रैतीबाट नागरिक बनेको दिन

आज हामी नेपाली प्रजातन्त्र दिवस मनाउँदैछौं । मलुकका अहिलेसम्मका सबै राजनीतिक उपलब्धि २००७ सालको क्रान्तिको जगमा प्राप्त भएका हुन् । राजनीतिक उपलव्धीको दृष्टिले मात्रै होइन राष्ट्रियताका दृष्टिले पनि नेपाल एकीकरण पछिको सबै भन्दा महत्वपूर्ण दिन भनेको २००७ साल फागुन ७ गते सम्पन्न जनक्रान्ति नै हो ।

मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मका सबै जनतालाई ‘आफू नेपाली हुँ, आफ्नो देश नेपाल हो’ भन्ने यथार्थता अवगत गराएको २००७ सालको जनक्रान्तिले नै हो । २००७ सालसम्म पनि नेपाल भनेर काठमाडौं उपत्यकालाई मात्रै चिनिन्थ्यो । उपत्यका बाहिरबाट ‘नेपाल’ प्रवेश गर्दा भिसा चाहिन्थ्यो । उपत्याका बाहिरका रैतीहरूको पहिचान नेपालीका रूपमा थिएन । उपत्यकाका रैतीहरूलाई मात्रै नेपाली भनिन्थ्यो । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य थिएन । नेपाली भाषालाई गोरखा भाषा भनिन्थ्यो । ताप्लेजुङका शेर्पा देखि कन्चनपुरका थारुसम्म र दार्चुलाका व्याँसीदेखि झापाका राजवंशीसम्मलाई एउटै टेवुलमा राखेर गठन गरिएको पार्टी नेपाली कांग्रेसको अगुवाईमा ०७ सालको क्रान्ति भएको हो । त्यस भन्दा अघि सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व गर्ने एउटै संयन्त्र नेपालमा बनेको थिएन ।

पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गरे पनि जनस्तरमा एकीकरण हुन बाँकी नै थियो । जसरी नेपाली कांग्रेस गठनका लागि झापादेखि दार्चुला र ताप्लेजुङदेखि कन्चनपुरका जनता एक ठाउँमा उभिएका थिए त्यसरी नै सबै क्षेत्र, जाति तथा तह तप्काका जनता एउटै मोर्चामा खडा भएर २००७ सालको जनक्रान्ति सम्पन्न गरे ।

नेपाल एकीकरण पछि हाम्रा पुर्खाहरुले गरेको सबै भन्दा महान काम हो–‘२००७ सालको जनक्रान्ति ।’ यही महान कामको प्रेरणा भावि पुस्तासम्म प्रवाह गर्न हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । भूगोलको एकीकरण गरिसक्दा नसक्दै पृथ्वीनारायण शाहको निधन भयो । सामाजिक एकीकरणको काम अघि बढाउन त्यसपछिका शासक लामो समयसम्म चुके । यही सन्दर्भमा नेपाली कांग्रेसको उदय भयो । जसरी पृथ्वीनारायण शाहको कदम इतिहासको माग थियो, त्यसरी नै नेपाली कांग्रेसको उदय तथा २००७ सालको जनक्रान्ति पनि इतिहासको माग थियो । अर्थात् २००७ सालको जनक्रान्ति नेपाल एकीकरणकै निरन्तरता थियो । एकीकरणको कदम अघि नबढेको भए सायद नेपाल भन्ने देश नरहन पनि सक्थ्यो । यसैगरी २००७ सालमा क्रान्ति नभएको भए नेपालको हालत तिब्बत, कश्मीर तथा सिक्किमको जस्तो हुन्थ्यो, नभए भुटानको जस्तो त पक्कै हुन्थ्यो ।

एकतन्त्रिय जहानियाँ राणा शासन अन्त्य गर्दै प्रजातन्त्र स्थापना गर्ने उद्देस्यले २००७ सालको जनक्रान्तिको प्ररम्भ कात्तिक २१ गते भयो । क्रान्तिलाई समर्थन गर्दै तत्कालिन राजा त्रिभुवन शाहले कात्तिक २३ गते नारायणहिटी परित्याग गरे । तीन महिना पुग्दा नपुग्दै राणाहरुले घुँडा टेके । फागुन १ गते राणा, कांग्रेस र राजाबीच भारतको राजधानी दिल्लीमा संझौता भए सँगै २००७ सालको सशस्त्र जनक्रान्ति टुंगियो । त्यो टोली फागुन ४ गते दिल्लीबाट काठमाडौं फक्र्यो । फागुन ७ गते राजा त्रिभुवनमार्फत प्रजातन्त्रको घोषणा गरियो । प्रजातन्त्रको घोषणा गर्ने क्रममा राजा त्रिभुवनले भनेका थिए –‘अब मुलुकको शासन व्यवस्था जननिर्वाचित प्रतिनिधिहरुले निर्माण गर्ने संविधान बमोजिम चल्नेछ ।’ तर केही महिना वित्दा नबित्दै राजा त्रिभुवनले जनक्रान्तिका उपलव्धी माथि धोका धडी सुरु गरे । राजा भएको देशमा जननिर्वाचित प्रतिनिधिले संविधान बनाउन नमिल्ने कु तर्क राजाहरुले गरे ।

राजनीतिक उपलव्धी खोसिए पनि जनचेतनारुपी उपलव्धी खोस्न संवभ भएन । त्यस पछिका ५५ वर्षको निरन्तर संघर्ष पछि जनआन्दोलन २०६२–२०६३ मार्फत जनताले आफ्ना लागि आँफै शासन व्यवस्था तय गर्ने अधिकार लिइछाडे । धोकाधडीमा संलग्न राजतन्त्रलाई सँधैका लागि विदा गर्दै जनताले गणतन्त्र स्थापना गरे । त्यसैले फागुन ७ लाई कर्मकाण्डका रुपमा मात्रै नभएर वर्तमान उपलव्धीको गाथा सन्तान दरसन्तानसम्म सुनाई रहने पर्वका रुपमा लिनुपर्छ ।

शासन सत्तामा पुगेका जनप्रतिनिधिहरुबाट केही त्रुटी भएका छन् । सुशासन छैन , आर्थिक संवृद्धिको एजेण्डा नारामा मात्रै सिमित भएको छ । शासन सत्तामा व्याक्तिगत स्वार्थ हावी भएको छ । तर यसको दोषि लोकतन्त्र होइन , शासन पद्धति होइन । शासकहरुको गल्तीको दोष शासन पद्धति माथि थुपोरेर फेरी प्रतिमन तिर मुलुकलाई लैजाने षड्यन्त्र भइरहेको छ । यो षड्यन्त्र प्रति सावधान हुनु जरुरी छ ।

प्रतिक्रिया