गोसाइँकुण्ड यात्राको रमाइलो पल

प्रतिज्ञा न्यौपाने

नेपालको प्रमुख धार्मिक स्थल मध्ये एक प्रमुख स्थल हो, गोसाइँकुण्ड । रसुवा जिल्लामा रहेको उक्त कुण्डको महिमा तथा सौदर्यताको बारेमा बेलाबेलमा सुनिइरहिन्थ्यो । त्यसमाथि मेरो जन्मजिल्ला पनि रसुवा । प्रायः आफन्तजन सबै उक्त कुण्डमा पुगेका र त्यहाँ पाएको स्वर्गीय आनन्दको कुरा सुन्दा मलाई पनि त्यहाँ पुग्ने चाहना भइरहेको थियो तर समय मिलेको भने थिएन ।

‘तँ आँट म पूरा गर्छु’ भने झैं भगवान्ले मेरो मनको कुरा सुनेजस्तो भयो । मनदेखि नै चाहना भएकोले पनि होला मेरो इच्छा पूरा गराउन आउनुभयो मेरो सानुबुबा । उहाँ रसुवाको सदरमुकाम धुन्चेमा बस्नुहुथ्यो । मैले आफ्नो चाहना उहाँलाई सुनाएँ र उहाँले पनि हुन्छ भन्नुभयो । उहाँको स्वीकृति पाएपछि मेरो मन खुसी नहुने कुरै भएन । परिवारले पनि सानुबुबासँग जाँदा खुसीसाथ मञ्जुरी दिनुभयो ।

जन्मस्थल रसुवा भए पनि बसाईं भने काठमाडौं थियो । २०७८ साल जेठको महिना, गर्मी भए पनि मौसम सफा थियो । २६ गतेलाई प्रस्थान दिन बनाएर म तयारीमा जुटेँ । उक्त दिनको बिहानै ६ बजे म माछापोखरी नयाँबसपार्कबाट गोसाइँकुण्डका लागि प्रस्थान गरेँ, साथमा थिइन् बहिनी । बहिनी र म बसमा मिठामिठा कुरागर्दै यात्राको आनन्द लिइरह्यौँ । बस नागढुंगा, गल्छी, त्रिशुली हुँदै दिउँसो १२ बजे घुम्ती पुग्यो । त्यहाँ हामीले खाना खायौँ । मन खुसी भएर होला खाना पनि अलि बढी नै खायौँ । खानापछि बस गुम्बडाँडा, स्याउबारी, राम्चे, पलेब, ग्राङ हुँदै सदरमुकाम धुन्चे पुग्यो । साँझ पनि झमक्कै हुँदै थियो । हामी दिदीबहिनी त्यसदिन सानुबुबाकोमा नै बस्यौँ ।

यात्राको दोस्रो दिन

भोलिपल्ट बिहान खानासाना खाँदा बिहानको ९ बजिसकेको थियो । सबै तयारी पहिले नै गरिसकेको हुनाले खाना खानासाथ सानुबुबा, बहिनी र म त्यहाँबाट अघि बढ्यौँ । मिठामिठा कुराकानी हामीबीच चलिरहेको थियो । केहीबेर हिँडेपछि गोसाइँकुण्ड पुगेर फर्किएका यात्रीहरू भेटिन थाले । उनीहरू सबैको हातमा लौरो थियो । उनीहरू बिस्तारै बिस्तारै लौरी टेकेर हिँडिरहेको देखिर अचम्म मान्दै सानोबुबालाई सोधेँ । उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘छोरी हाम्रो यात्रा भर्खरै सुरु हुँदै छ, फर्कंदा हामीलाई पनि यस्तै कठिन हुन्छ, त्यसैले हामी पनि लौरीको सहायताले उकालो लाग्नुपर्छ ।’

यस्तै मिठामिठा कुराकानी गर्दै हामी घट्टेखोला पुग्यौँ । त्यहाँबाट हाम्रो उकालो यात्रा सुरु भयो । ठूला ठूला पहाड, जंगलको बाटो त्यहाँमाथि उकाले बाटो हिँड्न गाह्रो हुन थाल्यो । खन्तको उकालो चढ्दै गर्दा रिँगटा लागे झैं भयो र पाइला पछि पर्दै गए र एकछिनपछि हिँडन गाह्रो भयो र थचक्क बसेँ । बहिनी र सानुबुबा थोरै अगाडि हुनुहुँथ्यो म बसेको देखेर सानोबुबा के भयो छोरी भन्दै मेरो नजिक आउनुभयो । बहिनी पनि आई । झोलामा बोकेको तातोपानी निकालेर दिनुभयो । मलाई आँखा हेर्न पनि गाह्रो भइरहेको थियो । सानोबुबाले दिनुभएको तातोपानी खाएँ । पानी खाएपछि केही हलुका भयो । मनमनै सोचेँ, कतै म पुग्न नसक्ने पो हो कि ! पहिलादेखि आँटेको कुरा बल्ल पूरा हुँदैछ त्यसमाथि मैले हार मान्नु हुँदैन । अवश्य पूरा गर्नुपर्छ भन्दै आफूमा आत्मविश्वास जगाउँदै यात्रालाई अगाडि बढाएँ ।

यात्राको नयाँ अनुभव गर्दै, यात्रामा भएका रमाइला पलहरूलाई मोबाइलमा कैद गर्दै हामी देउराली पुग्यौँ । एकछिन हामी यहाँ थकाई मार्नका लागि आराम गर्यौँ । यहाँ घोडा र खच्चडहरू चरिरहेका थिए । सानोबुबाले यिनै घोडा र खच्चडहरू देखाएर गोसाइँकुण्ड हिँडेर जान नसक्नेहरूका लागि यहाँबाट यिनै घोडा र खच्चड चढेर जान्छन् भन्नुभयो । चाहना हुने तर हिँड्न नसक्नेहरूलाई गरिएको व्यवस्था राम्रो नै लाग्यो । म मा पनि आँट बढ्दै गएकाले पैदलयात्रालाई अगाडि बढायौँ ।

केही घण्टाको उकालोपछि हामी चन्दनबारी भन्ने ठाउँमा पुग्यौँ । देख्दै आनन्द लाग्ने यो ठाउँ, चन्दनजस्तै सुवासित तथा सुन्दर थियो । यो ठाउँ चिज कारखानाको लागि प्रसिद्ध रहेछ । यहाँ धेरै चिज कारखाना रहेछन् । नेपालको पहिलो याक चिज कारखाना पनि यसै ठाउँमा रहेछ । पहाडको काखमा रहेको यो सुन्दर तथा रमणीय ठाउँमा चियाको चुस्की खाँदै गर्दा हामीले सबै थकान भुल्यौँ । एकातिर चिजको वास्ना, अर्कातिर चौरी, घोडा तथा खच्चड चरिरहेको दृश्य अहिले पनि मेरो मानसपटलमा ताजै छ । जुन कुरा सम्झँदा पनि मन रोमाञ्चित हुन्छ ।

उकालो चढ्न गाह्रो भए पनि मौसमले भने राम्रैसँग साथ दिइरहेको थियो । प्राकृतिक सौन्दर्यपान गर्दै हामीले यात्रालाई निरन्तरता दिइरहेका थियौँ । केही समयको हिँडाइपछि हामी चेलाङपाटी भन्ने ठाउँमा पुग्यौँ । थकान पनि महसुस हुँदै गएको र साँझ पनि पर्दै गएकाले हामीले यहीँ बास बस्ने निधो गर्यौँ । त्यहीँको एक होटेलमा हामी बास बस्यौँ । खाना खाएर ओछ्यानमा पुग्दा थकानले होला निद्रा पनि लागिहाल्यो ।

यात्राको तेस्रो दिन

बिहान ६ बजे नै हामी चेलाङपाटीबाट अगाडि लाग्यौँ । केहीबेरको हिँडाइपछि लौरीबिनाको उकालो सुरु भयो । मैले यो उकालोको नाम किन लौरीबिनाको भनेर भनेको होला भनी सानोबुबालाई सोधेँ । उहाँले पनि हाँसेर लौरी नटेकी यो उकालो चढ्न गाह्रो हुने भएकाले यसको नाम लौरीविनाको उकालो भनेको होला । त्यसमाथि पनि गोसाइँकुण्ड यात्राको क्रममा यस उकालोलाई कठिन उकालो रूपमा पनि लिने गरेकोे कुरा सुनाउनुभयो । हामीले पनि अन्य यात्रीले छोडेर गएका लोरी लिएर त्यही लोरो टेक्दै, रमाइलो मान्दै उकालो उक्लिन सुरु गर्यौँ । यात्राको क्रममा त्यस ठाउँमा हामीले ठूला रुखहरू भने देखेनौँ तर ससाना बुट्यान तथा ससाना फूल फूलिरहेका झार भने देख्यौँ । हिँडने क्रममा भने फर्किएर आएका यात्रुलाई अब कति हिँड्नुपर्छ भन्दै मनलाई सान्त्वना पनि दिइरहेका थियौँ ।

केही घण्टाको उकालोपछि हामी गणेशगौडा भन्ने ठाउँमा पुग्यौँ । यहाँबाट उकालोको यात्रा समाप्त हुँदो रहेछ । यहाँ उकालो चढ्दा प्रयोग गरिएका लौरी चढाउने चलन रहेछ । हामीले पनि फेदीबाट टेकेर ल्याएका दुई वटा लौरी मध्ये एक/एक वटा चढायौँ । यहाँबाट हाम्रो तेर्साेबाट सुरु भयो । तेर्साे भए पनि उचाइका कारणले होला हिँड्न गाह्रो नै भइरहेको थियो ।

तल हेर्दा अनकण्टार भिर थियो । केही समयपछि केही कुण्डहरूको दर्शन हुन थाल्यो । सानोबुबाले देखिएका कुण्डको बारेमा हामीलाई बताउँदै जानुभयो । पहिले सरस्वती कुण्ड, भैरव कुण्ड, गणेश कुण्ड देखाउनुभयो । बिहानको लोभलाग्दो मौसमले गर्दा ती कुण्डहरू रमणीय देखिएका थिए । केही समयको तेर्साे हिँडाइपछि हाम्रो प्रमुख गन्तव्य रहेको गोसाइँकुण्डको नजिकमा पुग्यौँ ।

यस ठाउँको सुन्दरताको बारेमा सुनेको र पढेको मात्र थिएँ आज आफ्नै आँखा अगाडि देख्दा साच्चिकै मनले चिताएको स्वर्ग पुगेजस्तै भान भएको थियो । गोलाकार आकारको रहेको उक्त कुण्डलाई एकछिन धित नमरुन्जेलसम्म हेरिरहेँ । किनारामा यात्रुलाई सुविस्थाका लागि खोलिएका होटेलहरू पनि प्रसस्त रहेछन् । सानो बेलामा बास नपाएर ओढारमा बसेको भनेर सुनेको थिएँ । अहिले यहाँ पक्की घर तथा होटेल देख्दा उक्त कुरा पत्याउनै गाह्रो भइरहेको थियो । पर्यटकलाई चिनारीका लागि बोर्ड पनि राखिएका रहेछ । समुद्रसतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको यस कुण्डको क्षेत्रफल १३ दशमलव ८ हेक्टर रहेको कुरा त्यहाँ रहको बोर्डमा लेखिएको थियो । यहाँबाट नै त्रिशूली नदीको सुरुआत हुने रहेछ ।

हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल यस कुण्ड समुद्रमन्थन गर्दा निस्केको कालकूट विषपान गरेपछि शिवलाई डाहा भएर यहाँ आई आफ्नो त्रिशूलले खोपी पानी निकालेर बनेको कुण्डमा नुहाएपछि उक्त डाहा शान्त भएको किम्बदन्ती सानोबुबाले सुनाउनुभयो । हामी पनि यस कुण्डमा गएर स्नान गर्यौँ । चिसो पानी भए पनि नुहाउँदा आनन्द आयो । सबै थकान हरायो । नुहाइसकेपछि त्रिशूल धारामा गएर पूजा गर्यौँ । यस पवित्र कुण्डमा स्नान र पूजा गर्न पाउँदो स्वयं भगवान्लाई नै भेटेको अनुभव भयो ।

वरिपरिको दृश्यावलोकनसँगै त्यहाँको प्राकृतिक सौन्दर्यताको तस्बिर आफ्नो मोबाइलमा कैद गर्दा दिउँसको १२ बजिसकेको थियो । त्यहाँका सम्झना केही मोबाइलमा र धेरै मानसपटलमा राख्दै हामी फर्कियौँ । हिजोअस्तिको जस्तो ओरालो हिँड्दा खासै गाह्रो भएन । बेलुका १० बजेतिर हामी सदुरमुकाम धुन्चे आइपुग्यौँ र त्यहीँ बास बस्यौँ । भोलिपल्ट सानोबुबालाई धन्यवाद दिँदै गासाइँकुण्डको रमाइलो यात्रा सम्झँदै राजधानीतर्फ लाग्यौँ ।

प्रतिक्रिया