राजनीतिक संस्कार र मेरो देश

मोहनप्रसाद सापकोटा

अन्धभक्त भएर कहिले कसैलाई विष्णुको अवतार, कहिले कसैलाई समाजवादेश्वरको अवतार अनि कहिले कसैलाई साम्यवादेश्वरको अवतार मान्दै आयौँ । तिनका वचनलाई महावाणी र आचरणलाई धर्म बनाउँदै आयौँ । हाम्रो त्यही अन्धभक्तिले गर्दा हाम्रा ईश्वरहरूले हामीलाई पाहा पछारे जसरी पछारेका छन् । मैले आज मात्र होइन पहिलादेखि नै भन्दै आएँ, लेख्दै आएँ अन्धभक्तिले भोलि नभरिने घाउ दिन्छ ।

यो देशमा कुनै पनि तन्त्र र वाद अनि तिनले चलाउने गतिविधि वास्तविकरूपमा नेपाल र नेपालीको लागि हुने गरेको छैन भनेँ । कसैले उडाए, कसैले खिस्याए । ३५ सालदेखि ४२ सालसम्मको सक्रिय तर निरीह राजनीतिक संलग्नताको अनुभवका आधारमा मैले यी कुरा भनिरहेको थिएँ र छु । मैले ‘जहाँ गर्भाधानदेखि मृत्युपर्यन्त अरूको आश गरिन्छ, अरूले दिएको खाइन्छ त्यहाँ स्वतन्त्रताका, मौलिकताका र सार्वभौमिकताका कुरा नक्कली हुन्छन्’ भनेँ । ‘सतहमा जे जे देखिएका छन् ती सत्य होइनन्’ भनेँ ।

कसैले यस्ता कुरालाई गम्भीर रूपमा लिएनन् । १९ साल अगाडिका राजनीतिक वा सामाजिक गतिविधिलाई मैले जोड्न सकिरहेको छैन । तर, त्यसपछिका हरेक राजनीतिक, सामाजिक र आर्थिक गतिविधिको मात्र होइन आन्दोलन र घटाना एवं दुर्घटनाको सम्बन्ध अहिलेको तातो प्रतिफलसँग गाँसिएको पाइन्छ । राजपरिवारको अन्तरकलह, पञ्चहरूका बीचको अन्तरकलह, कांग्रेसको अन्तरकलह र कम्युनिस्टहरूको अन्तरकलहको रहस्य यही वर्तमानमा उजागर भइरहेका तस्बिर सहितका सत्य हुन् ।

अझै हाम्रो प्रतिस्थापित राजनीति र कर्मचारीतन्त्र यस्तो होइन भनिरहनेछ, हामी खेमामा विभाजित भएर बेकारको बहस गरिरहनेछौँ । लगाम नै अरू कसैका हातमा हुन्थ्यो हामी नजानिँदो किसिमले घोडा बनेर दौडी रह्यौँ । किन सिद्धान्तका लागि यहाँ कहिल्यै बहस हुँदैन, किन पद्धति बसाउन कहिल्यै कसैले पहल गर्दैनन्, किन सत्ता बाहिर हुँदा गलत लाग्ने कुरा सत्तामा पुग्नासाथ सही किन हुने गर्दछन्, यी र यस्तै अनेक प्रश्न प्रबुद्ध नेपाली नागरिकले उठाइरहे, समस्याको जड के हो अब बताइरहन परेन ।

बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि विकासका कुरामा देशभरी बहस हुँदा पनि मैले लेखेको थिएँ, ‘किङ मिदासको जस्तो आत्माबिनाको सुनै सुनको विकास देशमा हुनेवाला छ, नेपालीले विवेक नगुमाउन्’ ।
अब हगिसकेपछि दैलो देखेर के गर्नु । हरेक घर र हरेक विद्यालयमा केक काटेर जन्म दिन मनाइन्छ । खानपिनका आधारमा, संस्कृतिका आधारमा र रहनसहनका आधारमा अब नेपालमा कुनै धर्म र जात बाँकी छैनन् । भत्केको मन्दिर र गुम्बा बनाउन क्रिश्चियनसँग चन्दाका लागि लम्पसार पर्ने पूजारीहरू सामरिक महत्वका र अत्यन्त विवादास्पद एवं समवेदनशील स्थानमा लगेर फेरि विदेशीलाई चेकपोस्ट बनाउन दिने वातावरण बनाइरहेछन् । बिहान बेलुकीको छाक जसले दिएको हण्डी खाएर चलिरहेको हुन्छ, हामी तिनैको उग्र विरोध गरेको नाटक देखाउँदै र भोग्दै आयौँ ।

जनताप्रति उत्तरदायी नहुने जितेका राजनीतिज्ञलाई अर्कोपटकको चुनावमा जनताले हराए पनि सम्बन्धित दलले फेरी कतै कसैलाई बलिको बोको बनाएर वा केही घाँस खुवाएर राजिनामा गर्न लगाई हार्ने राजनीतिज्ञलाई फेरी राजनीतिमा लेराउने चलन चल्यो । यसो गर्नुमा दुई–तीन वटा कारण देखिएका छन् । पहिलो कारण दलभित्रको अन्तरकलहलाई मत्थर पार्नु रहेको देखिन्छ भने अन्य कारणहरू सतहमा देखिन्नन् । बाहिरभन्दा उसका योग्यताका चर्चा गरिन्छ र ऊ नभए देश डुब्नेसम्मका तर्कहरू बजारमा फिँजाइन्छ । राजा मरेर राज्य अड्किन्न, अड्किएन सबैलाई थाहा छ । तै पनि हामी पत्याइदिन्छाैँ । यस भित्रको वास्तविकता तीतो छ । खाने दाउ मिलाउन जान्नेको खोजी भएको हुन्छ र त्यसमा अनुभवीहरू हारे पनि कि फेरि चुनाब गराएर कि मनोनयन गरेर भए पनि माथि तानिन्छन् ।

सिद्धान्त आफैँमा कुनै पनि खराब हुँदैन, सिद्धान्त चलाउनेको नियतको शुद्धताका आधारमा सिद्धान्तहरू असल र खराब बन्ने र देखिने गर्दछन् । यो मामिलामा राजतन्त्रदेखि गणतन्त्रसम्मका विशेष भूमिकामा रहने सबै व्यक्ति खराब छन् । तिनले जे को लागि बैना लिए वा लिइरहेका छन् त्यो काम नबनुञ्जेल ती राजनीतिबाट हट्ने छैनन् । भोलि कट्टर साम्यवाद वा सैनिक शासन आए पनि यी बैना लिनेहरू नै त्यतिखेर पनि नेतृत्व तहमा देखिने छन् । नपत्याउन सक्नुहुन्छ । यो देशमा परिवर्तनका लागि भनेर हामीलाई लडाइयो, भिडाइयो ।

हामी लड्यौँ, भिड्यौँ । तर ती परिवर्तन नेपाल र नेपालीका लागि गरिएकै थिएनन् । जुन देशमा सरकारलाई साधारण खर्च चलाउन धौ धौ छ, त्यो देशमा यतिविघ्न गोप्य धन कहाँबाट, कसरी ओइरिरहेको छ र किन ? यो सबै हाम्रो अन्धभक्तिको परिणाम हो । आफ्नाको चाक बास्ना आउने र विरोधीको मुख गनाउने गरी हामीले सिकेको राजनीतिक संस्कारको प्रतिफल हो ।

अहिले पनि कुनै घटना घट्दछन् । हामी अपवादमा बाहेक सहीलाई सही र गलतलाई गलत भन्न सकिरहेका देखिँदैनौँ । यो वाद ऊ वादका कुरा नगरौँ । सबै उही ड्याङका मुला हौँ । सबैको विकसित संस्कार गलत छ । बलात्कार हुन्छन्, हत्या हुन्छन्, महँगी बढ्छ, अहिलेका जस्तै नांगा नाचहरू बेलाबेलामा भइरहन्छन्, तस्करीका अनेक घटना बाहिर आइरहन्छन्, अनी हामी नागरिक जोसँग रित्तो खोपडी हुन्छ त्यो सलबलाउँछ र भन्छ, ‘यी र यस्ता घटना त पहिले पनि हुन्थे, अरूले पनि गरेका थिए’ ।

‘उसले पनि त त्यतिखेर ‘गू’ खाएको थियो, कसैले चुइँक्क बोलेनन्, अहिले मैले वा हामीले वा हाम्राले ‘गू’ खाँदा यत्रो रडाको किन ?’ भनेर सामाजिक सञ्जाल भरी प्रश्न गर्दछ खोप्रो दिमागको हाम्रो बौद्धिकता । पिपा बनेर हामी त्यसलाई सेयर गरेर गर्व गरिरहेका हुन्छौँ । हामी जुनसुकै आस्था र विचारधाराका भए पनि धिक्कार छ हामीलाई र हाम्रो दरिद्रतम सोचलाई ।

राजनीतिमा यो गर्नु हुन्न, यो गर्न नैतिकताले दिँदैन र यो असम्भव छ भन्न हुँदैन । यसै भएर होला पूर्वीय एवं पश्चिमका धेरै विद्वानहरूले राजनीतिलाई फोहोरी घर उपनाम दिएको पाइन्छ ।
अहिले विश्वभर मतदानमा आधारित राजनीति चलेको छ । मतदानका तरिका र विधि फरक छन् र सबै खाले राजनीति आआफ्ना मतदानका तरिकालाई उत्कृष्ट बताउने गर्दछन् ।

मतदानमा जनमतको सम्मान हुन्छ भनिन्छ । जित्ने राजनीतिज्ञ आफ्ना मतदाताप्रति उत्तरदाई हुन्छ भनिन्छ । विश्वका धेरै देशका उदाहरणले यो भनाइको पुष्टि पनि गर्दछन् । तर नेपाल र छिमेकी भारतको इतिहास यो भनाइलाई सही सावित गर्न चुक्ने गरेको पाइन्छ । पञ्चायत कालदेखिकै नेपालको राजनीतिक इतिहास केलाउने हो भने पनि यसमा आंशिक सत्यता छ भन्ने आधार देखिन्छ ।

आआफ्ना मतदातालाई छानीछानी त्यो पनि चुनावका बेलामा केही दिएर मत किन्ने परिपाटी हामीलाई नौलो लाग्दैन । पशुपति शमशेरले सिन्धुपाल्चोकबाट, सूर्यबहादुर थापाले धनकुटाबाट, लोकेन्द्रबहादुर चन्दले वैतडीबाट, डा.प्रकाशचन्द्र लोहनीले नुवाकोटबाट हेमबहादुर मल्ल (शेरे धनुषा) ले धनुषाबाट झण्डै सधैँ नै जितिरहे । यस्ता अरू पनि थुप्रै थुप्रै थिए । कोही दसैँ खर्च बाँड्थे, कोही घुम्न काठमाडौं आउँदाजाँदाको भाडा दिन्थे, कसैले कसैका बच्चाबच्चीलाई कतैकतै जागिर खुवाउँथे ।

राज्यको ढुकुटी (बजेट) विकासका नाममा आआफ्ना क्षेत्रमा लैजान्थे र १० प्रतिशत काम गरेर ९० प्रतिशत खान्थे । पञ्चायत कालभरी तत्तत् जिल्लामा गएका बजेट रकम हेर्दा हुन्छ मलाई कसैप्रति पूर्वाग्रह राखेर केही लेख्नु छैन । कोही चुनावताका पैसा बाँड्थे त कोही खसी राँगा काटेर रातारात मत आफूतिर सोहोर्थे, यो अनुभवको कुरा हो, धेरैलाई थाहा छ, झूट बोल्यो भन्ने हुती यो इतिहास भोग्नेजति कसैसँग पनि छैन । नयाँ पुस्तालाई कथाजस्तो लाग्न सक्छ ।

नयाँ परिवर्तन भए, तर यो गलत राजनीतिक संस्कारको अन्त भएन । चुनाव क्षेत्रमा खर्च गर्न भनी रकम छुट्याउने चलनले अहिलेसम्म पनि निरन्तरता पाउनु यसैको गतिलो प्रमाण हो । यसबाट के प्रष्ट हुन्छ भने केही गरेर होइन जनतालाई लोभ्याएर वा भुलाएर चुनाव जित्ने परिपाटीले निरन्तरता पाएको छ । पञ्चायतकालीन राजनीतिक गलत संस्कारमा बहुदल आएपछि थप विकृतिहरू भित्रिए ।

दलभित्रको अन्तरकलह, तस्करहरूको अभिच्छा, विदेशीहरूको स्वार्थ त्यसमा सामेल हुन थाल्यो र गलत संस्कार झन् संस्थागत नै बन्न पुग्यो । जनताप्रति उत्तरदायी नहुने जितेका राजनीतिज्ञलाई अर्कोपटकको चुनावमा जनताले हराए पनि सम्बन्धित दलले फेरी कतै कसैलाई बलिको बोको बनाएर वा केही घाँस खुवाएर राजिनामा गर्न लगाई हार्ने राजनीतिज्ञलाई फेरी राजनीतिमा लेराउने चलन चल्यो ।

यसो गर्नुमा दुई–तीन वटा कारण देखिएका छन् । पहिलो कारण दलभित्रको अन्तरकलहलाई मत्थर पार्नु रहेको देखिन्छ भने अन्य कारणहरू सतहमा देखिन्नन् । बाहिरभन्दा उसका योग्यताका चर्चा गरिन्छ र ऊ नभए देश डुब्नेसम्मका तर्कहरू बजारमा फिँजाइन्छ । राजा मरेर राज्य अड्किन्न, अड्किएन सबैलाई थाहा छ । तै पनि हामी पत्याइदिन्छाैँ ।

यस भित्रको वास्तविकता तीतो छ । खाने दाउ मिलाउन जान्नेको खोजी भएको हुन्छ र त्यसमा अनुभवीहरू हारे पनि कि फेरि चुनाब गराएर कि मनोनयन गरेर भए पनि माथि तानिन्छन् । ‘माग्ने हुन राजनीति कसैले गर्दैन’ नेपाली राजनीतिमा अनेकपटक यस्तो सुनिन्छ । सही हो राजनीति गरेर माग्ने हुनु पर्दछ कसले पो भन्दछ र । तर माग्ने करोडपति हुन राजनीतिलाई प्रयोग गर्ने देश भने विश्वमा विरलै छन् र त्यसभित्र नेपाल पनि पर्दछ ।

ककसको औकात के थियो र अहिले कस्तो छ कसैले बताउन पर्दैन, देखिरहेका छौँ । जनतालाई भेडा भन्ठान्छ, हामी छौँ पनि भेडै, जब चुनाब आउँछ ऊ गोठालो बनेर हामीलाई चराउन लैजान्छ, हामी घाँस खान पाएपछि मक्ख पर्ने गर्दछौँ । परिवर्तनका संवाहकहरू बेदागी हुनै सक्दैनन् । त्यसैले विश्वमा जहाँजहाँ जहिले जहिले परिवर्तनहरू भए त्यहाँत्यहाँका परिवर्तनका संवाहकहरूले नयाँ पुस्तालाई परिवर्तन बोकेर लैजाने जिम्मा दिए । यसले परिवर्तन दाग लाग्नबाट जोगियो, संवाहकहरूको मानमर्यादामा पनि कमी आएन ।

हामी कहाँ भने ४०–५० वर्ष अगाडि जो जो व्यक्ति पदका लागि मरिहत्ते गरिरहेका देखिन्थे ती व्यक्ति अहिले पनि पदकै लागि मरिहत्ते गरिरहेका छन् । सिसी फेरियो रक्सी फेरिएन । त्यसैले त देश तलतल र व्यक्तिहरू माथि माथि गइरहेका छन् । भान्छामा बस्ने र त्यहाँ पाकेको खान पाउनेबाहेक अरूलाई परिवर्तनको स्वाद ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो हुने गरेको छ ।

जब परिवर्तन हुन्छ तब त्यसलाई सम्हाल्ने खुबी परिवर्तनका लागि नेतृत्व गर्नेसँग हुँदैन, नहुन सक्छ । हाम्रा नेताहरू भने सबै खुबी मसँग मात्रै छ भन्ठान्दछन् । त्यसैले त ती मारुनी जसरी नचाइन्छन् । कहिले नौनीमा त कहिले चियामा परेको झिंगाजस्तो बनाइन्छन् । नौनीमा झिंगा परे झिंगा फालिन्छ, चियामा झिंगा परे चिया फालिन्छ । सबै तह र तप्काका राजनीतिज्ञले यो कुरा मनन गरिदिए हुने ।

तर, राजनीतिमा पनि लत र कुलत दुबै हुँदो रहेछ । लत लाग्दासम्म त उपचारका लागि ‘सुधार गृह’ हुन्छ, तर कुलत लागेपछि ‘घाट’ मात्र उपचारको उपाय हुँदो रहेछ । हे देवी (ओ गडेश) यिनलाई एक चञ्चा सद्बुद्धि देउ । परिवर्तन स्वेच्छिकरूपमा हुने वा गरिने धर्म वा आस्थाको परिवर्तन समाजलाई अपाच्य हुँदैन । तर, जब परिवर्तनभित्र कृत्रिमता स्पष्टरूपमा देखिन्छ तब समाज मडारिन्छ ।

