पूर्वराजा शाहको असन्तुष्टि

पूर्वराजा ज्ञाानेन्द्र शाह विभिन्न सामाजिक, सांस्कृतिक तथा राजनीतिक चाडपर्वहरूमा शुभकामना सन्देशमार्फत प्रकट भइरहेका छन् । सामाजिक तथा सांस्कृतिक चाडपर्वमा समेत राजनीतिक दाउपेच प्रकट गर्दै आइरहेका पूर्वराजा शाहले फागुन ७ को अवसरलाई उपयोग नगर्ने कुरै भएन । यसपटकको प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको शुभकामना सन्देशले राजनीतिक रूपमा तरंग उत्पन्न गरेको छ । पूर्वराजा शाहले आफ्नो सन्देशमा मुलुकमा उत्पन्न बेथितिका बारे मात्रै चर्चा गरेका छैनन्, यसको दोष शासन सत्ता संहाल्ने दलहरू माथि थोपरेका छन् । सामाजिक संजालमा अधिकांशले पूर्वराजा शाहको यो टिप्पणीको समर्थन गरेका छन् । पूर्वराजा शाहको यो भनाइ गलत होइन । यसैगरी पूर्वराजा शाहले शासन सत्तामा आफ्नो भूमिकाको पनि खोजी गरेका छन् । तर त्यो खोजी राजनीतिकदलहरूमार्फत गरेका हुन् या जनतामार्फत गरेका हुन् ? भन्ने कुरा स्पष्ट छैन । अर्थात पूर्वराजा शाहले शुभकामना वक्तव्यमार्फत राजगद्दी फिर्ता त मागे, तर को सँग ? उनलाई राजगद्दी फिर्ता गरिदिने कसले ? भन्ने प्रश्न ज्यादै गम्भीर छ । पछिल्ला दिनमा राजसंस्था पुनवर्हाली हुनुपर्ने माग गर्नेहरूको संख्या बढेको छ । तर पुनर्वहालीको बाटो तथा विधि के हो ? भन्ने विषयमा भने अन्योल कायमै छ ।

बाटो र विधि प्रस्तुत नगरी राजसंस्था पूनवर्हालीको प्रयास गर्नु भनेको थप द्वन्द्व निम्त्याउनु र मुलुकलाई अझ अधोगतितर्फ धकेल्नु हो । एक जना राजाको ठाउँमा उनी जस्तै सयौँ ‘राजा’ थपिएकोमा जनतालाई चित्त बुझेको छैन । निर्वाचित राष्ट्रप्रमुखले राजाको जस्तै तामझम गरेको पनि जनतालाई चित्त बुझेको छैन । पूर्वराजा शाह पनि जनता नै हुन्, आमजनताले जस्तै आफूलाई चित्त नबुझेको कुरा सार्वजनिक रूपमा प्रकट गर्ने अधिकार पूर्वराजा शाहलाई छ । उनले यो अधिकार प्रयोग गर्दा लोकतन्त्र कमजोर हु“दैन, बरु थप बलियो हुन्छ । बेला मौकामा पूर्वराजा शाहबाट आउने यस्ता अभिव्यक्ति शासक राजनीतिकदलका लागि सवक हुन् ।

बहुदलीय संसदीय व्यवस्थामा समेत सत्ता पक्ष कुन हो, प्रतिपक्ष कुन हो ? छुट्याउन हम्मे हम्मे परेको अहिलेको अवस्थामा सशक्त प्रतिपक्षको आवश्यकता छ । त्यो आवश्यकता पूरा गर्न पूर्वराजा शाहले खोजेका हुन् भने स्वागतयोग्य हो । तर विनाचुनाव सत्ता मागेका हुन् भने लोकतन्त्रका लागि खतरा हो । लोकतन्त्र सबै नागरिकका लागि हो । यति मात्रै होइन, लोकतन्त्र भनेको भविष्यका नागरिकका लागि पनि हो । लोकतन्त्रमा कुनै पनि व्यक्तिको स्थायी सत्ता हुँदैन । स्थायी सत्ता माग्नु लोकतन्त्र होइन । लोकतन्त्रमा चुनावमार्फत सत्ता मागिन्छ । लोकतन्त्रमा पाँच वर्षका लागि मात्रै जनताले सत्ता दिन्छन् । आफ्ना सन्तान तथा दरसन्तानका लागि फलानो व्यक्ति र उनको वीर्यले शासन गर्छ भनेर फैसला गर्ने अधिकार लोकतन्त्रमा साविकको पुस्तासँग रहँदैन ।

शुभकामना सन्देशमार्फत दलहरूसँग सत्ता सहकार्यको प्रस्ताव अघि सार्दै गर्दा कतिपय मामिलामा पूर्वराजा शाह चुकेका छन् । उदाहरणका लागि ०७ सालको जनक्रान्तिको श्रेय आफ्ना बाजे त्रिभुवन शाहबाहेक अरूलाई दिन उनले अझै पनि चाहेका छैनन् । ०७ सालपछि राजा र राजनीतिकदलबीचको द्वन्द्वको सुरुआत यही विन्दुबाट भएको हो । त्यो विन्दुलाई यथावत राखेर दलहरूसँग सहकार्यको प्रस्ताव अघि सार्नु भनेको केवल राजनीतिक दाउपेच मात्रै हो । ०७ सालको जनक्रान्तिमा तत्कालीन राजा त्रिभुवनको भूमिका जे जति थियो त्यो भन्दा कैयौँ गुण ठूलो भूमिका जनता र राजनीतिकदलको थियो ।

जसरी नेपाल एकीकरणका योद्धाहरूलाई अनेक बहानामा मारेका कारण राजाहरू १ सय ४ वर्षसम्म खोपीमा थुनिनु परेको थियो, त्यसरी नै ०७ सालको जनक्रान्तिका योद्धाहरूलाई जेलमा थुनेर आफैँले शासन गरेका कारण राजतन्त्रको पतन भएको हो । तर ०७ सालको जनक्रान्तिको श्रेय आफ्ना बाजेबाहेक अरूलाई दिन पूर्वराजा शाह अझै पनि चाहँदैनन् । गल्ती महसुस नगरेसम्म सहकार्यको ढोका खुल्न सम्भव छैन ।

प्रतिक्रिया