मनहरीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, हात्ती आतंक रोक्न कांग्रेसको पहल

हेटौँडा । मकवानवुरको मनहरी गाउँपालिका क्षेत्रमा जंगली हात्तीको आतंक रोक्न नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पर्सा राष्ट्रिय निकुञ्जमार्फत पहल गरेका छन् ।

नेता बानियाँले निकुञ्जमार्फत प्राविधिक टोली परिचालन गरी जंगली हात्तीको आतंक रोक्न पहल गरेका हुन् । मनहरी गाउँपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु हुनु दुःखद् भएको भन्दै उक्त क्षेत्रमा जनधनको क्षति हुनबाट रोक्न अविलम्ब सुरक्षाकर्मीसहित प्राविधिक टोली परिचालन गर्न निकुञ्जका वार्डेन अशोककुमार राममार्फत उनले पहल गरेका छन् ।

उनले भने, ‘हात्ती सोही क्षेत्रमा रहेकाले असुरक्षा बढेको हो,हात्तीलाई अन्यत्र लैजान र आगामी दिनमा जंगली हात्ती नआउने व्यवस्थाका लागि आवश्यक कार्य अघि बढाउन अनुरोध गर्दछु ।’ बानियाँले मृतकका परिवारलाई उचित राहत र त्यस क्षेत्रमा भौतिक संरचना र बालीमा भएको क्षतिको तथ्यांक संकलन गरी क्षतिपूर्ति उपलव्ध गराउन आग्रह गरेका छन् ।

बानियाँले मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलाई हात्ती प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति, राहत र क्षतिपूर्तिका लागि स्थानीय प्रशासन र निकुञ्जसँग समन्वय गर्न सुझाएका छन् । उक्त क्षेत्रका प्रदेशसभा सदस्यसमेत रहेका बानियासँगको कुराकानीमा निकुञ्जका वार्डेन रामले निकुञ्जका प्राविधिक र सुरक्षाकर्मीको टोली परिचालन गर्ने र थप क्षति हुनबाट रोक्न आफूले काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनले हात्तीलाई त्यस क्षेत्रबाट अन्यत्र धपाउने, स्थानीय जनप्रतिनिधि र नागरिक समाजस“गको समन्वयमा राहत, क्षतिपूर्ति र सुरक्षाको काम गरिने बताए । सोमबार बिहान जंगली हात्तीको आक्रमणबाट घाइते भएकी मनहरी–४, मसिनेकी ६४ वर्षीया राधा अधिकारीको उपचारका क्रममा मृत्यु भएको थियो ।

पर्सा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले सोमबार बिहान करेसाबारीमा काम गरिरहेकी अधिकारीलाई आक्रमण गरी घाइते बनाएको थियो । उनलाई तत्काल उद्धार गरी हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार लागि ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि दिउँसो चितवन रिफर गरिएको थियो । उनको उपचारका क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया