व्याजदर घट्ने निर्णयले नेप्सेमा उछाल

काठमाडौं । वाणिज्य बैंकहरुले आगामी चैत देखी ब्याजदर घटाउने निर्णय गरेपछि नेप्से परिसुचक भारी अंकले बढेको छ । बिहीबार बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो ।


आगामी चैत १ देखि निक्षेपमा शुन्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले बताए । उनले आफूहरु ऋणको ब्याजदर क्रमशः घटाउनमा केन्द्रित भएकोमा पनि जोड दिए । हाल बैंकहरुले आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब १ प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।

यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम ६ दशमलव ४२ प्रतिशतदेखि अधिकतम आठ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो । मुद्दति निक्षेपको ब्याजदर भने स्थीर राखिएको छ । हाल बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् । यस्तैगरी, संस्थागततर्फ नौ प्रतिशत र रेमिट्यान्स मुद्दति खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ ।

उद्योगी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घ संस्थाले तत्काल बैंक तथा वित्तीय संस्थाको ब्याज घटाउनुपर्ने माग गर्दै आएका छन् । चौतर्फी दबाब बढेपछि बैंकर्स सङ्घले सामान्य अङ्कले मात्रै ब्याजदर घटाउने निर्णय गरेका हुन् ।

नेप्सेमा उछाल

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अंकमा पुगेको हो । ब्याजदर घटेपछि सेयर धितोकर्जा सस्तोमा पाउने आकलन सँगै लगानीकर्ता उत्साहित भएको कारण नेप्से बढको हो । तर यो बृद्धि लामो समय सम्म कायम रहनेमा भने अहिले नै भन्न सक्ने अवस्था न्यून रहेको छ ।

त्यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव २७ अङ्कले बढेर तीन सय ७९ दशमलव ५० मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै आज वृद्धि भएको छ ।
विभिन्न कम्पनीका ४५ लाख ६६ हजार ४३ कित्ता शेयर एक र्ब ५६ करोड ५५ लाख ५८ हजार आठ सय दुई मूल्यमा खरिद बिक्री भएका छन् । बिहीबारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब एक अर्ब ३१ करोड ७२ लाख ३८ हजार दुई सय २२ पुगेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको ७ करोड ८५ लाख ८८ हजार तीन सय १७ बराबरको कारोबार गरेको छ । हिमालयन डिस्टिलरीले ५ करोड ७३ लाख १७ हजार दुई सय ७१, अरुण काबेली पावर चार करोड ७६ लाख ४६ हजार छ सय ८८, नवील बैंक तीन करोड ५७ लाख ८५ हजार दुई सय सात र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले तीन करोड ४० लाख ६६ हजार चार सय ९९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार शुभम पावर नौ दशमलव ९८, नेपाल इन्स्योरेन्स कम्पनी नौ दशमलव ४४, शिव श्री हाइड्रोपावर ८ दशमलव ५२, अभियान लघुवित्त सात दशमलव ५९ र जोशी हाइड्रोपावरको शेयर मूल्य सात दशमलव ४३ प्रतिशतले बढेको छ ।

त्यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ पाँच दशमलव ८१, प्राइम बैंकको ऋणपत्र एक दशमलव ९९, सिटिजन म्युचुअल फण्ड पहिलो एक दशमलव ८७, सिटिजन म्युचुअल फण्ड दोस्रो एक दशमलव ७९ र लक्ष्मी उन्नती कोषको मूल्य एक दशमलव ७५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया