शिक्षकको परिक्षामा रुकुम पूर्वबाट ६९ प्रतिशतले नाम निकाले, ३१ प्रतिशत कोटा खाली

रुकुमकोट । रुकुम पूर्व शिक्षक सेवा आयोगले रुकुम पूर्वका लागि लिएको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा तथा अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्राथमिक तह तृतीय श्रेणी पदको नतिजा सार्वजनिक गरेको हो ।

मंगलबार राति करिब ११ बजे आयोगले नतिजा सार्वजनिक गरेको थियो । आयोगले सार्वजनिक गरेको उक्त नतिजा अनुसार रुकुम पूर्वबाट ४५ जनाले नाम निकालेका छन् । खुल्लाबाट ३६, महिलाबाट ६ र आदिवासी जनजातिबाट ३ गरी ४५ जनाले स्थायीमा नाम निकालेका हुन् ।

४५ मध्य रुकुम पूर्वका स्थानीय २२ जना स्थायी भएका छन । आयोगले लिइएका लिखित र मौखिक दुवै चरणका परिक्षा पार गरि उनिहरु स्थायी भएका हुन् । जिल्लाका तीन स्थानीय तह मध्य सबैभन्दा बढी सिस्ने गाउँपालिकाका स्थायी भएका छन् ।

खुल्ला ७, महिला २ र आदिवासी जनजाति २ गरि ११ जना सिस्ने गाउँपालिकाभित्र स्थायी बसोवास भएका नागरिक स्थायी भएका आयोगको नतिजाले देखाएको छ । यस्तै खुल्ला ५ र महिला १ गरि पुथाउत्तरगंगा भित्र स्थायी बसोबास भएका ६ जनाले स्थायीमा नाम निकाल्दा भूमे गाउँपालिका भित्र स्थायी बसोबास भएका खुल्ला ४ र महिला १ गरि ५ जना स्थायी भएका छन् ।

बाँकी विभिन्न जिल्लाका २३ नागरिक रुकुम पूर्वबाट सरकारी जागिरमा प्रवेश गर्न लागेका हुन् । कार्यालयबाट माग भए बमोजिमको कोटामा आयोगले विज्ञापन खुलाएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतमले जानकारी दिए ।

खुल्ला ३६, महिला १०, आदिवासी जनजाती ८, मधेसी ६, दलित ३, अपांग १ र पिछडिएको क्षेत्र १ गरि ६५ जनाको कोटा माग गरि आयोगमा पठाइएको उनले सुनाए । माग अनुसार आयोगले विज्ञापन खुलाए पनि ६९।२३ प्रतिशत प्ररिक्षार्थी मात्र छनोट भएका गौतमको भनाइ छ ।

उनका अनुसार बाकी झण्डै ३१ प्रतिशत कोटा अझै खाली छ । शिक्षक अभावका कारण विभिन्न विद्यालयले झेलिरहेका समस्या अब समाधान हुने प्रमुख गौतमको विश्वास छ । आयोगको पत्र प्राप्त हुना साथ छनोट भएका उम्मेदवारलाई सम्बन्धित विद्यालयमा सिफारिस गर्ने गौतमले जानकारी दिए ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया