धनगढी । देश संघीयतामा गएपछिको पहिलो प्रदेश सरकारहरूले आफ्नो पहिलो कार्यकाल पूरा गरी दोस्रो कार्यकाल सुरु भएको छ । मुलुक संघीयतामा प्रवेश गरेसँगै सुदूरपश्चिम प्रदेशमा ०७४ फागुन ५ गते प्रदेश सरकार गठन भएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाँच वर्षसम्म फेरबदल पनि भएन् । विकासको गतिलाई तीव्रता दिन पहिलो कार्यकालको प्रदेश सरकारले नौ वटा प्रादेशिक रणनीतिक महत्वका सडक योजनालाई प्रदेश गौरवको आयोजनाका रूपमा छनोट गरी निर्माण कार्य अगाडि बढिरहेको छ ।
प्रदेश सरकारले नौ जिल्लाका नौ वटा सडक आयोजनालाई प्रदेश गौरवका आयोजनाका रूपमा छनोट गरेको थियो । भजनी–छोटी भन्सार–खिमडी–ठूलीगाड सडक, सहजपुर–बोगटान–दिपायल सडक, दैजी–लिप्ना–जोगबुडा–सलोन–चिर्किट्टे–पोखरा–ढुंगाड बझाङ सडक र पातीहाल्ना–तलकोट–साइपाल–हुम्ला सडकलाई प्रदेश गौरवका योजनामा समावेश छन् ।
त्यस्तै चिसापानी–जंगलघाट–ऋषिदह–बडिमालिका सडक, खप्तड मार्तडी सडक, बेलौरी–कलवापुर–दोमिल्ला–नायल–बुँडर सडक, खलंगा–खार–देथला–परिबगड–खण्डेश्वरी सडक र सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक प्रदेश गौरवका आयोजना हुन् ।
यी सबै प्रदेश गौरवका सडक योजना निर्माणधिन अवस्थामा रहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नौ सडक आयोजनाको कुल लम्बाइ करिब १ हजार २६ किलोमिटर रहेको र जसमध्ये ५ सय ४७ किलोमिटरको विस्तृत आयोजना प्रतिवेदन तयार भएको तथा करिब ४ सय ७९ किलोमिटरको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न बाँकी रहेको सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव तुलसीराम भट्टराईले जानकारी दिए ।
उनका अनुसार हालसम्म विभिन्न खण्डमा ७० किलोमिटर कालोपत्रे सडक, ३ सय ५१ किलोमिटर माटे सडक निर्माण कार्य सम्पन्न भएको र २ सय २९ किलोमिटर सडक निर्माण कार्य कार्यान्वयनको प्रक्रियामा रहेको तथा नौ वटा प्रदेश गौरव आयोजनाहरूको अनुमानित लागत ३७ अर्ब १२ करोड रहेको छ ।
भजनी–छोटी भन्सार–खिमडी–ठूलीगाड सडक भजनीस्थित भारतसँगको अन्तर्राष्ट्रिय सीमा छोटी भन्सारबाट सुरु भई बौनिया बजार, मोहन्यालको खिमडी हुँदै ठूलीगाडसम्म जोडिने सडक योजना हो । उक्त सडकको कुल लम्बाइ ६० किलोमिटर रहेकोमा करिब तीन किलोमिटर सडक खण्डमा आव ०७६÷७७ मा पूर्वाधार विकास कार्यालय कैलालीबाट ठेक्का आह्वान भई सडक निर्मामाणाधीन रहेको मन्त्रालयले जनाएको छ । हालसम्म यस आयोजनामा ४ करोड ७३ लाख खर्च भएको जनाइएको छ ।
प्रदेश गौरवको योजनाको रूपमा रहेको सहजपुर–बोगटान–दीपायल सडकले कैलालीको सहजपुरदेखि डोटीको बिपी नगर, अत्तरकाडा, छिडिखान, वायल, रानागाउँ, राजपुर, दिपायलसम्मको सडक खण्डलाई समेटेको छ । करिब २ सय ५ किलोमिटर लम्बाइ रहेको यो सडकमा सहजपुरदेखि अत्तरकाडासम्म ५० किलोमिटर सडक विभागबाट कार्यान्वयन भइरहेको तथा बाँकी १ सय ५५ किलोमिटर सडक पूर्वाधार विकास कार्यालय डडेल्धुराअन्तर्गत दिपायलदेखि रानागाउँसम्म १० किलोमिटर कालोपत्रे सम्पन्न भएको मन्त्रालयले जनाएको छ । थप १० किलोमिटर कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भई निर्माण चरणमा रहेको, साढे सात किलोमिटर कालोपत्रेका लागि ठेक्का भएको, बाँकी १ सय २७ दशमलव ५ किमि सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको तथा यस योजनाको कुल अनुमानित लागत ४ अर्ब १२ करोड रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
कन्चनपुर २३, डडेल्धुरा १ सय १५, बैतडी र बझाङ ३० किलोमिटर गरी १ सय ६८ किलोमिटर लम्बाइ रहेको दैजी–लिप्ना –जोगबूढा–सलोन–चिर्किट्टे–पोखरा–ढुङ्गाड–बझाङ सडकमा सुदूरपश्चिम प्रदेश सरकारबाट आव ०७५÷७६ देखि काम भइरहेको छ । जम्मा लम्बाइ १ सय ६८ किलोमिटरमध्ये मध्ये १५ किलोमिटर कालोपत्रे सम्पन्न भएको, कञ्चनपुरमा १३ दशमलव ५ किलोमिटर, डडेल्धुरामा ३० दशमलव ५ किलोमिटर गरी ४४ किमि स्तरोन्नति भइरहेको, करिब ४५ किलोमिटर ट्रयाक खुला गर्न बाँकीसहित स्तरोन्नति गर्नुपर्ने जनाइएको छ । उक्त आयोजना धनगढी, डडेल्धुरा र डडेल्धुरा–देउरा (बझाङ) को वैकल्पिक सडकको रूपमा समेत लिइएको छ ।
प्रदेश गौरवको आयोजनाको रूपमा रहेको पातीहाल्ना–तलकोट– साइपाल–हुम्ला सडक योजनाले डोटी जिल्लाको सीमाना पातीहाल्नाबाट बझाङ हुँदै हुम्ला जिल्लाको सीमानासम्म सडक जोड्ने लक्ष्य राखेको यस सडकको कुल लम्बाई ९५ किलोमिटर मध्ये १९ दशमलव ५ किलोमिटर सडकमा प्रदेश सरकारको बजेटबाट सडक स्तरोन्नति भइरहेको तथा ९५ किलोमिटर मध्ये ४० किलोमिटर ट्रयाक खुला भई बाँकी ३५ दशमलव ५ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको सचिव भट्टराईले जानकारी दिए । यस आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ११ करोड मध्ये आव ०७८÷७९ सम्म ५ करोड १४ लाख खर्च भएको उनले बताए ।
प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण कार्य अगाडि बढाइएको चिसापानी–जंगलघाट–ऋषिदह बडीमालिका सडकको कुल लम्बाइ २ सय ३ किलोमिटर रहेको छ । कैलाली जिल्लाको चिसापानीदेखि सुर्खेत, अछाम र बाजुरा जिल्लाको धार्मिक पर्यटकीयस्थल वडीमालिका जोड्ने उक्त सडक आयोजनाको कुल अनुमानित लागत ८ अर्ब ४२ करोड रहेको तथा उक्त सडक आयोजनाको १ सय ८ किलोमिटरको विस्तृत आयोजना प्रतिवेदन तयार भई आव ०७६÷७७ मा कैलाली जिल्ला र अछाम जिल्लाको सिमाना जंगलघाटदेखि अछाम जिल्लाको तुर्माखाद गाउँपालिकाकोे बासकाडासम्म कुल ३६ किलोमिटर सडक अपग्रेडिङको ठेक्का सम्झौता भएको र सडकको कुल लम्बाइ मध्ये २५ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
उक्त आयोजनाले कैलाली, सुर्खेत, अछाम र बाजुरा जिल्लाका मुख्य व्यापारिक केन्द्र जोड्नुका साथै परम्परागत रूपमा रहेको कर्णाली र सुदूरपश्चिम प्रदेशको मुख्य व्यापारिक मार्ग तयार हुने जनाइएको छ । प्रदेश गौरवको आयोजनामा रहेको खप्तड मार्तडी सडक (सिगाटा–काडा–जयवागेस्वरी–गैराखाद–दोगडी–आटिचौर–मार्तडी) सडकको कुल लम्बाइ ६५ किलोमिटर रहेकोमा आव ०७६÷७७ मा यस सडक २० किलोमिटर सडक अपग्रेडिङको निर्माण कार्य सम्पन्न भएको जनाइएको छ । यस सडक आयोजनाको कुल लम्बाइ ६५ किलोमिटर मध्ये मार्तडी–आटिचौरसम्म १९ दशमलव ५ किलोमिटर सडक कालो पत्रेको लागि सम्झौता भएको, आटिचौर–दोगडी १५ किलोमिटर ट्रयाक खुला भएको र बाँकी खण्ड दोगडी–सिगडासम्म ३० किमी ट्रयाक खोल्नका लागि सम्झौता भएको तथा उक्त आयोजनाको अनुमानित कुल लागत २ अर्ब ६० करोड मध्ये हालसम्म करिब १२ करोड खर्च भएको मन्त्रालयले जनाएको छ ।
बेलौरी–कलुवापुर–दोमिल्ला नायल–बुडर सडक सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश गौरवको आयोजनाको रूपमा निर्माण कार्य अगाडि बढाइएको छ । यस आयोजनाले कञ्चनपुर जिल्लाको दक्षिणी भेगमा अवस्थित बेलौरी नगरपालिकास्थित भारतसँगको अन्तर्राष्ट्रिय सीमाबाट सुरु भई बेलौरी नगरपालिकाको केन्द्र हुँदै कलुवापुर बजारमा महेन्द्र राजमार्ग हुँदै उत्तर चुरेस्थित कञ्चनपुरको सीमा हुँदै डोटी जिल्लास्थित बुडरलाई छोटो दुरीमा जोड्ने यस सडकको कुल लम्बाई ४६ दशमलव ९३५ किलोमिटर रहेकोमा वन्साहा देखि दोमिल्लासम्मको करिब ९ दशमलव १० किमि सडक खण्ड प्रदेश सरकारको स्रोतबाट पूर्वाधार विकास कार्यालय, कञ्चनपुरबाट निर्माणाधीन अवस्थामा रहेको तथा १२ किमि सडक खण्डका ट्रयाक खोल्ने काम गत आवमा मात्रै संघीय ससर्त अनुदान कार्यक्रमबाट पूर्वाधार विकास कार्यालय, कञ्चनपुरले सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
प्रदेश गौरवको योजनाको रूपमा छनौट भई पूर्वाधार विकास कार्यालय, बैतडीमार्फत कार्यान्वयन हुने गरी सञ्चालनमा रहेको खलंगा–खार–देथला–परिवगड–खण्डेश्वरी सडक आयोजनाले दार्चुला जिल्लाको सदरमुकाम, महाकाली नगरपालिका, नौगाढ गाउँपालिका, शैल्यशिखर नगरपलिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपािलकाको केन्द्र खण्डेश्वरी समेतलाई समेटेको छ ।
यस सडक योजनाबाट दार्चुला जिल्लाका करिब २ हजार २ सय घरधुरीका १ लाख ३४ हजार जनसंख्या लाभान्वित हुने तथा ९३ किमि लम्बाइ रहेको उक्त सडक आयोजनाको कुल अनुमानित लागत ५ अर्ब ५१ करोड रहेको छ ।
उक्त सडक आयोजनाको २८ दशमलव ५ किलोमिटरको विस्तृत आयोजना प्रतिवेदन तयार भई खलंगा दल्लेख खण्ड ८ दशमलव ५ किलोमिटर र देथाला नौगाढ खण्डको नौ किलोमिटर गरी जम्मा १७ दशमलव ५ किलोमिटर आव ०८०÷८१ मा सम्पन्न हुनेगरी दुई वटा खण्डमा निर्माण कार्य भइरहेको तथा आयोजनाको ६४ दशमलव ५ किलोमिटरको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न बाँकी रहेको र करिब १५ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको जनाइएको छ ।
यो आयोजना निर्माणसँगै हाल प्रयोगमा रहेको गोकुले खलंगा सडकभन्दा करिव २४ किलोमिटर लम्बाई कम हुने र आयोजानाबाट त्यस क्षेत्रका जनताको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । साथै सडक योजनाको अन्तिम बिन्दु दार्चुला टिंकर सडकको सुरु बिन्दुसँग जोडिएकोले भविष्यमा चीनको सिमावर्ती बजार ताक्लाकोट सम्मको व्यापार पनि सहज हुने विश्वास लिइएको छ ।
र पूर्वाधार विकास कार्यालय, बैतडीमार्फत कार्यान्वयन हुने गरी सतबाँझ–श्रीभावर–हाट दार्चुला सडक आयोजना प्रदेश गौरवको आयोजनाका रूपमा सञ्चालनमा रहेको छ । बैतडी जिल्लाकै यातायातको मेरुदण्डको रूपमा रहेको उक्त सडक आयोजनाले जिल्लाको सुर्नया गाउँपालिका, पुचौंडी नगरपािलका, डिलाशैनी गाउँपालिका हुँदै दार्चुला जिल्लाको मार्मा गाउँपालिका समेटेको छ ।
करिव ९० किमि लम्बाइ रहेको उक्त सडक आयोजनाको कुल अनुमानित लागत ४ अर्ब ९५ करोड रहेको छ । यस सडक आयोजनाको ४५ किलोमिटरको विस्तृत आयोजना प्रतिवेदन तयार भई आव ०८०÷८१ मा सम्पन्न हुनेगरी सतबाँझ श्रीभावर खण्ड सात किलोमिटर र श्रीभावर–हाट खण्ड आठ किलोमिटर गरी जम्मा १५ किलोमिटरको दुई वटा खण्डमा हाल निर्माण कार्य भइरहेको छ । आव ०७९÷८० मा आयोजनाको थप ५ दशमलव ५ किलोमिटर कालोपत्रे गर्न बोलपत्र आव्हान भइसकेको तथा ४५ किलोमिटरको विस्तृत आयोजना प्रतिवेदन तयार गर्नुका साथै ट्रयाक खोल्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
यस सडक योजनाबाट बैतडी जिल्लाका करिब २ हजार ८ सय ५० घरधुरीका १ लाख ४३ हजार जनसंख्या लाभान्वित हने तथा उक्त सडक आयोजनाले बैतडी जिल्लाको सदरमुकाम खोड्पे दार्चुला सडक, खोड्पे बझाङ सडक र दार्चुला जिल्लाको मार्मा गाउँपालिकालाई जोड्नेछ । उक्त सडक आयोजनाले त्यस क्षेत्रका जनताको आर्थिक तथा सामाजिक विकासको लागि टेवा पुग्ने, धार्मिक तथा पर्यटकीय क्षेत्रमा सुधार हुने र कृषि उत्पादन बजारसम्म डुवानी तथा बिक्री वितरण गरी आयआर्जनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
प्रदेश गौरवका आयोजनाहरूलाई भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राथमिकता राखेर काम गर्ने सचिव भट्टराईले बताए । उनले भने, ‘प्रदेश गौरवका योजना ठूला ठूला छन् बजेट विनियोजन पनि कम छ । साना भए धेरै प्रगति पनि देखिन्थ्यो ठूलो योजनाले बजेट पनि ठूलै डिमान्ड गर्छ यसलाई मन्त्रालयको प्राथमिकतामा राखेर काम गर्छौं ।’
४ सय किलोमिटर ग्रामीण सडक कालोपत्रे
देश संघीयतामा गएपछि बनेको पहिलो सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षको समयावधिमा चार सय किलोमिटरभन्दा बढी ग्रामीण सडक कालोपत्रे गरेको दाबी गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रकाशन गरेको पाँच वर्षे कार्यकालको प्रगति पुस्तकमा सात सय किलोमिटरभन्दा बढी ग्राभेल, एक हजार तीन सय किलोमिटरभन्दा बढी कच्ची सडक निर्माण गरेको उल्लेख गरेको छ ।
त्यस्तै २२ वटा सडक पुल निर्माण सम्पन्न भएको, १ सय ५७ किलोमिटर तटबन्धन निर्माण गरेको सुदूरपश्चिम प्रदेश सरकारको पहिलो पाँच वर्षे कार्यकालको प्रगति पुस्तकमा उल्लेख छ । १ सय ९० किलोमिटर पक्की सिँचाइ कुलोे, २ सय ८५ किलोमिटर कच्ची कुलो निर्माण भएको र यसबाट १२ हजार ९ सय ४५ हेक्टर जमीनमा सिँचाइको व्यवस्था भएको पुस्तकमा दाबी गरिएको छ ।
कैलाली
प्रतिक्रिया