कुनै व्यक्ति धर्मान्तरण गर्न स्वतन्त्र छ तर द्वैध धर्म अँगाल्न पूर्ण स्वतन्त्र छैन । अँगाल्दा भित्रभित्रै खिचडी पाक्ने वातावरण बन्न जाँदो रहेछ । जनवरी १ र वैशाख १ लाई समान मान्ने समाजलाई कुनै नेता अमुक धर्मको शिविरमा गएर पलेटी कस्दा सही र अमुक धर्मको शिविरमा गएर पलेटी कस्दा गलत भन्ने अधिकार हुन्न । हामी पहिले आफ्नो अनुहार ऐनामा गएर हेर्न सिकौँ ।

सत्ता जोगाउन विदेशीले भनेको टेर्नुपर्दछ मत जोगाउन जनताले भनेको टेर्नुपर्दछ । यही च्यापोबाट विगत सय वर्षभन्दा पनि अघिदेखि नेपाली राजनीति अघि बढिरहेको छ । राजनीति र वेश्यावृत्ति उस्तै हुन् । ग्राहकमा विभेद गर्न थाले वेश्या र मतदातामा विभेद गर्न थाले राजनीतिज्ञको अस्तित्व र पेसा समाप्त हुन्छ । त्यसैले हरेक राजनीतिकर्मी भिड बढी भएको देखेपछि त्यसलाई आफू अनुकूल हुनेगरी भजाउन लालायित हुने गर्दछन् । ती शनिबार बिहानै पशुपति जान्छन्, चन्दन दल्दछन्, परिवार बोकेर दिनभर मठमन्दिर पनि चहार्दछन् ।

फेरि आइतबार आउँछ ती सपरिवार चर्च पुग्दछन्, एक हप्ताभरी आफू र आफ्नालाई केही नभएकोमा प्रभूलाई धन्यवाद दिन्छन् । अनि फेरी शुक्रबार आउँछ मस्जिद पुग्दछन् र टाउकामा रुमाल बेरेर घुँडा टेकी नमाज पढ्दछन् । यिनै महान् नेतालाई बिहीबार बिहीबार स्वयम्भूको डाँडोमा भेट्न सकिन्छ । यो हामीले विगत लामोसमय अघिदेखि विकास गर्दै आएको राजनीतिक संस्कार हो ।

वेश्याको चरित्र र हामीले अँगालेको राजनीतिक धर्मलाई लिएर के टीकाटिप्पणी गरिरहनु ? जस्तो चलेको छ चलिरहन्छ । अस्तित्वका लागि बहुरुपी बनिरहेका नेताहरूलाई कुनै पनि धर्मलाई लिएर प्रशंसा गर्ने वा घृणा गर्ने अधिकार हुन्न । यिनले पण्डित, मुल्लाह, पादरी वा लामा बन्न नखोजेकै वेश । राजनीतिक विश्लेषक अमुक दल वा वादको पृष्ठपोषण मात्र हुने गरी विश्लेषण गर्नेलाई यहाँ राजनीतिक विश्लेषक भन्ने गरिन्छ ।

ऊ यस्तो तर्क गर्दछ कि उसको आस्थाले मात्र राजनीति गर्दछ । अहिले बजारमा भेटिएका प्रायः सबै तथाकथित विद्वानहरूको कुरा सुन्दा त्यस्तै देखिन्छ । तर मेरो विचारमा राजनीति शास्त्र कुनै वाद विशेषमा बाँधिने शास्त्र नै होइन । यसरी अमुक दलको विषयमा मात्र सोच्ने व्यक्ति अमुक दलको राजनीतिक विश्लेषक हुन सक्दछ समग्र देशको राजनीतिक विश्लेषक हुन सक्दैन ।

मेरो अनुभवमा हामी राजनीतिको सुरुआत गर्दा नै आत्मपरक राजनीतिबाट राजनीति गर्न सुरु गरेका छौँ । अरूका कमजोरी खुइल्याउनुलाई मात्र यहाँ राजनीति गर्नु भन्ने गरिन्छ । फलानो यस्तोे उस्तो भन्दै उसका गल्ती औँल्याउँदै कुनै व्यवस्था, दल वा व्यक्तिलाई पन्छाए पछि आरोपित भएका व्यक्तिहरू दण्डित हुनुपर्दछ । तब त्यसलाई राजनीति भनिन्छ । तर हाम्रो देशमा विगत ७० वर्षको राजनीति केलाउने हो भने अपवादमा बाहेक मूल आरोपित व्यक्ति दण्डित भएको पाइँदैन ।

यस्तो किन हुन्छ त ? जब हटाइएका र नयाँ दुबैमा इमानदारी र सच्चरित्र हुँदैन तब जनतालाई उल्लु बनाएर यि पालैपालो खाने गर्दछन् । यदि यसो भएन पनि यी कुनै न कुनै विदेशीका दलाल हुन्छन् । त्यसैले यस्ता नाटकहरू बारम्बार दोहोरिने गर्दछन् । विश्वको कुनै यस्तो उदाहरण दिनुहोस् जसमा कसैलाई गम्भीर आरोप लगाएर फालिन्छ र दण्ड नदिई छाडिन्छ । त्यसैले हाम्रो मूल राजनीति कि शतप्रतिशत खराब छ कि शतप्रतिशत विदेशीबाट सञ्चालित छ । यो मेरो राजनीतिक बुझाइ हो ।

अहिले कसैले पनि मूतको न्यानोमा रमाउन वा अरण्यरोदन गर्न जरुरी छैन । अझ गम्भीर खालका समस्या आउनेवाला छन् । अहिले सबैभन्दा विवादमा सबभन्दा सम्माननीय पद परेको छ । यसको सुरुआत कांग्रेसकै पालामा भएको हो । दललाई वा व्यक्तिलाई गुण तिर्न वा अड्कोपड्कोमा तेलको धूप हालेजसरी धूप हाल्न देशको सर्वोच्च पदलाई लिनु हुँदैनथ्यो । श्रद्धाले निहुरिनुपर्ने शिर बाध्यतावश निहुराउन खोजियो, गलत गरियो । यसबाट हाम्रो राजनीतिले आजका मितिसम्म यो पदका लागि योग्य व्यक्ति जन्माउन सकेको रहेनछ भन्ने कुरा प्रष्ट हुँदैन र ?

विवेक अन्त राख्ने अनि पद भने आफूले ओगटी राजनीति गर्ने वर्तमान राजनीतिक संस्कारबाट देशका लागि योग्य नेताको जन्म हुँदैन, विवेक आफैँसँग राख्ने वातावरण बनाइनु पर्दछ । मानसिक दासतामा प्रतिभा प्रष्फुटन हुँदैन, खुराफाती र तस्करी गर्ने खालका विदेशी दलालहरू मात्र जन्मन पुग्दछन् । नेपालको राजनीति अत्यन्त गोप्य त्रासबाट चलिरहेछ ।

यो दक्षिणतिरको तीन थरीको दबाब (राजनीतिक, प्रशासन र गुप्तचर), उत्तरतिरको दबाब अनि समुद्रपारिको तीन किसिमको दबाब (राजनीतिक, आर्थिक र धार्मिक) बाट पूरा नेपालीलाई उल्लू बनाउँदै चलिरहेछ । यहाँ तल्लोस्तका कार्यकर्ताबाहेक अरू कसैमा पनि व्यवस्था, दल, सिद्धान्त र देशप्रति इमानदारिता छैन । यसैले म मेरो देशको राजनीतिलाई राजनीति होइन तस्करतन्त्र भन्न रुचाउँदछु । तस्करतन्त्रमा अदृश्य डनले जे भन्यो त्यही हुन्छ ।

संस्कारका कुरा

राजनीतिक संस्कारका कुरा गर्नुहुन्छ भने हामी यो देशमा प्रतिशोध वा डाहको राजनीति गर्दछौँ । हामीले जेजति राजनीति सिक्यौँ त्यसले अरूको विरोध गर्न मात्र सिकाउँदै आएको छ । राजनीतिक कुर्सी मोह र डाह अचम्मको रोग हो । राजनीति व्यवसाय बनिरहेछ, लगानी गर्नै पर्ने र गरेपछि उठाउनै पर्ने ।

जहाँबाट सापट लिइएको भए पनि यस्तो कार्यलाई राजनीति भनिँदैन । हाम्रो राजनीति पूर्णरूपमा व्यवसायमा परिणत भएको छ । मेरो देशमा तीन करोड जनता छन् भनिन्छ । तर यहाँ देवता करोडौँ, मन्दिर हजारौँ, धर्म र उसका बच्चा सैयौँ, तीन लाखभन्दा बढी नेता, नेताका सल्लाहकार ३० लाख, विदेश भास्सिन बाध्य हुने ५० लाख र विदेशीका दलाल ५० हजारको हाराहारीमा छन् ।

जब राजनीति पेसा हुन्छ तब आस्था, सिद्धान्त आदि सबै पोलेर खाइन्छन् । जब कुनै नेता कुनै विवादमा मुछिन्छ तब उसलाई प्रश्न गर्नुको साटो हामी सन्मान गर्न आतुर हुन्छौँ किनकि ऊमार्फत हामीले पनि कुनै न कुनै लाभ लिएका हुन्छौँ, व्यवसाय चलाएका हुन्छौँ । उदाहरण दिन मन छैन किनकि राजनीतिलाई पेसा बनाउनेहरूकै बोलवाला छ, बाहुल्यता छ । कुनै पनि तन्त्रमा दोष थिएन र छैन ।

दोष प्रवृत्ति र सोचमा छ, शिक्षा र लिने गरिएको बैनामा अनि खाने गरिएको हण्डीमा छ । हात्तीको देखाउने दाँत र चपाउने दाँत बेग्लै भएजस्तै हुने गरेका छन् यहाँ विकास निर्माणका कुरा । पैत्रिक सम्पत्ति धितो राखेर एक करोड सापट लिइन्छ, गर्ने भनिएको उद्योगमा २५ लाख लगानी गरिन्छ, परिवारलाई एक एक लाख बाँडिन्छ र पनि परिवारका सबै सदस्य खुसीले नाचिरहेका हुन्छन् ।

यस्तो गएगुज्रेको यहाँको राजनीति कहिल्यै सुध्रँदैन । जानी जानी नराम्रो हुन्छ, गरिन्छ र भनिन्छ फलानाले पनि गरेको थियो नि । आफ्नो कुकृत्य जोगाउन देशभित्र उदाहरण नपाए विदेशी उदाहरण खोजिन्छ । जस्तैः नारी बलात्कारमा अरू देशका दाँजोमा हामी कम पीडित छौँ रे !

त्यसैले, जसले जहिले जे सक्छ त्यो भाँच, जे सकिन्छ त्यो भत्काउ, जे भेटिन्छ त्यो बेच, गर्न हुने नहुने जे सकिन्छ त्यो गर, नाम र दाम कमाउ, सबै राजनीतिक पेसाकर्मी र तिनको पुरा खानेहरूलाई मेरो सदा शुभकामना छ ।

राजनीति र रोग

पतनोन्मुख राजनीतिमा संवेदनशीलता र दया भन्ने शब्द हुन्न, यी शब्दहरू पेसाका रूपमा प्रयोग हुने गर्दछन् । आपूm, आफन्त, आफ्नो गुट, आफ्नो दललाई प्रयोग भएर बाँकी भएपछि मात्र यी कुरा अरूका लागि प्रयोग गरिन्छन् । भेटेसम्म अरूको उछित्तो काटिन्छ, छाला तारिन्छ अनि आफूलाई पर्दा चाहिँ आफूमा के के न मानवीय गुण बाँकी भएजसरी शत्रुबाट पनि दया र सहानुभूतिको आश गरिन्छ ।

यो राजनीतिक रोगको असर संस्कार बनेर समाजको तल्लो तहसम्म अर्थात् परिवार परिवारसम्म पुगिसकेको छ । मानिसहरू आदर र सम्मान तथा अपमान र तिरस्कार जस्ता कुराहरू आफ्नो नितान्त व्यक्तिगत स्वार्थअनुसार प्रयोग गर्न अभ्यस्त हुन थालेका छन् ।

पद्धति राजनीतिको मेरुदण्ड हो । कुनै पनि शासन व्यवस्थाको आयु पद्धतिमा निर्भर रहन्छ । कुनै पनि देशको विकासको गति पनि पद्धतिमै निर्भर हुन्छ । पद्धति बसेको छ अनि सबै तह र तप्काका नागरिक पद्धतिलाई अनुशरण गर्दछन् भने विकासलाई बहन सहज र सरल हुन्छ । पद्धतिबाट नै देशभक्त र योग्य नेताहरू जन्मने वातावरण पनि स्वतः तयार हुन्छ ।

प्रतिक्रिया