जेसिबी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, जेसिबी चालक पक्राउ

प्युठान । प्युठानमा जेसिबी र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । प्युठानको माण्डवी गाउँपालिका– ५ आपचौर सडकमा काम गरिरहेको जेसिबी र मोटरसाइकल शािनबार एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चलाइरहेका ऐरावती– २ टिकुरी बस्ने अन्दाजी ४०–४५ वर्षका रामबहादुर थापा (गोपाल) को मृत्यु भएको प्युठान प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार ऐरावती– २ की वसन्ता भुसाल आचार्य घाइते भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार भुसालको विजुवारस्थित जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ ।

आपचौरमा सडक निर्माणको काम गरिरहेको ना १ क ३४१६ नम्बरको जेसिबी र बरौलाबाट भालुवाङतर्फ आउँदै गरेको लु २१ प ६२१९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

एमाले प्युठानका जिल्ला कमिटी सदस्य रहेका थापा र भुसाल मिसन ग्रास रुट कार्यक्रमका लागि सरुमारानी–२ रानिबगरमा आयोजना भएको वडास्तरीय कार्यक्रममा सहभागी हुन जाँदै जादै गर्दा बाटोमा दुर्घटना परेको बुझिएको छ ।

थापाको दुर्घटनामा मृत्यु भएपछि मिसन ग्रासरुट कार्यक्रम स्थगित गरिएको एमाले सरुमारानी पालिका कमिटिका सचिवालय सदस्य जागेश्वर पोखरेलले जानकारी दिए ।

उपचारको लागि बिजुवार अस्पताल ल्याइएका थापालाई बिजुवार अस्पताल प्युठानले मृत घोषित गरेको थियो । मृतक थापाको शव पोष्टमाटमको लागि शव गृहमा राखिएको छ । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया