पर्सा । साधना लघुवित्त वित्तिय संस्था लि. लंगडी शाखाले आयोजना गरेको महिलाहरुको लागि अगरबत्ती बनाउने दुईदिने तालिम आजदेखि पर्साको धोबिनी गाउँपालिका– ४ लंगडीमा सुरु भएको छ ।
महिलाहरुलाई आत्मनिर्भर बनाउन सिपमुलक अगरबत्ती बनाउने दुईदिने तालिमको उद्घाटन प्रमुख अतिथि वडा नम्बर ३ का वडाध्यक्ष राजकिशोर पटेलले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पटेलले महिलाहरुलाई सिपमुलक काम सिकेर आत्मनिर्भर बन्न आग्रह गरे ।
उनले महिलाहरुको हातमा सिप नभएको कारण केही रुपैयाँको लागि श्रीमान् र छोराहरुसँग आश्रित हुन परिरहेका र अब प्राविधिक युग भइसमेकोले अब आफै सिप सिकेर आत्मनिर्भर बन्नमा जोड दिए । सिप र व्यापार हातमा नरहेको कारण समयमा वित्तिय संस्थाहरुबाट लिएको ऋृण तिर्न नसकेकाले घर परिवारमा समस्या देखिएको पटेलको भनाई थियो ।
महिलाहरुले सिप सिकेर व्यापार गरी आयआर्जन गर्नुपर्नेमा उनले जोड दिए । प्रमुख अतिथि पटेलले महिलाहरुको लागि सिपमुलक कार्यक्रम साधना लघुवित्त वित्तिय संस्था लि, ले लयाएर आफ्ना महिला समूह सदस्यहरुलाई तालिम दिएर रोजगारीमुलक बनाइरहेको भन्दै धन्यवाद दिए ।
उनले अगरबत्ती बनाउने तालिम लिएर व्यवहारमा उतार्न तालिममा सहभागी महिलाहरुलाई आग्रहसमेत गरे । उक्त कार्यक्रममा वडा नम्बर ४ लंगडीका वडाध्यक्ष अबास मियाँले आउने दिनमा महिलाहरुलाई सिपमुलक तालिम दिएर रोजगारी बनाउने प्रतिबद्धता जनाए ।
अब महिलाहरुको उत्थानका लागि गाउँपालिकाबाट बजेट राखेर वडास्तरीय सिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने उनले बताए । कार्यक्रममा समाजसेवी बुनिलाल कुर्मी, शिवनाथ कुर्मी, साधना लघुवित्त वित्तिय संस्था लि. लंगडी शाखा प्रमुख प्रेम यादव, कर्मचारी जगदीश यादव, कृष्ण कर्ण, अगरबत्ती बनाउन तालिम दिने प्रशिक्षक राजु पासवानलगायतको सहभागिता रहेको थियो ।
तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो । उक्त अगरबती बनाउने तालिम बुधबार सम्पन्न हुने आयोजकले जनाएका छन् ।
पर्सा
प्रतिक्रिया