वीरगञ्ज । नापी कार्यालय वीरगञ्ज पर्साले वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाहरूमा रहेको जग्गाहरू फिल्डबुकबाट हाल साविक गरी गराई लालपूर्जा (जग्गाधनी पूर्जा) बनाए पनि त्यो पुर्जा कार्यान्वयनमा नआएपछि सर्वसाधारणहरू पीडित बनेका छन् । बिगत केही महिनादेखि नयाँ नापी कार्यालय पर्साले स्थानीय तह वडाको सिफारिससहित निवेदन दिन माग गरेको थियो । सोहीअनुसार जग्गाधनीहरूले वडा कार्यालयहरूबाट नगदी रसिद कटाई आवश्यक पर्ने सम्पूर्ण कागजातहरू मिलाई नयाँ नापी कार्यालयमा हाल साविक गर्न निवेदन दिएका थिए । निवेदन उपर छानबिन गरी दुरुस्त रहेका कागजातहरूको आधारमा नापी कार्यालयले जग्गा धनी पुर्जा बनाइदिएको छ ।
तर, सो पुर्जालाई मालपोत कार्यालयले चलनचलतीमा लागू नगरेकै कारण आफूहरू पीडित बन्न पुगेको वीरगञ्ज महानगरपालिका–१६ नगवाका राजेश्वरप्रसाद पटेलले गुनासो गरेका छन् । नयाँ पुर्जाहरू लागू गर्न आफूले बारम्बार मालपोत कार्यालय पर्सा र वीरगञ्ज महानगरपालिकामा धाउँदा पनि नयाँ बनेको पुर्जा लागू गर्न कुनै पनि निकायले चासो नदिएको पटेलको गुनासो छ ।
सो सम्बन्धित कार्यालयहरूमा जाँदा यो काम मन्त्रालय वा विभागले लागू गर्ने हो, हामीले केही गर्न नसक्ने बताए पनि उनीहरूले मन्त्रालयमा यसको लागि पहल गर्ने आश्वास दिँदै आएको बताए । नयाँ पूर्जा लागू भएको खण्डमा महानगरपालिका र मालपोत कार्यालयलाई ठूलै राजस्व उठने भएकोले आफूले बारम्बार सो कार्यालयहरूमा धाउँदा पनि हालसम्म लागू नभएको पीडित पटेलले यस दैनिकसँग गुनासो गरे ।
नयाँ बनेका जग्गाधनी पुर्जाहरू लागू भए पश्चात मात्र सो जग्गाहरू बैंक तथा वित्तीय संस्थाहरूमा राखी ऋण लिन सकिने तथा किनबेच गर्न सकिने भएकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जान आग्रह गरेका छन् ।
प्रतिक्रिया