्ष्यमा नेपाली राजदूतावास, बंगलादेश र नेपाल–बंगलादेश फ्रेण्डसिप सोसाइटीको संयुक्त आयोजनामा यो साता बंगलादेशको राजधानी ढाकामा ‘नेपाल र बंगलादेश कला संस्कृति उत्सव २०२३’ धुमधामसँग मनाइँदै छ । जसमा दुई देशका चित्रकार, संगीतकार, नर्तकनर्तकी, फोटोग्राफरको सहभागिता रहेको छ ।
ढाकेश्वरी मन्दिर ढाका नगरको सबैभन्दा महत्वपूर्ण मन्दिर हो । यसै ढाकेश्वरी देवीको नाउँमा ढाकाको नामकरण गरिएको हो । भारतको विभाजनभन्दा पहिलेसम्म ढाकेश्वरी देवी मन्दिर सम्पूर्ण हिन्दुको शक्तिपूजक समाजको लागि आस्थाको ठूलो केन्द्र थियो । १२औं शताब्दीमा सेन राजवंशको बल्लाल सेनले ढाकेश्वरी मन्दिरको निर्माण गरेका थिए । ढाकेश्वरी पीठ शक्तिपीठ हो, यहाँ सतीको आभूषण खसेको मान्यता रहिआएको छ ।

बंगलादेशको राजधानी ढाकामा बंगलादेश शिल्पकला एकेडेमीमा मंगलबारदेखि ‘नेपाल–बंगलादेश कला तथा संस्कृति महोत्सव २०२३’ नामक पाँचदिने सांस्कृतिक महोत्सव चलिरहेको छ । नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठको सन्दर्भ पारेर ढाकास्थित नेपाली राजदूतावास र बंगलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीले संयुक्त रुपमा महोत्सवको आयोजना गरेका हुन् ।

महोत्सवमा चित्रकला तथा फोटोग्राफी प्रदर्शनी, सांस्कृतिक कार्यक्रम र छलफल भइरहेका छन् । राष्ट्रिय कला ग्यालरी अडिटोरियममा आयोजित उद्घाटन समारोहमा बंगलादेशका शिक्षामन्त्री दिपु मोनी प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा परराष्ट्र मन्त्रालय पश्चिमका सचिव शब्बीर अहमद चौधरी, बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, बंगलादेश शिल्पकला एकेडेमीका सचिव सलाहुद्दिन अहमद, बंगलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीका अध्यक्ष मोशिउर अहमद र नेपाली कलाकार सहभागी थिए । सो अवसरमा दिपु मोनीले महोत्सवले नेपाल र बंगलादेशबीचको सम्बन्धलाई थप मजबुत बनाउने बताए ।

‘दुई देशबीचको सांस्कृतिक आदान प्रदानलाई प्रवद्र्धन गर्न आयोजकले गरेको प्रयासका लागि म धन्यवाद दिन चाहन्छु,’ मोनीले भने, ‘दुई देशबीचको सांस्कृतिक आदान प्रदानलाई प्रवद्र्धन गर्नुका साथै बंगलादेश र नेपालको सांस्कृतिक सम्पदा आदिको, विविधताको प्रदर्शनीमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने छ ।’

बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले भने, ‘सांस्कृतिक प्रस्तुतिसँगै चित्रकला र फोटोग्राफी प्रदर्शनीमार्फत महोत्सवले दुई देशको समृद्ध र विविध सांस्कृतिक सम्पदालाई प्रस्तुत गर्नेछ ।’

मोशिउर अहमदले भने, ‘फेस्टिभलले दुई देशका सिर्जनशील व्यक्तिलाई विचार र विचार आदानप्रदान गर्ने मञ्च प्रदान गर्नेछ ।’ महोत्सवको उद्घाटनका दिन राष्ट्रिय कला ग्यालरीको ग्यालरी सातौंमा पाँच दिने चित्रकला तथा फोटोग्राफी प्रदर्शनीको पनि उद्घाटन गरिएको छ । महोत्सवमा चित्रकला तथा फोटोग्राफी प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा ८३ बंगलादेशी तथा नेपाली कलाकार तथा फोटोग्राफरका एक सय २३ कलाकृति तथा तस्बिर राखिएको छ ।

कलाकृति र तस्बिरले दैनिकजीवन, संस्कृति, धर्म, प्राकृतिक सौन्दर्य, चाडपर्व र अन्य विविध विषय र पक्षलाई चित्रण गरेको छ । बंगलादेशी कलाकार अब्दुल मन्नानको एक्रेलिक चित्र रुपोशी बांग्ला नामक प्रदर्शनीमा राखिएको कलाकृतिले देशको परिदृश्य र प्राकृतिक सौन्दर्यलाई चित्रण गरेको छ । पाल्कीमा महिला शीर्षकको अर्को प्रदर्शनीमा राखिएको कलाकृति, नेपाली कलाकार गीताकुमारी ठाकुरले क्यानभासमा बनाएको कलाकृतिमा चारजना व्यक्तिलाई पालकी बोकेको देखाइएको छ । जो दुई देशको साझा लोक व्यवहार हो । पंक्तिकार कलाकार एससी सुमनका मिथिला शैलीका चित्र ‘द लभ रास इन नेचर’ र ‘फ्रेन्डसीप’ शीर्षकको चित्रले लोकशैलीमा आधुनिकताको प्रयोगले विशेषगरी स्थानीय कलाकारको ध्यान आफूतिर तान्न सफल भएको छ । लोककला सांस्कृतिक विशेषता र आदानप्रदानको सबैभन्दा ठूलो भण्डार हो, जसका निशानहरू आधुनिक समयमा शताब्दीयौंदेखि पार गरिसकेका परिवर्तनमा फेला पार्न सकिन्छ । धेरैको लागि लोककला संस्कृति र त्यसका मानिसलाई बुझ्ने कुञ्जी हो । सयौं नदी भएको देश बंगलादेशमा धेरै धनी र अद्वितीय मिथिला लोक चित्रकलाको आफ्नो आधारभूत सिद्धान्तसँग विश्वमाझ परिचय गराउँदै आएको छ । अनुराधा थापाको ‘बुद्ध’ शीर्षकको चित्रले गुलाफी र रातो रङको कमलबिच ध्यानास्थ बुद्ध विश्वशान्तिको सन्देश दिएको छ ।

कलाकार लोक चित्रकारको चित्र ‘मञ्जुश्री इन स्तुपा’ समुद्रमानको ‘श्वेत तारा’, उजय बज्राचार्यको ‘बज्रपानी बोधित्सव’ राजप्रकाश तुलाधरको ‘अर्धनारीश्वर’, कलाकार रामप्रकाश श्रेष्ठको ‘आर्य तारा’ शीर्षकको पौभा चित्र आकर्षणको केन्द्र भएको छ । बंगलादेशी फोटोग्राफर नफिस अहमद नदवीको चिया बगैँचा शीर्षकको तस्बिरमा महिला चिया बगानमा काम गर्ने कामदार चियापात लिएर बगैँचाबाट फर्किँदै गरेको देखाइएको छ भने नेपाली फोटोग्राफर विकास रौनियारको ‘द ब्युटी अफ नेपाल’ शीर्षकको तस्बिरले नेपालको प्राकृतिक सौन्दर्यलाई चित्रण गरेको छ ।

कार्यक्रमको दोस्रो दिन बंगलादेश सरकारका सांस्कृतिक मामिला राज्यमन्त्री एच.ई.श्री के.एम दूतावासले बंगलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा बंगलादेश शिल्पकला एकेडेमीको राष्ट्रिय रंगमञ्चमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम बिहीबार साँझ खालिद, सांसद र राजदूत भण्डारीले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रममा नेपाल र बंगलादेशका कलाकारको परम्परागत नृत्य, लोकगीत र सांगीतिक प्रस्तुतिसहित १६ वटा सांस्कृतिक प्रस्तुति थिए । नेपाली कलाकारले सोरठी, कौरा, मिथिला, तामाङ सेलो लगायतका परम्परागत सांगीतिक तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने बंगलादेशका कलाकारले पनि परम्परागत तथा लोकनृत्य तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

सो अवसरमा बोल्दै राजदूत घनश्याम भण्डारीले सांस्कृतिक कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै दुई देशबीचको मित्रता र समझदारीलाई मजबुत बनाउन कला र संस्कृतिको भूमिका रहेकोमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि माननीय के.एम. सांसद खालिदले नेपाल र बंगलादेशबीचको सभ्यताको सम्बन्धलाई उजागर गर्दै स्वस्थ समाजका लागि कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

बंगलादेश–नेपाल मैत्री समाजका अध्यक्ष मोशिउर अहमदले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बंगलादेशको संयुक्त सांस्कृतिक गठबन्धनका अध्यक्ष गुलाम कुद्धुस, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल र बंगलादेश शिल्पकला एकेडेमीका सचिव सलाहुद्दिन अहमदले पनि मन्तव्य राखेका थिए ।

नरमशक्ति कुटनीति

कुटनीति र विदेश नीतिलाई समानार्थी वा पर्यायवाची शब्दको रूपमा पनि प्रयोग गरेको पाइन्छ । तर, कुटनीति र विदेश नीतिका बिच केही मात्रामा भिन्नता रहेको छ । एक राष्ट्रले अर्को राष्ट्रप्रति देखाउने सद्भाव, व्यवहार र दृष्टिकोणका सम्बन्धमा अपनाइने विदेश नीति हो भने कुनै पनि राष्ट्रले अपनाउने समग्र व्यवहार र नीतिगत कार्यान्वयनको तरिका कुटनीति हो । त्यसैले कुटनीति विदेश नीति होइन; विदेश नीति कार्यान्वयन गर्ने साधन हो । अथवा कुटनीति सिद्धान्त होइन; बरु विदेश नीति अनुसार अन्य राष्ट्र वा अन्तर्राष्ट्रिय संस्थासँग गरिने व्यवहार हो, जसका माध्यमबाट विदेश नीतिले निर्धारण गरेको लक्ष्य प्राप्त गर्न सकिन्छ । तसर्थ कुटनीतिले विदेश नीतिको लागि मेरुदण्डको भूमिका खेलेको हुन्छ । हरेक राष्ट्रले आफ्नो भौगोलिक अवस्थिति, देशभित्रको राजनीति र राष्ट्रको लक्ष्यको सापेक्षतामा विदेश नीति निर्धारण गर्दछ ।

विदेश नीति राष्ट्र–राज्यको हातमा रहेको यस्तो साधन हो, जसको प्रयोगबाट अन्य देश वा अन्तर्राष्ट्रिय प्रणालीको स्वभावलाई आफ्नो सोंच अनुकूल परिवर्तन गराउन सकिन्छ । निर्धारित नीति कार्यान्वयन वा व्यवहारिक प्रयोग कुटनीतिका माध्यमबाट गरिन्छ ।

यिनै कुरालाई मनन गरी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको दोस्रो कार्यकालमा दुई देश नेपाल र बंगलादेशबीच सहयोग समझदारीमा हस्ताक्षर भयो र दुई देशको उच्चस्तरीय कलाकार चित्रकार, मूर्तिकारको टोलीले दुई देशको भ्रमण गरेको थियोे । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्क कल्चरल सेन्टर श्रीलंकाको संयुक्त आयोजनामा सन् २०१७ मा सार्क आर्टिस्ट क्याम्प र प्रदर्शनी नेपालमा सम्पन्न भएको थियो । जसमा बंगलादेशका कलाकारको सहभागिता रहेको थियो । जसको संयोजन तत्कालीन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको लोककला प्रमुख पंक्तिकार स्वयं एससी सुमनले गरेका थिए ।

तत्पश्चात् सन् २०१८ मा बंगलादेशको शिल्पकला एकेडमीमा सप्ताहव्यापी नेपाल कला मेलाको आयोजना गरिएको थियो । जसमा चित्रकला, मूर्तिकला, पौभाकला, लोककला र हस्तकलाको बृहत प्रदर्शनी गरिएको थियो । यसै क्रमलाई निरन्तरता दिँदै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको निमन्त्रणामा सार्क स्तरीय कला कार्यशाला तथा गोष्ठीमा बंगलादेशको टोलीले उच्च सम्मानका साथ सहभागिता जनाएको थियो । नेपाली शिल्प विरासत र परम्परा छ, जसको अनेक रुप छ । लोकगीत, संगीत, लोक चित्रकला, नेपाली संस्कृतिको एक हिस्सा हो, जो विश्वका विभिन्न देशमा मात्रै पुगिसकेको छैन, आफ्नो विशिष्टता पनि स्थापित गरेको छ । देशको हरेक कुना र कुनामा, विभिन्न शिल्पकला रूपको विविधता अतुलनीय छ । वास्तुकला, काठको काम, मूर्तिकला, धातु, काठ वा ढुंगाबाट बनेका कलाकृति र कपडामा छापिएका छाप आफैंमा अद्वितीय छन् । मिथिला लोक चित्रकला मानव सभ्यताको एक प्रमुख अभिव्यक्ति हो । जसको माध्यमबाट आफ्नो भावना व्यक्त हुँदै आएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको तेस्रो कार्यकालमा अन्तर्राष्ट्रिय कार्यक्रम प्रायः शुन्यमा झरेको थियो । चौथो कार्यकालमा प्रतिष्ठानमा नयाँ पदाधिकारीको नियुक्ति भइसकेको छ । आगामी दिनमा कलाको अन्तर्राष्ट्रिय कार्यक्रमले निरन्तरता पाउने अपेक्षा गर्न सकिन्छ ।

यो कार्यक्रम स्थापनाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा मार्च १४–१८ सम्म आयोजना हुने पाँच दिने नेपाल–बंगलादेश कला तथा सांस्कृतिक महोत्सव २०२३ को एक हिस्सा हो । कार्यक्रममा कूटनीतिज्ञ, कलाकार, विद्वान, विद्यार्थी र सबै क्षेत्रका व्यक्तिसहित करिब करिब ५ सय अतिथिको उपस्थिति थियो ।
महोत्सवमा पाँच दिनसम्म चल्ने चित्रकला र फोटोग्राफी प्रदर्शनी नेपाली र बंगलादेशीय कलाकारको संयुक्त कला कार्यशाला पनि समावेश छ । चित्रकला र फोटोग्राफी प्रदर्शनीमा ३३ नेपाली कलाकारका ५२ कलाकृति र ५० बंगलादेशी कलाकारका ८० भन्दा बढी कलाकृति बंगलादेश शिल्पकला एकेडेमीको राष्ट्रिय कला ग्यालरीमा प्रदर्शनीमा छन् । चैत ४ गते आइतबार हुने महोत्सवको समापन समारोहमा राष्ट्रियसभाका उपसभामुख शमसुल हक टुकु प्रमुख अतिथिको रुपमा उपस्थित रहने छन् ।

प्रतिक्रिया