हेटौँडामा सालक संरक्षणबारे अन्तरक्रिया

हेटौँडा । सालक किसानको साथी भएकाले संरक्षण गर्नुपर्नेमा सहभागिहरुले जोड दिँदै सम्बन्धित निकायले पनि सालक संरक्षणमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

आज सालक संरक्षणमा काम गर्दै आएको हिमालयन नेचरले हेटौँडामा सालक संरक्षणसम्बन्धि अन्तरक्रिया कार्यक्रममा त्यसबारे जोड दिएका हुन् ।

मकवानपुरलाई ‘सालकको गौरवको जिल्ला’ घोषण गर्ने तयारी थालिरहँदा विभिन्न निकायसंग छलफल तथा अन्तरक्रिया संचालन भईरहेको छ ।

आजका अधिकांश सहभागिहरुले सालक संरक्षणमा उत्कृष्ट काम गर्ने समूहलाई पुरस्कृत गर्नुपर्ने, सुरक्षा निकाय, स्थानीय तह, वन कार्यालयले सहयोग गर्नुपर्ने धारणासमेत राखेका थिए ।

कार्यक्रममा हिमालयन नेचरका परियोजना अधिकृत प्रदीप सेढाईं र डिभिजन वन कार्यालय राप्ती मनहरीका सहायक वन अधिकृत गगन शर्माले मकवानपुरमा सालकको अवस्था, बासस्थान, यसको आहार, सालकको संरक्षणमा भएका प्रयास र उपलब्धि, सामुदायिक बनले गरेका क्रियाकलाप, कानूनी व्यवस्था, भविष्यमा गर्नुपर्ने कामलगायत विषयमा सहजीकरण गरेका थिए ।

सालक संरक्षणमा हिमालयन नेचर र जेड्एसएलले गरेका कामको प्रशंसा गर्दै सहभागीले सबै क्षेत्रबाट सहयोग भए सालक संरक्षण हुनुका साथै यसको संख्यामा वृद्धि गर्न सकिने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा रानी सामुदायिक वन अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चेतना मध्यवर्ती सामुदायिक वन अध्यक्ष वंशीगोपाल कँडेल, लोकहित मध्यवर्ती सामुदायिक वन अध्यक्ष चन्द्रबहादुर मुक्तान, चुच्चेखोला सामुदायिक वन उपाध्यक्ष उमेश अधिकारीलगायतले सालक संरक्षणमा सामुदायिक वनले गरिरहेका कार्यबारे जानकारी गराएका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालक पक्रने, शिकार गर्ने, खपटाको व्यापार गर्ने र ओसारपसार गर्नेलाई एकदेखि ५ लाखसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया